
मुम्बई, २६ अक्टोबर : असमकी गोर्खा छोरी उमा छेत्रीले एकदिने अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी छन् । भारतमा जारी आईसीसी वर्ल्ड कप अन्तर्गत आज २६ अक्टोबरका दिन बङ्ग्लादेशविरुद्धको खेलमा विकेटकिपर ब्याटर उमाले एकदिने अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी हुन् ।
उनलाई टिम इन्डियाकी उपकप्तान एवम् स्टार ब्याटर स्मृति मन्दनाले वनडे क्याप प्रदान गरिन् ।
नभी मुम्बईको डि वाइ पटिल स्टेडियममा खेलिने यो म्याचमा टस जितेर टिम इन्डियाले पहिला क्षेत्ररक्षण गरिरहेको छ ।
हरमनप्रित कौरको नेतृत्वमा रहेको टिम इन्डिया अघिबाटै सेमिफाइनलका लागि छनोट भइसकेको छ ।

२३ वर्षीय उमा छेत्री वर्ल्डकप खेल्ने पूर्वोत्तरकै पहिलो क्रिकेटर हुन् । उनले आफ्नो क्रिकेट कौशल घरेलु प्रतियोगिता र वुमन्स प्रिमियर लिगमा देखाइसकेकी छन् ।
आज वनडे क्रिकेटमा पदार्पण गरेकी उमाले ७ जुलाई २०२४ मा नै दक्षिण अफ्रिकाविरुद्ध टि-ट्वेन्टी म्याचमा पदार्पण गरेकी हुन् ।
असमको गोलाघाट जिल्लाको बोकाखाट सहरमा २७ जुलाई २००२ मा जन्मेकी प्रतिभाशाली क्रिकेटर उमा छेत्रीले अन्तर्राष्ट्रिय वनडे क्रिकेटमा पदार्पण गरी पूर्वोत्तर क्षेत्रसँगै गोर्खा जातिकै नाम उच्च गरेकी छन् ।


