प्रताप खाती गोर्खा लीगबाट निष्कासित, दुवै खेमा एक भएको घोषणा

0
994

दार्जीलिङ, 27 जनवरीः अखिल भारतीय गोर्खालीगले प्रताप खातीलाई पार्टीबाट निष्कासित गरेको छ।

गोर्खा लीगका उपाध्यक्ष विक्रमादि राईले आज पार्टी नेता खातीलाई पार्टीबाट निष्कासित गरिएको घोषणा गरे।

यति मात्रै होइन,  उनले पार्टीमा खेमा विवाद समाप्त भएको र गोर्खालीग एउटा मात्रै रहेको बताउँदै अबउसो भारती तामाङको नेतृत्वलाई मात्रै शिरोपर गर्ने निर्णय लिएको पनि बताए।

यसैबीच, पार्टी कार्यालयबारे एक प्रश्‍न गर्दा उनले भने, “पार्टी कार्यालय कसैको पेवा होइन, यो आम जनताको कार्यालय हो। तर प्रताप खातीले यस पार्टी कार्यालयमा प्रवेश गर्न चाहन्छन् भने उनले हामीबाट कार्यालयको चाबी लिनपर्छ अनि चाबी लिनअघि उनले दिल्लीमा गत 21 दिसम्बर 2020-का दिन केन्द्रिय गृहमन्त्री अमित शाहसित भएको बैठकबारे स्पष्टीकरण दिनुपर्छ। यसको स्पष्टीकरण हामीले दिल्लीको बैठकपछि लगातार मागिरहेका छौं, तर अझैसम्म पनि उनले यसको स्पष्टीकरण दिने कुनै औचित्य नै ठानेका छैनन्।”

उनले थपे, “यसका लागि पार्टी महासचिव एसपी शर्माले हिजो 24 घण्टाको अल्टिमेटम दिएका थिए, तर 24 घण्टाको समय बितिसक्दा पनि खातीबाट कुनै प्रतिक्रिया नआएपछि आज पार्टीले उनलाई पार्टीबाट निष्कासित गर्ने निर्णय लिएको हो।”

राईका अनुसार गोर्खालीगमा विगत केही समयदेखि चलिरहेको खेमा विवाद समाप्त भएको छ अनि गोर्खालीग एउटा मात्रै छ, जसले भारती तामाङको नेतृत्वलाई मात्रै शिरोपर गर्नेछ।

“देशमा गोर्खा समुदायको एकमात्र सबैभन्दा पुरानो पार्टी गोर्खा लीग  हो, यसको संरक्षण गर्ने दायित्व सबैको हो। तर पार्टीभित्रै रहेका नेताहरूमाझ केवल आफ्नो निजी स्वार्थका कारण खेमा विवाद शुरू भएको थियो। जसले पार्टीलाई ठूलो नोक्सान भइरहेको थियो। तर पार्टीलाई बँचाउनुपर्छ भन्ने सोच राखेर नै हामीले प्रताप खातीको माध्यमबाट गोर्खालीगमा प्रवेश गरेका हौं’’, विक्रमादि राईले थपे, “हामी गोर्खालीगमा प्रवेश गरेदेखि नै दुवै खेमालाई एक बनाउने प्रयास गरेका थियौं, तर दुवै खेमामा निजी स्वार्थ पालेका नेताहरू थिए। जसको कारण यो खेमा विवाद समाप्त हुनसकेको थिएन। तर अब पार्टी स्व. मदन तामाङको सिद्धान्तलाई साथमा लिएर अघि बढ्नेछ।”

यसैबीच, स्थानीय लाडेनला रोडस्थित गोर्खा लीग पार्टी कार्यालयमा प्रताप खाती आए, के उनलाई कार्यालयमा स्वागत हुन्छ? भन्ने प्रश्‍नको उत्तरमा उनले भने, “पार्टी कार्यालयको ताला खोल्नअघि हामीसित चाबी माग्नुपर्छ अनि चाबी माग्नअघि उनले दिल्लीमा भएको बैठकबारे स्पष्टीकरण दिनुपर्छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here