कालेबुङ, २६ नोभेम्बरः त्रिस्तरीय पञ्चायत चुनाउ तथा धारा २४३ एम (३)-लाई लिएर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) र राजु विष्टबीच देखिएको विवादमाथि जनआन्दोलन पार्टी (जाप) प्रमुख डा. हर्कबहादुर छेत्रीले तीखो शब्दमा कटाक्ष गरेका छन्।
‘गोर्खाल्याण्ड ल्याउँछु भन्नेहरू अहिले पञ्चायत चुनाउका लागि बाझिरहेका छन्। उनीहरूलाई जनताले गोर्खाल्याण्डका लागि जिताएका हुन्, पञ्चायत चुनाउका लागि होइनन्’, जनसंवादसँग विशेष टेलिफोनिक कुराकानीअवधि उनले भने।
डा. हर्कका अनुसार यसो गर्नु भनेको सोझै जनादेशको उल्लङ्घन हो।
अहिले त्रिस्तरीय पञ्चायत चुनाउ र धारा २४३ एम (३)-लाई पहाड़मा जुन राजनीतिक खिचातानी भइरहेको छ, त्यो भाजपाले मूल मुद्दाबाट जनताको ध्यान हटाउनका लागि सोचीसम्झी गरेको राजनीतिबाहेक अर्थोक केही नरहेको जाप अध्यक्षको दाबी छ। गोरामुमो पनि यो रणनीतिमा सामेल हुनसक्ने उनलाई शङ्का छ।
‘भाजपा र सांसद राजु विष्टले आफ्नो वचन पूरा गरुन्’, डा. हर्कले थपे, ‘ससाना मुद्दाहरूमा विष्ट नअल्झिउन्। उनले गोर्खाल्याण्ड ल्याउँछु भनेर चुनाउ जितेका हुन्, पञ्चायत चुनाउ गराउँछु भनेर होइन।’
भाजपा र राजु विष्ट दुवै गोर्खाहरूप्रति इमानदार नरहेको दाबी पनि जाप अध्यक्षको छ। भाजपा र विष्ट इमानदार भए घोषणा-पत्रमा गोर्खाल्याण्ड दिन्छु भनिसकेपछि त्रिपक्षीय वार्ताको कुरै गर्ने थिएनन्।
उनका अनुसार जम्मू-कश्मीरबाट छुट्टाएर लद्दाखलाई केन्द्रशासित प्रदेश बनाउनका लागि त्रिपक्षीय वार्ता गरिरहने आवश्यकता नै परेन।
‘त्रिपक्षीय वार्ताको माग गर्नु भनेको परोक्ष रूपमा केही दिँदैन भन्नु हो। के त्रिपक्षीय वार्ताले गोर्खाल्याण्ड दिन्छ र? ११२ वर्ष भइसकेको गोर्खाल्याण्डको मागका लागि के त्रिपक्षीय वार्ता नै गरिरहने?’, जाप प्रमुखले थपे, ‘त्रिपक्षीय वार्ताको माग गर्नु भनेको हाम्रो मुद्दालाई तन्काउँदै लैजानु हो। किनभने गोर्खाल्याण्ड त्रिपक्षीय वार्तामार्फत् गठन हुने होइन। हामीले शुरुदेखि भन्दै आइरहेका छौं, हाम्रो मुद्दाप्रति भाजपा र राजु विष्ट दुवै इमानदार छैनन्।’
यो मुद्दामा उनले पछिल्लो चुनाउमा भाजपालाई सहयोग गर्ने पहाड़का दलहरूको पनि आलोचना गरेका छन्। ‘गोर्खाल्याण्ड’ भनेर जनतासँग भोट माग्नेहरूले अहिले ‘गोर्खाल्याण्ड’ शब्दको उच्चारणसमेत गर्न नसकिरहेको आरोप छेत्रीको छ।
‘वास्तवमा भाजपालाई चुनाउमा सघाउने दलहरूले अहिले सांसद राजु विष्ट र भाजपामाथि दबाउ दिनुपर्ने हो। तर यी दलहरूले ‘गोर्खाल्याण्ड’ भन्ने आँटसम्म गर्नसकेका छैनन्’, डा. हर्कले थपे, ‘गोर्खाल्याण्ड भन्न आँटसम्म गर्न नसक्नेहरू दलहरूले गोर्खाल्याण्ड ल्याउँछ भनेर जनताले आशा गर्नु मूर्खता मात्र हो। मुद्दा फेरिरहने राजनीतिक नेताहरूबाट जनताले केही आशा नगर्दा हुन्छ।’
अर्कोतिर धारा २४३ एम (३)-लाई गोर्खाहरूको ‘रक्षा कवच’ भन्ने गोरामुमोको दाबीलाई पनि जाप प्रमुखले हास्पास्पद बताएका छन्।
‘धारा २४३ एम (३)-ले जिल्ला पञ्चायत खाइदिएको छ। के अधिकार र सहुलियत खाइदिने धारा पनि गोर्खाको रक्षा कवच हुन्छ र? यदि गोर्खा शब्द नै गोर्खाका लागि सुरक्षा हुने भए यत्रो आन्दोलन गरिरहनुपर्ने आवश्यकता नै के थियो?’, जनआन्दोलन पार्टी प्रमुख डा. हर्कबहादुर छेत्रीले थपे, ‘यद्यपि हाम्रो मुद्दा पञ्चायत होइन। हाम्रो मूल मुद्दा त गोर्खाल्याण्ड हो। यसैले गोर्खाल्याण्डको मुद्दालाई लत्याएर पञ्चायतको कुरामा बाझिरहनु भनेको जनादेशको बदनाम गर्नु हो। जनतालाई झुक्याउनु हो। जाप त सधैं गोर्खाल्याण्डका लागि अभि बढ़िरहन्छ।’
सांसद राजु विष्टप्रति आक्रामक देखिएका उनले यी भाजपा सांसदले चुनाउ प्रचारअवधि उठान गरेका मूल मुद्दालाई विकल्पमा राखेर अहिले त्यसबेलाका सेकेण्डरी मुद्दालाई प्राइमेरी मुद्दा बनाइरहेको पनि बताएका छन्। जसबाट पनि गोर्खाल्याण्ड गठनप्रति विष्ट कतिसम्म इमानदार छन् भन्ने कुरा स्पष्ट हुने डा. हर्कको भनाइ छ।
डा•हर्क पनि गोर्खाल्याण्डको आन्दोलन र दाबीबाट
पर सरेर कालेबुङ जिल्लाको माँगमा राज्य सरकारको तावेदार हुनपुगेर सेलाएका हुन।