दार्जीलिङ, २७ जूनः कोभिड-१९ -को वैश्विक प्रकोपलाई ध्यानमा राखेर गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाले पछिल्ला तीन महिना ‘राजनीतिक गतिविधि’ -लाई पर राखेर पूर्ण रूपले ‘सेवा कार्य’ गरेको केशवराज पोखरेलले दावी गरेका छन्।
यी विनयपन्थी नेताको दावीका अनुसार यसअवधि पार्टीका ५०० कार्यकर्ता स्वयंसेवक बनेर पूर्ण रूपमा सेवा कार्यमा खटिएका छन्।
कोभिड-१९ सङ्क्रमणको शुरूमै बसेको केन्द्रीय समिति बैठकमा लिइएको निर्णयअनुसार पार्टीलाई हेल्प डेक्समा परिणत गरिएको तर यस्तो यस्तो निर्णयलाई मीडियामा नल्याएको उनको भनाइ छ।
यसअवधि उनले कोरोना भाइरसविरुद्ध अग्रिम मोर्चामा रहेर कार्य गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।
पार्टी आफूले गरेका कार्यहरूका प्रचारभन्दा सेवा कार्यमै समर्पित बनेर कार्य गरिरहेको ठोकुवा गरेका उनले आफ्नो पार्टीले गरिरहेको कार्यलाई जनताले बुझिसकेको बताएका छन्।
“आफ्नै गाउँमा हुर्के बढ़ेका दाजु-भाइ छोराहरू नै चाहिँदो रहेछ भन्ने अनौठो सिक हामीलाई दिएको छ। प्रशासनिक कुरा गर्दा पनि आफ्नै व्यक्तिले चलाएको व्यवस्थाले नै काम मात्र होइन तर दिलोज्यान नै लगाएर खट्दो रहेछ भन्ने बुझाएको छ”, पोखरेलले भने।
यसअवसरमा उनले अनित थापा-विनय तामाङकै नेतृत्वमा विकसित र स्वच्छ दार्जीलिङ पहाड़को निर्माण हुने दावी गरे। यसैबीच, उनले त्रिवेणी अस्पतालका लागि राज्य सरकारले स्थायी स्वास्थ्यकर्मीहरूका नियुक्ति पहल गरिसकेको पनि जानकारी गराए।
उनका अनुसार पछिल्लो बुधबारका दिन कोलकातामा कोभिड-१९ लाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीले डाकेको सर्वदलीय बैठकमा त्रिवेणी अस्पतालमा अस्थायी स्वास्थ्यकर्मीहरूको नियुक्तिलगायत अन्य माग पार्टी अध्यक्ष विनय तामाङले राखेका थिए।
अर्कोतिर केशवराज पोखरेलले एक प्रश्नको जवाफमा राजु बिष्टले कोरोना भाइरसलाई रोक्न कुनै काम नगरेको तर यसको विपरीत चुनाउ प्रचार भने गरिरहेको बताए।
“सांसदले काम गरेको हामीले देखेको छैन। हो प्रेस रिलिजचाहिँ उनले धेरै गरे। प्रेस रिलिज धेरै भएपछि नमच्चिने पिङको सय झट्का भने लाग्छ मलाई। खहरे खोला धेरै करायो। रित्तो गाग्री धेरै बज्यो”, पोखरेलले थपे, “जुन गाग्री भर्ती थियो, उ चाहिँ यो पहाड़का लागि सबैलाई नमस्ते गर्दै, खुट्टा ढोग्दै हिड़िरहेका छन्।”
यसैगरी उनले कोरोना भाइरसको प्रकोप समाप्त नभइञ्जेल मोर्चा (दोस्रो खेमा) -ले यसरी नै कार्य गरिरहने पनि बताएका छन्।