दार्जीलिङ, 27 मार्च : आगामी लोकसभा चुनाउमा दार्जीलिङ लोकसभा सीटका लागि स्वतन्त्र उम्मेदवारका लागि नामाङ्कन भरेका स्वराज थापाले साझा सहमतिका लागि आगामी 29 मार्चको 2 बजेसम्म पहल गर्ने बताएका छन्।
थापाका अनुसार भाजपा र तृणमूलका उम्मेद्वारलाई आगामी चुनाउमा पराजित गर्ने लक्ष्य र उद्देश्य दार्जीलिङ पहाड़वासी हुनुपर्छ। बुधवार जनसंवादसँग टेलिफोनिक कुराकानी उनले भने, “तृणमूल र भाजपाका उम्मेदवारले जिते खण्डमा हामीलाई लाभको सट्टा नोक्सान नै बढ़ी हुनेछ। किनभने यी दुवै पार्टी गोर्खाविरोधी हुन्। हामीले हाम्रै मान्छेले संसदमा पुर्याउने लक्ष्य राख्नुपर्छ।”
यसैकारण नामाङ्कन भरेर पनि आफूले साझा सहमतिका लागि पहल गरिरहेको थापाको भनाइ छ। यो पहलकै फलस्वरूप हिजो क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट (क्रामाकपा)-का उम्मेदवार आरबी राईसँग हिजो (मङ्गलवार) र जनआन्दोलन पार्टीका उम्मेदवार डा. हर्कबहादुर छेत्रीसँग आज (बुधवार) यसबारे कुराकानी गरिसकेको र यो कुराकानी सकारात्मक भएको थापाले बताएका छन्।
उनले भने, “संवैधानिक गोर्खाल्याण्ड माग्दा गोली ठोक्ने तृणमूल कङ्ग्रेसको उम्मेदवारले दार्जीलिङ पहाड़मा कुन मुखले भोट माग्नेछ? त्यस्तै हामीलाई 10 वर्षसम्म धोका दिने भाजपाले यसपटक पनि बाहिरका अनुभवहीन व्यक्तिलाई उम्मेदवार बनाएर गोर्खाहरूप्रतिको नियत छर्लङ्ग देखाएको छ।”
थापाका अनुसार दार्जीलिङमा साझा सहमतिको उम्मेदवार आवश्यकता र अनिवार्यता हो। “दार्जीलिङबाट साझा सहमतिको उम्मेदवार हुनुपर्छ भन्ने पहलमा म लागिपरेको छु”, उनले थपे, “दार्जीलिङमा पनि सांसद हुन योग्यका धेरै व्यक्ति छन् भन्ने बलियो सन्देश दिन मैले स्वतन्त्र उम्मेदवारका लागि नामाङ्कन भरेको हुँ।”
उनले थप भने, “मभित्र लोकसभा चुनाउ लड़्ने कुनै लोभ छैन। उम्मेदवारका लागि साझा सहमति बन्न सकेको खण्डमा म सबैभन्दा पहिला उम्मेदवारिता फिर्ता लिनेछु।” आगामी चुनाउमा सचेत भएर आफ्नो मताधिकारको प्रयोग गर्ने उनले दार्जीलिङका जनतालाई आह्वान गरे।
“पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा निर्ममतापूर्वक गोली ठोकेर हाम्रा मान्छे मार्ने तृणमूल कङ्ग्रेस र बङ्गालले गोर्खाल्याण्ड आन्दोलनकारीहरूमाथि गोली ठोक्दा, अन्याय-अत्याचार गर्दा पनि रमिता हेर्ने र हामीलाई धोका दिने भाजपालाई हराउन दार्जीलिङ पहाड़का जनता प्रतिबद्ध हुनुपर्छ। तृणमूल र भाजपा उम्मेदवारलाई पराजित गर्न सङ्कल्पित हुनुपर्छ”, थापाले भने।