
सिलगढ़ी, 26 अक्टोबर : तिहारको मुखैमा पूर्व डुवर्सका कालचिनी र राइमटाङ चियाकमान बन्द भएका छन्। जसको कारण यी दुवै चियाकमानका तीनहजारभन्दा बढ़ी श्रमिक परिवार बिचल्लीमा परेका छन्। जानकारीका अनुसार शुक्रवार अबेर राति मालिकपक्षले बिनानोटिस चियाकमान बन्द गरी चम्पट कसेको छ।
यी दुवै चियाकमान अलिपुरद्वार जिल्लाअन्तर्गत पर्छन्। उल्लेखनीय छ, यसै जिल्लाको तोर्सा चियाकमान बोनस विवादको कारण केही दिनअघि बन्द भएको थियो।
जानकारीका अनुसार प्रबन्धनपक्षले आज अर्थात् शनिवार वेतन दिने वाचा गरेका थिए। यद्यपि वेतनको सट्टा उल्टै सुटुक्कै कमान बन्द गरेर प्रबन्धनपक्ष चम्पट कसेको छ।
आज बिहान श्रमिकहरू मेलो पुग्दा कमान बन्द भएको थाह पाएका थिए। कमान बन्द भएको थाह पाएपछि आक्रोशित बनेका श्रमिकहरूले पथावरोध गरी विरोध प्रदर्शन गरेका थिए।
स्मरणरहोस्, कालचिनी चियाकमान घरी घरी बन्द हुनेगरेको छ। 2017 को जुलाई महिनामा पनि कालचिनी चियाकमान बन्द भएको थियो भने बोनस र वेतन विवादको कारण पछिल्लो 29 सेप्टेम्बर पनि यो कमानमा प्रबन्धनपक्षले ताला झुण्डाएको थियो। यद्यपि प्रशासनिक हस्तक्षेपको कारण एकदिनपछि नै कमान खुलिएको थियो।
अर्कोतिर, बक्सा डुवर्स टी कम्पनीको कालचिनी चियाकमानका मालिकपक्षले चियाकमानलाई राम्रोसँग नचलाएको गुनासो चुलिएको छ। साथै श्रमिकहरूले यो चियाकमानका मालिकपक्ष फेर्नुपर्ने माग गर्न शुरु गरेका छन्। जानकारीका अनुसार पाक्षिक रूपमा मालिकपक्षले यहाँ श्रमिकहरूलाई वेतन दिनेगर्छन्। तर, दुई पालिको गरी एक महिनाको वेतन उनीहरूले पाएका छैनन्।


