इतिहास-पुरुष विष्णुलाल उपाध्याय

0
1050
  • भविलाल लामिछाने

इतिहासले विभिन्न कालखण्ड समेटेको हुन्छ । ती कालखण्डमा पर्ने व्यक्तिहरू, जो आफ्ना आउने पिँढीका मार्गदर्शक बनेका हुन्छन्,  इतिहास-पुरुष कहलाइन्छन् । असमका नेपालीहरूको इतिहासमा त्यस्तै एकजना पुरुष भेटिन्छन् -ती हुन् असमको तत्कालीन दरङ जिल्लाको बिहाली मौजाअन्तर्गत बूढीगाङका वृहस्पति उपाध्यायका सुपुत्र विष्णुलाल उपाध्याय ।

आजको पिँढी त्यस्ता पुरुषहरूदेखि उदासीन रहेको भेटिन्छ । विष्णुलाल उपाध्यायको जन्म माता लक्ष्मीदेवीका कोखबाट १६ अक्टोबर, सन् १९१७ का दिन भएको थियो । तेजपुर सरकारी हाई स्कुलबाट सन् १९३८ मा प्रवेशिका परीक्षा प्रथम श्रेणीमा पास गरी उहाँ गुवाहाटीको सुप्रसिद्ध कटनकलेजमा प्रवेश गर्नुभएको थियो । त्यतिखेरसम्म उनीभित्र राजनीतिक चेतना स्वतस्फूर्त जाग्रत भइरहेको थियो । त्यसैले अध्ययनकालमै भारतको स्वाधीनता-आन्दोलनमा हेलिएर ६ महिनाको कारावास झेल्नु परेको थियो । देशका लागि समर्पित हुने उनको भावना यति प्रबल र दृढ थियो कि आन्दोलनमा लागेको बेला सेप्टेम्बर २०, १९४२ का दिन पाँच सयजति मानिस लिएर बिहाली थाना घेराउ गरेको अपराधमा पक्राउ गरी तत्कालीन दारोगा सुकुमार चक्रवर्तीले मेजिस्ट्रेट एस. के. दासका अघि उभ्याए । मेजिस्ट्रेटले उनको अपराधबारे सोध्दा दारोगाले भने, ‘श्री विष्णुलाल उपाध्यायले पाँच सयजति मानिसलाई साथमा लिएर २०-९-४२ का दिन बलजफ्ती बिहाली थानाभित्र प्रवेश गरी घोर गैरकानुनी कारबाही गर्नुभयो । सुनेर मेजिस्ट्रेट्ले विष्णुलाल उपाध्यायलाई ‘हो ?’ भनी सोद्धा उहाँले निर्भिकतापूर्वक भन्नुभो’, ‘हो. हामी बिहाली थानामा कङ्ग्रेसी झण्डा फहराउन गएका थियौँ ।’

फैसला सुनाउनुअघि एकपल्ट फेरि मेजिस्ट्रेट्ले भने, ‘सुन! तपाईं कलेजका छात्र रहेछौ. तिमी आफ्नो भविष्य सोच…… मैले नजानेर आन्दोलनमा लागेछु । अब उसो लाग्ने छैन भनेर सही गऱ्यौ भने तिमीलाई छाडिदिइनेछ ।’

‘म जानी-बुझी नै यस काममा लागेको हुँ । अबदेखि यसो गर्ने छैन भनी सही-छाप गर्न राजी छैन ।’ उनले भने ।

‘कन्फेसन अव् गिल्ट’-अन्तर्गत मेजिस्ट्रेटले उनलाई दोषी बनाएर नम्बर 990 C.R. of 1942 अन्तर्गत निम्न फैसला सुनाए, ‘The charge of the accused is that he with 500 men forcibly entered the Thana compound of Bihali on 20.9.42 I therefore convict the accused u/s 38 (5) of D. I. Rules of 1940 on his own admission and sentence him to undergo rigorous imprisonment for a period of six months.

Sd/ – S. K. Das

Special Magistrate

26. 2 1943          

तर उहाँ विचलित हुनु भएन । यस सन्दर्भमा उहाँले ‘विवेकले अह्राएको काम’ शीर्षक मुनि आफ्नो लेखमा एउटा रोचक प्रसङ्गको उल्लेख गर्नुभएको छ । उहाँ भन्नुहुन्छ – ‘पुलिसको रेखदेखमा मलाई सदर-थाना लगियो । मेरो शरीरमा कुनक़ि काटेका, पोलेका, तिल-कोठीबारे केही विवरण लेखी, मसीले दुई हातका दसोटा औंलाका छाप अर्कै कागजमा लिसकेपछि जेलमा पुऱ्याइयो ।’

भारतको स्वतन्त्रताका लागि जेल खाने मात्र होइन, प्राणको आहुति दिने हाम्रा धेरै धेरै सेनानी छन् । उनीहरूको सही कदर हुनु आवश्यक छ ।

विष्णुलाल उपाध्याय चौरासी वर्षका हुँदा प्रकाशित गरिएको अभिनन्दन ग्रन्थमा शोणितपुरकै वरिष्ठ लेखक र सामाजिक कार्यकर्ता पद्म ढकालले कसैले भनेको कुरो दोहोऱ्याउनु भएको छ –‘फेरि कोही-कोही गुणमुग्ध भन्छन् – शोणितपुरका तीन ‘लाल’ (छविलाल, पुष्पलाल र विष्णुलाल) असमे नेपालीका गुरु/गौरव हुन् ।’

सङ्घर्षका दिनहरूसँग लाप्पा खेलेर पनि उहाँले आफ्नो पढाइलाई विराम चिह्न लाग्न दिनुभएन । विद्यार्थीकालदेखि नै आन्दोलनमा सक्रिय रहनुभएका विष्णुलाल सन् १९४४ मा नेपाली MIL लिएर अविभक्त दरङ जिल्लाका पहिला स्नातक बन्नुभयो । असमिया समाजमा भिजी असमिया परिवेशमा रहँदा पनि उहाँले आफ्नो मातृभाषालाई बिर्सनु भएन । ‘नेपाली पढेर नोकरी पाइन्न’ भन्ने पानीमाथिका ओभानाहरूलाई यो एउटा उदाहरण बन्न सक्छ ।

सन् १९४४ देखि सन् १९५७ सम्म बिहाली हाई स्कुलमै प्रधानाध्यापकका रूपमा आफ्नो सेवा प्रदान गर्नु भयो । यसैमाझ राजनीतिमा प्रवेश गर्ने उहाँको बाटो पनि बनिँदै गयो ।

उहाँले सन् १९४७ देखि सन् १९५२-सम्म ‘अखिल भारतीय गोर्खा लिग’-को तेजपुर शाखा-सचिवको अभिभारा लिनुभयो । सन् १९५० देखि सन् १९५३-सम्म कङ्ग्रेसको टिकटमा तेजपुर लोकल बोर्डका सदस्य पनि हुनुभयो । सन् १९५७-मा AICC, New Delhi को आग्रहमा गहपुर समष्टिका विधायक हुनुभयो । त्यसपछि १९६२ देखि १९६७ सम्म पनि गहपुर समष्टिबाटै विधायक हुनुभयो । पुन: सन् १९७८ मा कङ्ग्रेसकै टिकटमा बिहाली समष्टिबाट विधायक चुनिनु भयो । यसप्रकार असममा २० वर्षसम्म उहाँले असम विधानसभाको सदस्यता पाउनु भयो । यो साधारण जनताको माया नै थियो । एसेम्बली भित्र-बाहिर के कति बोल्नु भयो, के कति गर्नु भयो त्यो कसैबाट लुकेको छैन । असमका नेपालीहरूको भिडलाई लिएर सोच्नेहरूमा उहाँ पनि एकजना हुनुहुन्छ ।

असममा गडपालमा अनुष्ठित ‘अखिल भारतीय गोर्खा लिग’-को अधिवेशनमा असममै नेपालीहरूको स्वतन्त्र संस्था हिसाबले ‘असम गोर्खा सम्मेलन’-को गठन भएपछि ‘अखिल भारतीय गोर्खा लिग’-ले गर्दै आइरहेका कामको अभिभारा ‘असम गोर्खा सम्मेलन’-माथि आइलाग्यो । ‘असम गोर्खा सम्मेलन’-मा उहाँ विभिन्न पदमा आसीन रहेर आजीवन जातिको सेवा गरिरहनु भयो ।

उहाँका कार्यक्षेत्र सामाजिक र राजनीतिक दुबै नै रहे । जातिका लागि बोल्ने र काम गर्ने हुँदा असम आन्दोलनको बेला सन् १९७९/८० तिर ‘विष्णुलालर माथा लागे’ (विष्णुलालको टाउको चाहिन्छ) –जस्तो नारा उग्र आन्दोलनकारीहरूबाट उठ्यो । तर, उहाँ निडर भएर जातिहितका लागि काम गरिरहनु भयो ।

विषणुलाल उपाध्यायको अर्को सुकिलो र महत्त्वपूर्ण पक्ष हो साहित्य सिर्जना । राजनीतिक र सामाजिक क्षेत्रमा समर्पित रही कार्य गरे अनुसार नै उहाँले सर्जकका रूपमा पनि महत्त्वपूर्ण योगदान नेपाली जगतलाई दिनु भएको छ । उहाँ एकजना अध्ययनशील र पारदर्शी लेखक हुनुहुन्थ्यो । नेपाली र असमिया दुवै भाषामा कलम चलाउने एकजना सफल लेखकका फुटकर रचनाबाहेक १३ वटा पुस्तक (नेपाली भाषामा ८ र असमिया भाषामा ५ वटा पुस्तक) नेपाली साहित्य-भण्डारमा थपिएका छन् । एकजना राजनीतिक व्यक्तित्वको यो एउटा ठुलो उपलब्धि मान्न सकिन्छ ।

वास्तवमा हाम्रा यस्ता अग्रजहरूको स्मरण गर्नु किन आवश्यक छ भने हामीलाई दिशानिर्देश गर्ने व्यक्तिहरूलाई सम्मान जनाइरहनु र उनीहरूका कामबाट प्रेरणा पाइरहनु हामीहरूको कर्तव्य ठहरिन्छ । मलाई लाग्छ असममा नेपालीहरूको इतिहास लेखिएछ भने विष्णुलाल उपाध्यायको नाउँ अग्रिम पङ्क्तिमा रहनेछ । ती इतिहास-पुरुषलाई नमन छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here