सिलगढ़ी, २७ मई : लोकसभा चुनाउमा भाजपाको ठूलो जीतको असर विपक्षी पार्टीहरूमाथि पर्न थालेको छ। लोकसभाकै प्रदर्शनको कारण भाजपामा सामेल हुनेहरूको सङ्ख्या ह्वात्तै बढ़ेको छ। यसैक्रममा शहरका विभिन्न स्थानबाट आइतबार ३०० कार्यकर्ता भाजपामा सामेल भए।
भाजपामा सामेल हुने यी कार्यकर्ताहरू राज्यको शासक दल तृणमूल कङ्ग्रेसलगायत माकपा र कङ्ग्रेसका थिए। हिजो सिलगढ़ी नगरनिगमस्थित सुकान्तनगर अटो स्ट्यान्डमा एक कार्यक्रमबीच उनीहरूले भाजपाको झण्डा समाएको बताइएको छ।
यसअवसरमा अपस्थित भाजपा सिलगढ़ीका साङ्गठनिक अध्यक्ष अभिजीत राय चौधरीले सामेल कार्यकर्ताहरूलाई झण्डा प्रदान गरी भाजपामा स्वागत जनाएका थिए। आफ्नो सम्बोधनमा उनले लोकसभा चुनाउमा भाजपाले होइन, तर देशले जितेको बताए। उनले सामेल हुनेहरूमा महिला धेरै रहेको र आगामी दिनमा पनि अन्य पार्टी त्यागेर भाजपामा सामेल हुनेहरूको घुइँचो लाग्ने दाबी गरे।
अर्कोतिर लोकसभामा प्राप्त ठूलो जीतको उत्सव मनाउँदै भाजपाले सिलगढ़ी र नक्सलबारीमा विजयी ऱ्याली निकाल्यो। ऱ्यालीमा भाजपा कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको थियो।