सिलगढ़ी, 27 अप्रेलः कोरोना सङ्क्रमित भई हाल डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा उपचाराधीन रहेका पाँचजनामध्ये तीनजनाको टेस्ट नेगिटिभ आएको छ।
आज बिहान टेस्ट नेगिटिभ आएकाहरूमा तीनधारेनिवासी नर्स तथा सिलगढ़ीनिवासी नर्स र उनकी आमा रहेका छन्।
यद्यपि सिलगढ़ीनिवासी ती नर्सका पति र दुई वर्षे छोरोको टेस्ट भने पोजिटिभ पनि बताइएको छ।
उनीहरू सबैको पुनः अर्को टेस्ट गरिने बताइएको छ। अर्को टेस्ट पनि नेगिटिभ आएपछि उनीहरूलाई अस्पतालबाट छुट्टी दिने सम्भावना छ।
स्मरणरहोस्, उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कार्यरत् यी दुवै नर्स कालेबुङनिवासी कोरोना सङ्क्रमित महिलाको सम्पर्कमा आएको कारण सङ्क्रमित बनेका हुन्। किनभने दुवै नर्स कालेबुङनिवासी ती महिलाको उपचारमा खटिएको मेडिकल टिममा सामेल थिए।
जानकारीका अनुसार तीनधारेनिवासी नर्सको छैटौं टेस्ट आज नेगिटिभ आएको हो। यसभन्दा अघि लगातार पाँचपटक उनको टेस्ट पोजिटिभ आएको थियो।
अर्कोतिर, सिलगढ़ीनिवासी नर्सको तेस्रो टेस्ट नेगिटिभ आएको हो। यसभन्दा अघि उनको लगातार दुई टेस्ट पोजिटिभ आएको थियो।
उल्लेखनीय छ, पछिल्लो 6 अप्रेलका दिन तीनधारेनिवासी नर्सको कोरोना टेस्ट पोजिटिभ आएको थियो। त्यसपछि उनी केही दिन उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमै उपचाराधीन रहेपछि पछि डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा सारिएको हो।
त्यसैगरी सिलगढ़ीनिवासी नर्सको पछिल्लो 12 अप्रेलका दिन कोरोना टेस्ट पोजिटिभ आएको थियो। यसपछि 13 मार्चका दिन उनका पति र 14 अप्रेलका दिन उनकी आमाको कोरोना टेस्ट पोजिटिभ आएको थियो।
उनका दुई वर्षे छोरोको कोरोना टेस्ट भने 22 अप्रेलका दिन पोजिटिभ आएको हो।
आज दोस्रो टेस्ट पुनः पोजिटिभ आए तापनि बालकको अवस्था स्थिर रहेको अस्पताल सूत्रले बताएको छ।