दार्जीलिङ, 27 जून : दार्जीलिङको जलपहाड़स्थित गोर्खा रिक्रुटिङ डिपो र गोर्खा रेकर्ड अफिस अन्यत्रै सार्ने खबरबीच यो मामिलालाई लिएर बिहीवार दार्जीलिङका सांसद राजु विष्टले रक्षा मन्त्री राजनाथ सिंहलाई भेटे।
रक्षा मन्त्री सिंहसँगको भेटवार्तामा सांसद विष्टले दार्जीलिङस्थित गोर्खा रिक्रुटिङ डिपो र गोर्खा रेकर्ड अफिसको महत्त्वबारे बुझाउनका साथै यो मामिलाबारे हस्तक्षेप गरिदिने माग गरे। विष्ट स्वयंले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएअनुसार आजको भेटवार्तामा उनले रक्षामन्त्रीलाई जीआरडी गोर्खा विरासतको एक महत्त्वपूर्ण अंश रहेको र यससँग गोर्खा समुदाय कसरी सम्बन्धित छन्, त्यसबारे अवगत गराए।
विज्ञप्तिका अनुसार उनले आज रक्षामन्त्रीलाई दार्जीलिङमा जीआरडी स्थापित हुनुको तक्निकी महत्त्व तथा यसमार्फत् भारतीय सेनामा गोर्खाहरूको नियुक्तिबारे जानकारी गराएका थिए। सांसद विष्टका अनुसार सिंहले यसबारे चाँड़ोभन्दा चाँड़ो जाँच गर्ने आश्वासन दिएका छन्।
उल्लेखनीय छ, जलपहाड़स्थित गोर्खा रिक्रुटिङ डिपो र गोर्खा रेकर्ड अफिस अन्यत्रै सार्ने खबर चुलिएपछि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा र विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाले रक्षा मन्त्री राजनाथ सिंहको ध्यानाकर्षण गराएका थिए।
भारतीय जनता पार्टीका सहयोगी यी दुवै पार्टीले रक्षामन्त्रीलाई जीआरडीलाई अन्यत्रै सार्ने निर्णयमा पुनर्विचार गरिनुपर्ने तथा जीआरडीलाई जलपहाड़मा यथावत राखिनुपर्ने माग गरेका थिए।
यससम्बन्धमा केही दिनअघि विमलपन्थी गोजमुमोका महासचिव रोशन गिरीले रक्षामन्त्रीलाई पत्राचार गरेका थिए भने गोरामुमोले पछिल्लो 23 जूनको दिन दार्जीलिङमा पत्रकार सम्मेलन आयोजन गरी जीआरडीलाई कतै सार्न नहुने माग गरेका थिए।