दार्जीलिङ, २७ जनवरीः वर्तमान भाजपा नेतृत्वावधीन केन्द्र सरकारले आफ्नो विफलतालाई ढाक्नका लागि मात्रै नागरिकता संशोधन कानून (सीएए) ल्याएको जनआन्दोलन पार्टीले आरोप लगाएको छ।
आज स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवनमा जापले आफ्नो पाँचौं स्थापना दिवस पालन गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै पार्टी अध्यक्ष डा. हर्कबहादुर छेत्रीले यस्तो आरोप लगाएका हुन्।
“असममा बिनाकुनै नीति र सिद्धान्त अचानक एनआरसी लागू गर्यो, जहाँ वर्तमान सरकारले एक करोड़भन्दा अधिक मुसलमान समुदायलाई लक्ष्य गरेको थियो। तर १९ लाख जनता मात्रै एनआरसीबाट अलग भए, जसमा पनि धेरैजसो हिन्दू धर्मावलम्बीहरू नै छन्’’, छेत्रीले भनेका छन्, “यसैले यी हिन्दूहरूलाई देशको नागरिकता दिनका लागि नै वर्तमान केन्द्र सरकारले हतार-हतार सीएए ल्याएको हो। यदि यो सरकारले साँचो मनले देशमा यो कानून संशोधन गरेको भए जनआन्दोलनले समर्थन गर्नेथियो। तर भाजपा सरकारले आफ्नो विफलता छोप्नका लागि मात्रै यसो गरेको कारण नै देशभरि यसको विरोध भएको हो।’’
वर्तमान भाजपा नेतृत्वावधीन केन्द्र सरकारले फासीवादी नीति अपनाइरहेको पनि आरोप लगाउँदै जाप अध्यक्षले भने, “जनताले सरकारको नीतिको विरोधमा आवाज उठाए, उनीहरूलाई राष्ट्रविरोधी र विदेशीको लाञ्छना लगाउने गरिँदैछ। यसैले सरकारले गरेका प्रत्येक कामलाई नै सराहना गर्नेहरू मात्रै देशभक्त, राष्ट्रप्रेमी हुन् भन्ने सरकारको नीति छ।’’
यसका साथै हर्कले वर्तमान केन्द्र सरकारमा आसीन भारतीय जनता पार्टीले वर्ष २०२१-को पश्चिम बङ्गालमा हुने विधानसभा चुनाउ र २०२४-को लोकसभा चुनाउलाई केन्द्र गरेर मात्रै कट्टर हिन्दूवादी देखिने षड़यन्त्र गरिरहेको पनि आरोप लगाए।
“देशका नागरिकहरूको नागरिकताको प्रमाण सरकारद्वारा नै जारी गरिएको मतदाता परिचय पत्र, आधार कार्ड, राशिन कार्ड, प्यान कार्डहरू होइनन्? यी प्रमाण-पत्रहरू हुनेहरू स्वतः भारतका नागरिक होइनन्?’’, जाप प्रमुखले थपे, “यो अन्य केही होइन, वर्तमान भाजपा नेतृत्वावधीन केन्द्र सरकारले आफ्नो विफलता ढाक्नका लागि नै यसो गरिरहेको छ, ताकि जनताको मन-मस्तिष्क यसतिर जाओस्।’’
यसैबीच, उनले जनआन्दोलन पार्टीले आगामी तीन महीनाभित्र सीएए, एनआरसी र एनपीआर विषयमा कालेबुङमा एक सङ्गोष्ठीको आयोजना गर्ने योजना बनाएको पनि बताए, जसमा एनडी टीभीका एङ्कर रवीस कुमारका साथै अन्य संविधान विशेषज्ञहरूलाई ल्याएर बोल्न लगाउने भएको पनि डा. छेत्रीले बताए।
अर्कोतिर उनले दार्जीलिङका सांसद राजु विष्टले दार्जीलिङमा आएर भाषण दिनुको सट्टा संसदमा बोलेको उचित हुने पनि बताए।
हर्कले भने, “दार्जीलिङको चोकबजारमा बोल्नेहरूको कुनै कमी छैन, तर हाम्रो लागि संसदमा बोल्नेको कमी छ। यसैकारण नै जनताले राजु विष्टलाई संसदमा बोल्नका लागि सांसद बनाएका हुन्। उनले गोर्खा जाति, दार्जीलिङको हितमा संसदमा आवाज उठाउनुपर्छ।’’
यसका साथै, आज उनले पार्टीको स्थापना दिवस समारोहमा सामेल भएका पार्टी कार्यकर्ताहरूलाई अन्य विविध विषयबारे पनि जानकारी गराएको बताए।