सिक्किमका मुख्यमन्त्रीमा २५ वर्षपछि नयाँ अनुहार, पीएस गोलेले लिए शपथ

0
1923
आफ्नो कार्यकक्षमा मुख्यमन्त्री पीएस गोले।

गान्तोक, 27 मई : सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-का अध्यक्ष पीएस गोलेले सोमबार सिक्किमका मुख्यमन्त्रीको रूपमा पद एवं गोपनीयताको शपथ लिए। राज्यका राज्यपाल गङ्गा प्रसादले उनलाई पाल्जर स्टेडियममा शपथ ग्रहण गराए।

आज मुख्यमन्त्रीको रूपमा शपथ लिएसँगै उनी सिक्किमका छैटौं मुख्यमन्त्री बनेका छन्। उनीसँगै मन्त्रिपरिषद्का 11 सदस्य क्रमैले कुङ्गा निमा लेप्चा, सोनाम लामा, बेदुसिंह पन्त, डा. मणिकुमार शर्मा, अरुण कुमार उप्रेती, साम्डुप लेप्चा, लोकनाथ शर्मा, कर्मा लोडे भोटिया, मिङ्मा नर्बु शेर्पा, भीमहाङ सुब्बा र सञ्जीत खरेलले पनि पद एवं गोपनीयताको शपथ लिए।

शपथ ग्रहण कार्यक्रममा सामेल हुँदै पूर्व मुख्यमन्त्री बीबी गुरुङ।

‘हामी लुकेर होइन, तर खुल्ला रूपमा शपथ ग्रहण गर्नेछौं’ गोलेको भनाइअनुरुप आज पाल्जर स्टेडियममा शपथ ग्रहण कार्यक्रम आयोजन गरी थियो, जहाँ पूर्व मुख्यमन्त्री बीबी गुरुङ, गोलेकी आमा धनमाया तामाङलगायत पत्नी तथा अन्य विशिष्ठ व्यक्तिहरू एवं एसकेएम समर्थकहरू व्यापक मात्रामा जुटेका थिए।

यद्यपि भ्रष्टाचारमा संलिप्त रहेको आरोपमा दोषी प्रमाणित भई एकवर्ष जेल सजाय भोगेर छुटेको वर्ष दिन नबित्दै जनप्रतिनिधि ऐनको प्रावधान तथा आशय र सर्वोच्च न्यायालयको निर्णयलाई नजरअन्दाज गरी सम्बन्धित निकायले पीएस गोलेलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएको भन्दै सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ)-ले बहिष्कार गऱ्यो।

एसडीएफले शपथ ग्रहण कार्यक्रमली बहिष्कार मात्र गरेन, तर पीएस गोलेलाई शपथ ग्रहण गराइनु आश्चर्यजनक र दुर्भाग्यपूर्ण पनि बताएको छ।  

एसकेएम सरकारले जनताको सपनाअनुरूप काम गर्नेछ : गोले

शपथ ग्रहण कार्यक्रम बिहान 10 बजेदेखि शुरु भएको थियो। मन्त्रिपरिषद्का लागि 11 विधायकलाई चयन गरिए तापनि उनीहरूलाई विभाग भने अहिले नै वितरण गरिएको छैन। आजै मन्त्रिपरिषद्को पहिलो बैठक आजै हुने बताए।

शपथ ग्रहण गरेपछि आजैदेखि मुख्यमन्त्री पीएस गोलेले आफ्नो कार्यभार सम्हालेका छन्। अर्कोतिर शपथ ग्रहणपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री पीएस गोलेले जनताको सपनाअनुरुप एसकेएम सरकारले काम गर्ने बताए।

उनले भने, ‘‘सम्पूर्ण सिक्कमे जनतालाई म हार्दिक बधाई र शुभकामना दिन चाहन्छु। जुन प्रकारले सम्पूर्ण सिक्किमे जनताले सिक्किम क्रान्तिकारी मोर्चालाई विश्वास गरेर, आस्था राखेर सरकार चलाउने अनुमति दिए। हामी उनीहरूको सपनाअनुरुप काम गर्नेछौं।’’

उनले थप भने, ‘‘सिक्किममा भोटे-लेप्चा, नेपाली र व्यापारी एक भएर अब बाँच्न पाउनेछन्।  सिक्किममा एकदमै शान्ति कायम रहनेछ र सम्पूर्ण सिक्किमे जनताको विकास हुनेछ भन्ने म सन्देश दिन चाहन्छु।’’

सिक्किमका छैटौं मुख्यमन्त्री बनेका पीएस गोले को हुन्?

पश्चिम जिल्लाको सोरेङ अन्तर्गत सिङ्लिङ गाउँमा 5 फरवरी 1968 को दिन कालुसिंह तामाङ र धनमाया तामाङको कोखबाट जन्मिएका प्रेमसिंह तामाङ गोले सिक्किमको पछिल्लो राजनीतिमा चर्चित अनुहार हो।

दार्जीलिङ सरकारी महाविद्यालयबाट स्नातकसम्म अध्ययन गरेका गोले शिक्षण पेशा छाडेर सक्रिय राजनीतिमा आएका हुन्। अध्ययन सकेर दार्जीलिङबाट गाउँ फर्केपछि उनी सन् 1990 मा पश्चिम सिक्किमको याङसुम विद्यालयमा शिक्षकको रूपमा नियुक्ति पाए। उक्त विद्यालयमा उनले करिब तीन वर्ष शिक्षकको रूपमा कार्य गरे।

पछि पवन चामलिङको नेतृत्वमा सन् 1993 मा सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टी गठन भएपछि शिक्षण पेशा छाडेर गोले सक्रिय राजनीतिमा प्रवेश गरेका थिए।

4 मार्च 1993 सालमा एसडीएफ पार्टी स्थापना हुँदा उनी यो पार्टीको संस्थापक सदस्य थिए। राजनीतिमा सक्रिय भएपछि तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीको शिक्षा विभागले उनलाई शिक्षक पेशाबाट निष्कासित गरेको थियो।

त्यसपछि 1994 मा राज्य विधानसभाको चुनावमा प्रेमसिंह तामाङ गोले तत्कालीन च्याखुङ समष्टिबाट निर्वाचित भए। पहिलोपटक राज्य विधानसभा छिरेका उनी एसडीएफ सरकारमा पशुपालन, धर्म र उद्योग विभागका मन्त्री बने।

तामाङ समुदायबाट राज्यको मन्त्री बन्ने गोले सिक्किमकै पहिलो व्यक्ति थिए। 1999 मा गोले पुनः च्याखुङ समष्टिबाट दोस्रोपटक निर्वाचित भए। दोस्रो कार्यकालमा उनी पशुपालन र उद्योग विभाग मन्त्री भए।

त्यसपछि 2004 सालमा च्याखुङ समष्टिबाट लगातार तेस्रोपटक निर्वाचित भई भवन तथा आवास विभाग विभाग, खेलकुद तथा युवा मामिला विभागका मन्त्री बने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here