पाठ्यक्रममा कटौती गर्ने निर्णयले संयुक्त माध्यमिक शिक्षक सङ्गठन खुशी

0
1201

दार्जीलिङ, 26 नोभेम्बरः राज्यको शिक्षा विभागले माध्यमिक अनि उच्च माध्यमिकको पाठ्यक्रमलाई 30 देखि 35 प्रतिशत घटाएको घोषणा गरेको छ, जसमा संयुक्त माध्यमिक शिक्षक सङ्गठनले खुशी व्यक्त गरेको छ।

यसको जानकारी गराउँदै सङ्गठनका अध्यक्ष अनिल शर्माले भने, “आईसीएसई र सीबीएसईको पाठ्यक्रमलाई सरकारले नै घटाएको घोषणा गरेको थियो। यसैले माध्यमिक र उच्च माध्यमिकको पाठ्यक्रम पनि घटाउनुपर्ने माग लिएर संयुक्त माध्यमिक शिक्षक सङ्गठनले राज्यका शिक्षामन्त्री पार्थ च्याटर्जी, माध्यमिक शिक्षा परिषद्का अध्यक्ष साथै अन्य सम्बन्धित निकायहरूलाई पत्राचार गरेको थियो। जसमाथि उचित पहल गर्दै राज्यको शिक्षा विभागले माध्यमिक र उच्च माध्यमिकको पाठ्यक्रमलाई 30 देखि 35 प्रतिशत घटाएको घोषणा गरेको छ।’’

राज्यको यो घोषणाले आगामी वर्ष 2021-मा माध्यमिक र उच्च माध्यमिक परीक्षा दिने विद्यार्थीहरूलाई धेरै फाइदा पुग्ने उनको भनाइ छ, किनभने, कोरोना सङ्क्रमणका कारण यस वर्षको मार्च महिनादेखि नै सम्पूर्ण विद्यालय अचल अवस्थामा छन्।

“कोराना भाइरसका कारण शैक्षिक संस्थानहरू बन्द रहेका कारण विद्यार्थीहरू घरैमा बसेर अनलाइन शिक्षार्जन गर्न बाध्य बनिरहेका छन्। तर दार्जीलिङ पहाड़का धेरै स्थानमा इन्टरनेटको सुविधा छैन भने धेरै विद्यार्थीहरूको हातमा एन्ड्रोइड मोबाइल फोन पनि छैन। जसको कारण यस्ता विद्यार्थीहरूले ठीकसित आफ्नो पढ़ाई पनि गर्न सकेनन्’’, शर्माले थपे, “यसैले अर्को वर्षको माध्यमिक र उच्च माध्यमिक परीक्षामा 100 प्रतिशत पाठ्यक्रमबाट नै प्रश्‍न दिइए, विद्यार्थीहरूलाई धेरै असुविधा हुने स्पष्ट थियो। यसैकारण संयुक्त माध्यमिक शिक्षक संगठनले आईसीएसई र सीबीएसईमा जस्तै माध्यमिक र उच्च माध्यमिकको पाठ्यक्रममा पनि कटौती गर्नुपर्ने माग गर्दै राज्यका शिक्षामन्त्री साथै सम्बन्धित विभागहरूलाई पत्राचार गरेको थियो।’’

जसमाथि शिक्षा विभागले उचित सुनवाई गरेको उनको भनाइ छ।

हिजो मात्रै राज्यको उच्च शिक्षा परिषदले एक अधिसूचना जारी गरेको पनि जानकारी गराएको छ। तर, यसमा नेपाली विषयको पाठ्यक्रम छुट्न गएकोमा शिक्षक सङ्गठनले यसबारे पनि शिक्षा विभागलाई पत्राचार गरेको छ, जसमाथि पनि शीघ्रै ठोस पहल हुने आशा गरिएको शर्माले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here