जीटीए चुनाउको अधिसूचना जारीः २६ जूनमा मतदान, नामाङ्कन भर्ने अन्तिम मिति ३ जून

0
849

दार्जिलिङ, २७ मईः पहाडका बहुसङ्ख्यक दल विरोधमा रहे तापनि राज्य सरकारले जीटीए चुनाउको अधिसूचना जारी गरेको छ।

आज जारी अधिसूचनाका अनुसार मतदान आउँदो २६ जूनका दिन बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म सम्पन्न हुनेछ।

जीटीए चुनाउका लागि नामाङ्कन बुझाउने अन्तिम तारिख ३ जून रहेको छ। ४ जूनका दिन स्क्रुटिनी हुनेछ। नामाङ्कन फिर्ता लिने अन्तिम तारिख ६ जून रहेको छ। मतगणना २९ जूनका दिन हुनेछ।

स्मरण रहोस्, पछिल्लो २४ मईका दिन जीटीए चुनाउलाई लिएर डाकिएको सर्वदलीय बैठकपछि जीटीए चुनाउ अधिकारी एवं जलपाइगढ़ीका डिभिजनल कमिश्‍नर एआर बर्द्धनले आउँदो २६ जूनका दिन जीटीए चुनाउ हुने घोषणा गरेका थिए। त्यसै दिन उनले जीटीए चुनाउको अधिसूचना २७ मईका दिन जारी हुने जानकारी पनि गराएका थिए।

अर्कोतर्फ पहाडका धेरैजसो दल जीटीए चुनाउको विरोधमा देखिएको छ । राज्य सरकारले पहाडका जनाकाङ्क्षाविरुद्ध राज्य सरकारले जबर्जस्ती जीटीए चुनाउ गराउन खोजिरहेको यी दलहरूका आरोप छ।

जीटीए चुनाउविरुद्ध नै गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङ आमरण अनशनमा बसेका छन्। अनशनको आज तेस्रो दिन हो । गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो), क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा), अखिल भारतीय गोर्खा लिग (अभागोली), भारतीय जनता पार्टी (भाजपा), भारतीय गोर्खा सुरक्षा परिषद् लगायत अन्य दलले पनि जीटीए चुनाउको विरोध गरिरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here