कालेबुङ, 27 अप्रेल : शुक्रवार राष्ट्रिय राजमार्ग 10-मा बाइक दुर्घटना भएको घटना प्रकाशमा आएको छ। यो दुर्घटनामा बाइक सवार पूर्णबहादुर राई (42)-को घटनास्थलमा नै मृत्यु भएको थियो भने आज कालेबुङ अस्पतालमा पोस्टमर्टम गरी शव परिवारलाई सुम्पिएको छ।
पुलिसले दिएको जानकारीका अनुसार यो घटना हिजो अपराह्न 1 बजे कालेबुङ थानाको रम्फू पुलिस चेकपोस्टअन्तर्गत् पर्ने तारखोलामा भएको हो। दुर्घटनामा परी कालेबुङ जिल्लाको साङ्से योग्दा निवासी पूर्णबहादुर राईको घटनास्थलमा नै मृत्यु भएको हो।
जानकारीका अनुसार राई डब्ल्यूबी 79/1617 नम्बरको एनफिल्ड बाइकमा चढ़ेर साङ्सेबाट रम्फू गइरहेका थिए। बाटोमा ओभरकेट गरी आफू अघिको वाहनलाई जितेर अघि बढ़ेको बेला विपरीत दिशाबाट सोझै आइरहेको अर्को वाहनदेखि जोगिँदा राई दुर्घटनामा परेको बताइएको छ।
बाइक सोझै सड़क किनारको नाली गएर लड़्दा राईको शिरमा गहिरो चोट लागेको थियो, जसको कारण उनको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनाबारे जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको रम्फू पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टमका लागि कालेबुङ जिल्ला अस्पताल पठाएको थियो।