दार्जीलिङ, २७ अप्रेल : दार्जीलिङ विधानसभा उपचुनाउका लागि शुक्रबार नामाङ्कन-पत्र बुझाएका विनय तामाङले शनिबारदेखि चुनाउ प्रचार अभियान शुरु गरेका छन्।
गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष तामाङले हिजो तृणमूल कङ्ग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारको रूपमा नामाङ्कन -पत्र बुझाएका छन् भने आजदेखि दार्जीलिङ विधानसभा क्षेत्रका सदूरवर्ती गाउँहरूबाट शुरु गरेका छन्।
जानकारीका अनुसार आज तामाङ चुनाउ प्रचार अभियानअन्तर्गत रिम्बिक लोधोमा समष्टिका डाँड़ागाउँ, सिरीखोलालगायत अन्य ठाउँमा पुगेका थिए। यसअवधि उनले रिम्बिक बजारमा आयोजित चुनावी पथसभालाई सम्बोधन पनि गरे।
आफ्नो सम्बोधनमा उनले पहाड़का विद्यमान समस्याहरूलाई समाधान गर्नका लागि आफू गम्भीर रहेकोले नै विधानसभा उपचुनाउमा खड़ा भएको जनाए। “आज पहाड़मा विभिन्न समस्या छन्। ठाउँ-ठाउँमा धेरै समस्या छन्। आज मैले जे जति समस्याहरू देखेको छु। दुई तीन वर्षमा ती समस्याहरूको ८० प्रतिशत समाधान गर्न सके भने पहाड़ र पहाड़का जनसाधारणले त्यसको धेरै सहुलियत उपभोग गर्न सक्नेछन्। जीटीएको अध्यक्ष भएर म जति काम गर्नसक्छु त्योभन्दा धेरै काम कोलकातामा पुगेर गर्नसक्छु”, उनले भने।
तामाङले क्षेत्रका जनतालाई आफ्नो पक्षमा मतदान गरी विजयी बनाउने अपील पनि गरे। आफ्नो चुनावी प्रचार अभियान शुरु गर्नअघि उनले धोत्रेस्थित कर्म साङ्डुप धार्गे छ्योलिङ गुम्बा र शिव मन्दिरमा पूजा अर्चना गरेका थिए।
यसअवसरमा विनयपन्थी गोजमुमोका नेताद्वय सतीश पोखरेल र आलोक कान्तमणि थुलुङलगायत अन्य पदाधिकारी तथा हिल तृणमूल कङ्ग्रेसका नेताहरूको उपस्थिति थियो।