नाट्य कलाकार शान्ति छेत्रीको निधन

0
1337

दार्जीलिङ, 27 मईः दार्जीलिङका प्रतिष्ठित नाट्य कलाकार शान्ति छेत्रीको निधन भएको छ। उनी 65 वर्षकी थिइन्।

जानकारीका अनुसार दार्जीलिङ जिल्ला अस्पतालमा उपचाराधीन अवस्थामा हिजो राति उनको निधन भएको हो। हिजै उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।

सेन्ट टेरेजा स्कूलकी भूतपूर्व शिक्षिकासमेत रहेकी शान्ति छेत्री दार्जीलिङको नाट्य क्षेत्रका चर्चित नाम हुन्। उनी अभिनय गर्नमा पोख्त र प्रतिबद्ध थिइन्।

उनले दर्जनौँ नाटकमा अभिनय गरेकी छन्, जसमा मनबहादुर मुखियाका अनि देवराली रुन्छ, क्रसमा टाँगिएको जिन्दगी, फेरि इतिहास दोहोरिन्छअसत्यम्, अशिवम्  असुन्दरम्, मोहन पुकारका नाटक बन्दुक, आपद, विपद, सङ्कट, किरण ठकुरीका नाटक अमर आत्मा, व्यापार, ओ दार्जीलिङ र जय महाकाल आदि प्रमुख छन्।

यसैगरी उनले चत्रचित्र उजेली  र मोहन पुकारको वृत्तचित्र नभन्नु है कसैलाई मा पनि अभिनय गरेकी छन्।

यति मात्र होइन शान्ति छेत्रीले चत्रचित्र परालको आगोको गीत गलबन्दीको तुना…. गीतमा नृत्य पनि गरेकी छन्।

अनि देवराली रुन्छ नाटकमा शान्ति छेत्री, मेनुका प्रधान र मरियममित लेप्चा।

शुरूदेखि हिमालय कला मन्दिरसँग जड़ित रहेकी उनी शुरूमा नृत्याङ्गना थिइन्। नृत्यमा पनि उनी उत्तिकै पारङ्गत थिइन्। पछि नाट्य कलाकारको रूपमा चर्चित भइन्।

70 र 80-को दशकको उत्तरार्धसम्म दार्जीलिङको नाट्य क्षेत्रमा मेनुका प्रधान, निना प्रधान, मरियममित लेप्चा र शान्ति छेत्रीहरू पनि सक्रिय थिइन्।

त्यसताक दार्जीलिङका प्रायः प्रायः जम्मै नाटकमा यी चारैजना कलाकारको अभिनय रहनेगर्थ्यो।

शान्ति छेत्रीले आफूपछि पति शनी थामी र दुई छोरी/ज्वाइँ  छाड़िगएकी छन्। उनका पति शनी थामी पनि नाट्य कलाकार नै हुन्।

अर्कोतिर, शान्ति छेत्रीको निधनमा संयुक्त कलाकार मञ्च र हिमालय कला मन्दिर दार्जीलिङले गहिरो शोक प्रकट गरेको छ।

उल्लेखनीय छ, पछिल्लो आठ दिनभित्र दार्जीलिङले दुईजना चर्चित नाट्य कलाकार गुमाएको छ। पछिल्लो 20 मईका दिन गायिका एवं अभिनय कलाकार रोना छेत्रीको पनि निधन भएको छ।

अनि देवराली रुन्छ नाटकमा शान्ति छेत्री, मेनुका प्रधान, मनबहादुर मुखिया र अल्का प्रसाद।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here