मिरिक, 26 दिसम्बरः मिरिकको टिङलिङ चियाकमानका केही पैह्रो पीड़ित मानिसलाई पार्टी हेरेर जीटीएले राजनीतिक शिकार बनाएको गोरामुमोको जनचेतना सङ्घर्ष समितिले आरोप लगाएको छ।
बिहीवार जनचेतना सङ्घर्ष समितिकी अध्यक्ष मञ्जिला तामाङको नेतृत्वमा एक टोली टिङलिङका पैह्रो पीड़ितहरूलाई मानिसहरूलाई पुनर्वास गराइएको ठाउँ पुगेको थियो, जहाँ पीड़ित 19 परिवार बस्दै आएका छन्।
ग्राउण्ड जिरोबाटै एक भिडियोमार्फत् पत्रकारहरूलाई सम्बोधन गर्दै उनले नयाँ सोच, नयाँ विचार भन्ने गोजमुमो-2 द्वारा सञ्चालित जीटीएले पोलिटिकल भिक्टिमाइज गर्दै 19 पीड़ित परिवारमध्ये 7 पीड़ित परिवारको घर नबनाएको आरोप लगाइन्।
तामाङको दाबी अनुसार घर नबनिएका 7 पैह्रो पीड़ित परिवार गोरामुमो समर्थक हुन्। गोरामुमो समर्थक भएको कारण उनीहरूलाई भिक्टिमाइज गरिएको मञ्जिला तामाङको दाबी छ।
उल्लेखनीय छ, 1 जुलाई 2015 को मध्यराति टिङलिङ चियाकमानमा गएको भीषण पैह्रोले 19 जनाको ज्यान लिएको थियो भने 19 परिवार पूर्ण रूपले विस्थापित बनेका थिए।
“2015-मा गएको त्यति ठूलो पैह्रोको घटनापछि अहिलेसम्म 12 जना पीड़ित परिवारको घर बनिएछ, तर सातजना पीड़ित परिवारको घर बनिएको छैन, किनभने यी साज परिवारलाई तिनीहरू गोरामुमो पार्टीको भनेर भिक्टिमाइज गरेर राखेको रहेछ”, तामाङले थप भनिन्, “किन गोरामुमोका समर्थकहरूलाई छुट्टायो? पाँच वर्षदेखि उनीहरू प्लास्टिकले बेह्रेको घरमा कसरी बस्दै होला? आपदा प्रबन्धबाट अलग्गै कोष आएको हुन्छ। तरैपनि आजसम्म किन यी सात परिवारको घर बनिएन?”
यसअवसरमा जनचेतना सङ्घर्ष समितिकी अध्यक्षले अहिले जीटीए सञ्चालित गरिरहेका विनयपन्थी गोजमुमो र तृणमूल कङ्ग्रेसमाथि पनि कटाक्ष गरेकी छन्।
यी दुवै पार्टी र सम्बन्धित विभागलाई पटक पटक अनुरोध गर्दा पनि उनीहरूको घर किन अहिलेसम्म बनिन सकेन तथा आजको दिनसम्म उनीहरूको घर निर्माणका लागि किन निरीक्षण गरिएन भन्ने उनको प्रश्न छ।
तामाङका अनुसार सरकारले पीड़ित परिवारहरूको घर निर्माणका लागि कोष आवण्टन गरिँदा फलना पार्टीलाई दिनु, ढिस्का पार्टीलाई नदिनु भनेर भनिएको हुँदैन।
आपदा प्रबन्धनका लागि केन्द्र सरकारले कोष आवण्टित गर्ने भएकोले यो ‘राजनीतिक भेदभाव गरिएको मुद्दालाई दस्तावेजसहित केन्द्रसम्म जाने उनले बताइन्।