दार्जीलिङ, 27 अप्रेलः दार्जीलिङमा कोरोना सङ्क्रमित थप एकजना 46 वर्षीय व्यक्तिको मृत्यु भएको दार्जीलिङ जिल्ला अस्पतालका स्वास्थ्य अधिकारी डा. एस. चन्दाले जानकारी गराएका छन्।
यसका साथै दार्जीलिङ जिल्लामा कोरोनाको दोस्रो लहरका कारण मृत्यु हुनेहरूका सङ्ख्या 7 पुगेको छ।
उनका अनुसार ती व्यक्तिको आज बिहान करिब 6 बजी मृत्यु भएको छ। जानकारीका अनुसार मृतक दार्जीलिङ नगरपालिका क्षेत्र गड्डीखाननिवासी हुन्।
“उनलाई हिजै अबेर राति दार्जीलिङ जिल्ला अस्पतालमा भर्ना गरिएको थियो, तर केही घण्टापछि मृत्यु भयो” डा. चन्दाले थपे, “उनको अक्सिजन लेबल (सेच्युरेशन) 37 प्रतिशत मात्र थियो। अहिलेसम्म दार्जीलिङ जिल्ला अस्पतालमा जतिजना पनि कोविडका कारण मृत्यु भएका छन्, उनीहरूको अक्सिजन लेबल 40 प्रतिशतभन्दा कम्ती नै थियो।”
यसका साथै उनले मानिसहरूलाई मास्कको लगाइरहने, शारीरिक दुरीको नियमलाई पालन गर्ने, अनावश्यक कार्यमा बाहिर ननिस्कने, भीड़भाड़का क्षेत्रहरूमा जानदेखि बच्ने सुझाएका छन्।