दार्जिलिङ, २६ दिसम्बरः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-का महासचिव महेन्द्र छेत्रीले आज नयाँ दिल्लीमा कङ्ग्रेस नेता राहुल गान्धीसँग भेट गरी छैटौँ अनुसूचीका लागि गुहार लगाएका छन्।
गोरामुमोको भनाइ छ – गोर्खाल्यान्ड गठन नभएसम्म दार्जिलिङ पहाडमा छैटौँ अनुसूची लागू गरिनुपर्छ।
यससम्बन्धमा छेत्रीले राहुल गान्धीलाई एक ज्ञापन र 6 दिसम्बर 2005 मा गोरामुमोका अध्यक्ष एवं तत्कालीन दागोपापका प्रशासक सुवास घिसिङ र कङ्ग्रेस नेतृत्व तत्कालीन यूपीए सरकारबिच भएको छैटौँ अनुसूचीलाई सम्झौता पत्र दिएका छन्।
राहुल गान्धीले पनि दार्जिलिङ पहाडमा छैटौँ अनुसूची लागू गर्न सहयोग गर्ने तथा आउँदा दिनमा यस विषयलाई संसदमा उठाउने आश्वासन दिएका छन्।
गोरामुमोले राहुल गान्धीलाई भनेको छ – गोर्खा जातिका लागि कार्य गर्ने कङ्ग्रेस पार्टी मात्र हो। यसैले दार्जिलिङ पहाडमा छैटौँ अनुसूची लागू गर्न सहयोग गरिदिनपर्छ।
यसैबिच, महेन्द्र छेत्रीले पार्टी अध्यक्ष संस्थापक अध्यक्ष सुवास घिसिङको दार्जिलिङ पहाडमा छैटौँ अनुसूची लागू गर्ने सपना पूरा गर्न गोरामुमो प्रतिबद्ध रहेको पनि बताएका छन्।
यससँगै गोरामुमोले दार्जिलिङ पहाड, तराई अनि डुवर्सको दीर्घकालीन मागको स्थायी राजनीतिक समाधान भनिरहे तापनि वास्तवमा छैटौँ अनुसूचीको मोह त्याग्न नसकेको स्पष्ट भएको छ।
केही दिनयता पहाडमा छैटौँ अनुसूची लाग्न गर्न गोरामुमो सक्रिय बनेको छ। केही दिनअघि पनि गोरामुमोको एक प्रतिनिधि टोली दिल्ली गएको थियो।
गोरामुमोले पछिल्ला केही समय यता छैटौँ अनुसूचीकै रट् लगाइरहेको छ।