रङ्गीत नदीमा बेपत्ता बनेका विद्यार्थीको खोजीकार्य जारी

0
887
बेपत्ता बनेका आकाश पाण्डेको खोजीकार्य गरिँदैछ।

कालेबुङ, २७ मार्चः पछिल्लो २४ मार्चका दिन रङ्गीत नदीमा बेपत्ता भएका आकाश पाण्डे (१५) -को कुनै पत्तो लाग्न सकेको छैन।

आज रङ्ग्ली रङ्लियट थानाका पुलिसकर्मी, टिस्टाका स्थानीय गोताखोरहरू र एसडीआरएफको टिमले त्रिवेणीनजिक रङ्गीत खोलामा खोजीकार्य गरे तापनि आकाश पाण्डेको कुनै पत्तो लाग्न सकेन।

जानकारीका अनुसार बेपत्ता बनेका आकाश पाण्डे टिस्टा ब्रिज स्कूलका नवौं श्रेणीका विद्यार्थी हुन्। उनी टिस्टा डीआई फन्डनिवासी रहेको बताइएको छ।

पछिल्लो २४ मार्चको अपराह्न करिब १ बजे एनोश राई, अनुज, जेम्स खवास र जोन खवास नाम गरेका आफ्ना साथीहरूसँग त्रिवेणीनजिक रङ्गीत खोलामा पौड़ी खेल्न गएका आकाश पाण्डे त्यसै दिनदेखि बेपत्ता बनेका हुन्।

राति अबेरसम्म आफ्ना छोरा घर नफर्केपछि अभिभावकले सोधीखोजी गर्दा घटना प्रकाशमा आएको बताइएको छ। यस सम्बन्धमा आकाशका परिवारले थानामा मिसिङ डायरी पनि गरेका छन्।

केही स्थानीय मानिसले एनोश राई, अनुज, जेम्स खवास र जोन खवाससँग पौड़ी खेल्नका लागि आकाश गइरहेको देखेका थिए। यसबारे उनीहरूले पुलिसलाई जानकारी गराएपछि चारैजनालाई पुलिसले हिरासतमा लिएर लगातार केरकार गरिरहेको बताइएको छ।

पुलिसका अनुसार केरकारअवधि चारैजनाले दिएको बयानका अनुसार आकाश पाण्डे पौड़ी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन्।

आकाशसँगै डुबेका एनोश राई भने बाँसको भाटाको सहयोगमा निस्किन सफल भएको उनीहरूको भनाइ छ।

यसका साथै पुलिसले केरकारअवधि प्राप्त जानकारीकै आधारमा आकाश पाण्डेको फोन र लुगाफाटा बरामद गरिएको छ।

आकाश डुबेपछि डरले मोबाइल र लुगाफाटा आफूहरूले फ्याँकिदिएका पनि उनीहरूले पुलिसलाई बताएको पनि जानकारी पाइएको छ।

पुलिसका अनुसार ती साथीहरूले आकाशको लुगाफाटा फ्याँक्नका साथै मोबाइल बालुवामा गाड़ेका थिए, जुन हिजो बरामद भएको रङ्ग्ली रङ्लियट थानाका एएसआई शरद् छेत्रीले बताएका छन्।

हिजै पनि पुलिस, गोताखोर र ऱ्याफ्टिङ टिमले खोजी कार्य गरे तापनि पाइएको थिएन भने आज पनि कुनै पत्तो लाग्न सकेन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here