पहाड़का नगरपार्षद्हरूले राजीनामा दिनुपर्ने गोरामुमोको माग

0
1932
गोरामुमो नेता अजय एड्वर्ड ।

दार्जीलिङ, २७ मई : लोकसभा र विधानसभामध्ये एउटै पनि चुनाउ हारेमा राजनीतिबाट संन्यास लिनेछु भन्ने गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले घोषणा-पत्रमा उल्लिखित ३१ वटा मुद्दामा काम गर्नेछु भन्ने दाबीलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले पत्याएको छैन।

उल्लेखनीय छ, पछिल्लो विधानसभा उपचुनाउको चुनाउ प्रचारको क्रममा तामाङले लोकसभा र विधानसभा चुनाउमध्ये आफ्नो दल कुनै एक चुनाउमा हारेको खण्डमा आफूले राजनीतिबाट संन्यास लिने घोषणा गरेका थिए।

यद्यपि उनको पार्टी दुइवटै चुनाउमा नराम्रो घतले पराजित भयो। चुनाउमा पराजित भएपछि विनयले हिजो पत्रकारहरूलाई सम्बोधन गरे। पत्रकारहरूलाई सम्बोधन गर्नअघि विनयनेतृत्व गोजमुमो दोस्रो खेमाको केन्द्रिय समितिको समीक्षा सभा बसेको थियो, जुन सभामा हारमाथि समीक्षा गरिएको थियो।

हिजो पत्रकारहरूलाई सम्बोधन गर्दा उनले संन्यास लिने घोषणा त गरेनन्, तर भाका फेर्दै राजनीतिबाट संन्यास नलिने र घोषणा-पत्रमा उल्लिखित ३१ वटा मुद्दाको समाधानका लागि पहल गर्ने दाबी गरे।

आज गोरामुमो स्टेरिङ कमिटीका सदस्य अजय एड्वर्डले विनयमाथि यसै दाबीलाई लिएर कटाक्ष गरे। उनले भने, “विनय तामाङले संन्यास लिन्छु भन्दै थिए, तर संन्यास लिएनन्। उनले संन्यास लिनेछैनन् भन्ने हामीले सोचेका थियौं। संन्यास लिन्छु भन्ने वचन त उनले पूरा गरेनन्, ३१ वटा मुद्दा समाधान गर्छु भन्ने दाबीलाई हामी भरोसा गर्दैनौं।”

यी गोरामुमो नेताले जीटीएसँगै दार्जीलिङ, खरसाङ, कालेबुङ र  मिरिकका नगरपार्षद्हरूले राजीनामा दिनुपर्ने कुरा दोहोऱ्याए।

पछिल्लो विधानसभा र लोकसभा चुनाउमा उल्लिखित सबै ठाउँका वार्डहरूमा तृणमूल-विनयपन्थी गोजमुमोको गठजोड़ पराजित भएकोले ती नगरपार्षद्हरूको जनाधार छैन भन्ने कुरा प्रमाणित भएकोले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनले बताएका छन्।

यदि उनीहरूले राजीनामा नदिए दल परिवर्तनको विकल्प रहेको खुलाए। “हामीले पछिल्ला दुइवटै चुनाउ हेऱ्यौं, उनीहरूले दार्जीलिङ, कालेबुङ, खरसाङ र मिरिकका एउटै वार्ड पनि जितेका छैनन्। यसको अर्थ यी नगरपालिकाका नगरपार्षद्हरूसँग जनताको समर्थन छैन रहेछ”, एड्वर्डले थपे, “यदि उनीहरूसँग स्वाभिमान छ भने राजीनामा दिनुपर्छ। उनीहरूले दल परिवर्तन गर्ने कि राजीनामा दिने भन्नेबारे सोच्ने समय आएको छ।”

यसका साथै उनले अनित थापाले पनि जीटीए छोड़्नुपर्ने बताएका छन्। थापाहरूले जीटीए चाँड़ोभन्दा चाँड़ो नछोड़े पहाड़मा अशान्ति हुनसक्ने आशङ्का उनको छ।

“लोकतन्त्रमा जनताको मत सर्वोपरी हुन्छ। जनताले जीटीए बस्न रुचाएका छैनन्। तपाईंहरू (विनवय-अनित)-ले पहाड़ शान्ति राख्नुपर्छ भन्नुहुन्छ’’, उनले थपे “यदि पहाड़ शान्ति राख्न भने जनमतलाई स्वीकार जीटीएबाट छिटोभन्दा छिटो राजीनामा दिनुपर्छ।”

उनका अनुसार गोरामुमोले दार्जीलिङ पहाड़को समस्याको स्थायी राजनीतिक समाधानका लागि भाजपाका विजयी उम्मेदवार राजु विष्टलाई चाप दिन शुरु गरेको छ। यसका साथै स्थायी समाधान छैटौं अनुसूचीभन्दा सानो नहोस् भन्ने गोरामुमोको अड़ान रहेको बुझाए।

गोर्खाल्याण्ड भए त्योभन्दा ठूलो कुरा केही नहुने र यूटी नै दिए पनि गोरामुमोले स्वीकार्ने उनको भनाइ छ। साथै अबको पाँच वर्षभित्र भाजपाले दार्जीलिङ पहाड़को समस्याको स्थायी राजनीतिक समाधान गर्ने दिशामा पहल कुरामा गोरामुमो आशावादी रहेको पनि यी गोरामुमो नेताले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here