जीएसएसएसले पनि भाजपा उम्मेदवार नीरज जिम्बालाई समर्थन नगर्ने : किरण बिकेले भने –उम्मेदवार क्षेत्रीय पार्टीबाटै हुनुपर्छ

0
1468
जीएसएसएसका अध्यक्ष किरण बिके (फाइल फोटो)।

दार्जीलिङ, २७ अप्रेल : भारतीय जनता पार्टी (भाजपा) -को चुनाउ चिह्नमा खड़ा भएकोले नीरज जिम्बालाई समर्थन नगर्ने निर्णय गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-ले लिएको छ। जीएसएसएसका अनुसार क्षेत्रीय मुद्दा र राजनीतिमा क्षेत्रीय पार्टीबाटै प्रतिनिधित्व हुनुपर्छ।

भाजपाको टिकटमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) –का प्रवक्ता नीरज जिम्बा दार्जीलिङ विधानसभाको उपचुनाउमा खड़ा भएको सन्दर्भमा बोल्दै जीएसएसएसका अध्यक्ष किरण बिकेले भने, “विधानसभा भनेको क्षेत्रीय मुद्दाहरू उठाउन गर्नुपर्ने ठाउँ हो। यसैले यसमा क्षेत्रीय पार्टीकै प्रतिनिधि हुनुपर्छ। राष्ट्रिय पार्टीले हाम्रा क्षेत्रीय मुद्दाहरूलाई बोक्ने छैन।”

आज क्षेत्रीय प्रतिनिधिहरूका लागि पनि राष्ट्रिय पार्टीलाई अघि लगाएको खण्डमा भोलि दार्जीलिङमा क्षेत्रीय पार्टीहरूको अस्तित्व मासिएर जाने तथा यस्तो भएमा क्षेत्रीय मुद्दा पनि हराउने उनको भनाइ छ।

“हाम्रो विरोध नीरज जिम्बालाई लिएर होइन, तर भाजपाको टिकटमा उनी उम्मेदवार भएकोले हो। किनभने दार्जीलिङको विधानसभाबाट भाजपालाई नै उम्मेदवार बनाएर पठाउँदा हाम्रा क्षेत्रीय मुद्दाहरू सम्बोधन हुनेछैन’’, जीएसएसएस अध्यक्षले थपे “भाजपाले भाजपाकै राष्ट्रिय मुद्दाहरूलाई बोक्नेछ। दार्जीलिङको विधानसभा चुनाउमा क्षेत्रीय पार्टीहरूले एकमतमा आएर आफ्नै दममा चुनाउ लड़्न सक्नेथिए, तर त्यसो हुनसकेन। विधानसभा चुनाउमा पनि भाजपालाई अघि लगाउनु दुर्भाग्यको कुरा हो।’’

‘‘राष्ट्रियस्तरमा गोर्खा प्रतिनिधिको सवाल रहेकोले हामीले लोकसभा चुनाउमा भाजपालाई समर्थन गरेका थियौं’’, किरण बिकेले स्पष्ट पारे।

उनका अनुसार भोलि जीएसएसएसको केन्द्रिय समितिको बैठक छ, त्यसमा आगामी रणनीतिबारे यसले आफ्नो अड़ान पार्नेछ।

उल्लेखनीय छ, क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले पनि भाजपाको चुनाउ चिह्नमा खड़ा भएकोले नीरज जिम्बालाई समर्थन नगर्ने घोषणा गरेको छ। आउँदो विधानसभा चुनाउमा दार्जीलिङकै क्षेत्रीय दलबाट चुनाउ लड़्नु लड़्नुपर्ने क्रामाकपाको भनाइ छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here