भानुभक्तीय रामायण र वर्तमान समय

1
1544

-उदय थुलुङ

यहाँको  पुरानो भाषिक र सामाजिक इतिहासमा अथवा अङ्ग्रेजको समयले भन्ने गरेको कुल्लीको भाषाको जमानामा भानुभक्तीय रामायणको सरल नेपाली भाषिक रूपको आवागमन हुनु बढ़ो सुखद बेला मानिन्छ।  आ-आफ्नो जात र सम्प्रदाय, थरको बोली-भाषाको प्रचलनले प्राथमिकता पाइरहेको रैथाने समाजमा भानुभक्तीय रामायण भित्रिएपछि अध्यात्म र भक्ति, भाषा र साहित्य, संस्कार र परम्पराको  क्षेत्रमा एकात्मकता र विकासको गति लिएको हो। भानुभक्त सगुण रामका अनन्य भक्त भएकाले उनको अद्वैतवादी विचार उनको रामायणमा हुनु र त्यस विचार भक्ति र आदर्श सरल भाषिक माध्यमले, छन्दोबद्ध-लयात्मक श्लोकको सहायताले नेपाली समाजमा प्रक्षेप हुनु भानुभक्तीय रामायणको क्रान्तिकारी योगदान मान्नुपर्छ। नेपाली समाजको युगानुकूल आवश्यकतालाई बुझेका भानुभक्तका  रामायण, बधुशिक्षा, प्रश्नोत्तरमाला आदि रचनाहरू समाजलाई सुधारको मार्गमा लैजान रचिएका हुनाले युगीन क्रान्तिका लागि युगीन महत्त्वका रचनाहरू ती भए; यस युगमा भानुभक्तलाई प्रगतिशील प्रवृत्तिले डोऱ्याएर मात्र होइन, समयले उनलाई यस प्रवृत्तितर्फ डोऱ्यायो।

चियाबारी, कुलैनबारी र वनबस्तीतिर खटिखाने भूमिपुत्रहरूका लागि  आर्थिक जोगाड़ र परिवार भरण-पोषणका लागि खटिखानु नै जीवनको लक्ष्य रहेको बेला दार्जीलिङ क्षेत्रमा अङ्ग्रेजी शासन व्यवस्था र अङ्ग्रेजी भाषा व्यवहारको ठूलो प्रभाव थियो। अङ्ग्रेज शासकहरूको संसर्गमा परेका सचेत, शिक्षित व्यक्तिहरूले दार्जीलिङका भूमिपुत्रहरूका  सामाजिक र साहित्यिक प्रगति गर्नलाई  एउटा सरल, सुगम अनि परिष्कृत भाषाको आवश्यकताबोध गरे। मिशिनरीहरूका समानान्तर हिन्दू अध्यात्मिक चेतना  प्रदान गर्ने प्रयास भइरहेको बेला मोतीराममार्फत परिचित भानुभक्तको रामायण दार्जीलिङे समाजमा भित्रियो। सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा, पारसमणि प्रधान प्रभृति विद्वान् र समाज सुधारकहरूका प्रयासमा दार्जीलिङे समाजले नवयुगको सास फेर्ने अवसर प्राप्त गऱ्यो।

रामायणले सजिलो प्रकारले मानिसको सिधा-सोझो मानसिकतामा छाप हाल्यो। एकापट्टि रामभक्तिको भावनालाई सशक्त पाऱ्यो, अर्कोतर्फ नैतिक शिक्षा पनि प्रदान गऱ्यो। तमाम पात्रहरूका चरित्र चित्रण गर्दै चरित्रानुसार मान्छेले परिणाम भोग्नुपर्ने ज्ञान रामायणले प्रदान गऱ्यो, समाज र व्यक्तिको हित गर्ने आचारणलाई स्वीकार गर्दै अहित आचारणलाई त्याग गर्नुपर्ने नैतिक शिक्षा रामायणले प्रसार गऱ्यो। त्यसबेलाको समाजलाई रामायणका उपरोक्त सन्देशहरू अत्यन्त समय उपयोगी हुनपुगे। त्यसबेलाको समाजमा भानुभक्तीय रामायण किन यति धेरै ग्राह्य भयो भन्ने कुरामा  भानुभक्त स्मारक ग्रन्थमा अर्जुन समशेर जङ्गबहादुर राणा भन्छन्, ‘भानुभक्तको रामायणको हरेक पदबाट भक्तिरस तपतप गरी चुहुन्छ। भानुभक्तको रामायण अध्यात्म रामायणकै अनुवाद भए तापनि अध्यात्म रामायणका धेरै श्लोकहरूका गन्धै छैन। उनले रामायणलाई अर्कै रसमा ढाले। सामग्री त्यहींबाट लिए पनि आफ्नो मधुरशैलीमा ढालेकाले नै बढ़्ता लोकप्रिय भयो।‘ डा. लक्खीदेवी सुन्दासले पनि ‘भानुभक्तको रामायणको भाषा थियो-नेपाली समाजको भाषा’ भनेकी छन्। आफ्नै निजी जीवन र सीमित आवश्यकताहरूलाई साथ लिएर बाँच्ने गरेको जनमानसमा भानुभक्तको रामायणले राम-सीतालाई महानायक र नायिका बनायो। रामको भूमिमा राम राजा र उनीहरूले आफूलाई प्रजा ठाने। भानुभक्तीय रामायणले जति अरू कुनै रामकथा-कृतिले यहाँको समाजमा राम-सीता र सेवक हनुमानलाई पूज्य प्रसिद्ध बनाउन सकेन। उसबेला मरौ परेका घरमा रामायण वाचनको परम्परा थियो। समय कटाउने अरू साधनहरू नहुँदा रामायण वाचनले ठाउँ पाए होलान् अथवा दुःखको बेला रामनामको चर्चाले मृतात्मा र शोकाकुल परिवारले शान्ति पाउँछ भन्ने आस्था रहे होलान्। पछि मरौ पर्दा रामायण पढ़्नै पर्छ भन्ने परम्परा बस्यो। उसबेलाका मानिसहरूमा पौराणिक कथाहरूप्रति झुकाउ हुनु, भक्तिभाव अधिक हुनु तथा भानुभक्तीय रामायण मात्रै उसबेला सुलभ उपलब्ध हुनुले पनि रामायणले त्यस समय खुबै महत्त्व पायो।

भाषिक योगदान र भक्तिकै कारण पनि भानुभक्तीय रामायणमार्फत नेपाली समाजमा राम-सीताको चरित्रले महत्त्वपूर्ण स्थान पायो। व्यक्ति चरित्रदेखि पारिवारिक र सामाजिक अनुशासनसम्म पनि यही रामायणद्वारा प्रभावित थिए। त्यसबेलाका मानिसको मानसिक स्तर र चेतनाअनुरूप व्यावहारिकतालाई रामायणले सुगम मार्गमा डोऱ्यायो। रामकथा आजसम्म श्रद्धावान् रहनु वास्तवमा पूर्वजको बलियो आस्थाको प्रतिफल हो।

आज, समयको तक्निकीय विचलनसित समाजको मानसिकता, आवश्यकता र व्यावहारिकतामा पनि अपार परिवर्तन आयो। उत्तरआधुनिक समय, अध्यात्म र भक्ति, आचरण र अनुशासनसित फुल टाइमर भएर संसर्गी भइरहन सकेको छैन। पूज्य राम आजका उग्र नारीवादी समूहबाट आरोपित छन्। सीतालाई पनि रामको दासी भएकीमा दोष छ। रामायण अब नलेखिएर बरू त्यसको विनिर्माण, विपठन भइरहेको छ। रामसीताहरू मिथिकल उपस्थितिमा बाँचिरहेका छन् मात्र। आजका रचनाहरूमा राम र सीताको भूमिकालाई कुन अर्थमा मूल्याङ्कन गरिन्छ, यो कवितांशलाई हेरौँ-

“राम !

तिमी कहिलेसम्म परीक्षा लिन्छौ

आफ्नो विश्वासको, मेरो आस्थाको

तिम्रो स्वार्थको, मेरो त्यागको

तिम्रो अभिमानको, मेरो स्वाभिमानको

तिम्रो पलको, मेरो युगको

तिम्रो नामको, मेरो पूर्ण अस्तित्वको

तिम्रो सीताको, मेरो मनको नारीको

भन राम कहिलेसम्म दोहोऱ्याउन चाहन्छौ

यो रित तिम्रो रामायणमा?

आँखा खोल राम

परिवर्तनको दर्पणमा

दृश्य फेरिइसकेको छ।“

-सीता उवाच (कवि-समाश्री )

इतिहासको मृत्यु भन्ने समयले भूतकालबाट जीवनलाई ऊर्जा मिल्दैन भन्ने धारणा लिएकै कारण भानुभक्त र रामायण समाज विकर्षित हुँदै गइरहेझैँ लाग्छ। रामलीलाको पात्रको लीलालाई पात्रको अरिजिनलिटि थाहा पाएकै कारण दर्शकले पत्याउँदैनन्। अशुभ कार्य परेको घरमा रामको चर्चा नभएर क्षेत्रीयदेखि अन्तर्राष्ट्रिय स्तरको राजनीतिक चर्चा-परिचर्चा चल्छ; पुरस्कार र गीति एल्बमका कुरा चल्छ; झोड़ा र म्यास्टिकका कुरा चल्छ। समय यसरी,  जसरी भए पनि बित्छ। इलेक्ट्रोनिक मिडियाले, एनिमेशनले, सिरियलले रामायणलाई रामलीलाबाट उठाएर तरङ्गमा हिँड़्ने बनाए। इलेक्ट्रोनिक मिडिया र तक्निकीले रामायणीय पात्र-पात्राका चरित्रहरूलाई, आदर्श र व्यवहारहरूलाई  अभिनयसम्म सीमित राख्यो। रामको कथालाई, हनुमानको स्वामीभक्ति र पराक्रमलाई आजकलका पिँढ़ीले हेरिपोटर, हलोम्यान, स्पाइडरम्यान-को चर्तिकला जस्तो सम्झन थाले। यसो हुँदा यस पिँढ़ीमा हनुमान एउटा स्वैरकल्पनाको उपजजस्तो हुनथाल्यो अथवा ‘म्याजिकरियालिटि’-प्रस्तुत गरेर देखाउने एउटा सबल पात्रजस्तो हुनथाल्यो।

भानुभक्तीय रामायणप्रति उदासीनताका केही जिम्मेवार तथ्यहरू यसप्रकार हुन सक्छन्-

-मान्छेको व्यस्त समयमा महाकाव्यीय कथालाई पढ़िरहने फुर्सत नहुनु;

-शार्दुलविक्रीडित, इन्द्रवज्राजस्ता छन्द र लय हालेर वाचन गर्ने वाचकहरूका कमी हुनु, वाचन क्रिया भानुजयन्तीमा मात्रै सीमित रहनु,  अथवा वाचक बरो गरिनु, वाचनमा बाजा-गाजाको सुर र ताल नहुनु;

-यतातिर भानुभक्तकै उपस्थितिप्रति राजनीतिक विवाद उठ्नु;

-आध्यात्मिक गुरुहरूका उत्थानले मण्डली र झुण्डहरूका विस्तार हुनु, शुभ-अशुभ कार्यतिर यी मण्डलीहरूले आफ्नै तौरतरिकाअनुसार आध्यात्मिक भजनहरू सम्पन्न गर्नु;

-भानुभक्तीय रामायणको नेपाली भाषाले ठाउँ पाएपछि अरू साना भाषाहरू सीमान्तकृत भएको बोध गरिनु र वर्तमान समयमा यी  सीमान्तकृत भाषाहरूका साहित्य र संस्कृतिको विकासतिर धेर ध्यान केन्द्रित हुनु।

समय सान्दर्भिकता अनुसार भानुभक्त कि रामायण प्रमुख? भन्ने तर्क उठ्छ। भानुभक्त, जयन्तीसम्म चर्चित भइरहेका छन् र रामायणका पात्रहरू मन्दिरहरूमा स्थापित भई सुरक्षित छन्।  यी पात्र-पात्राहरूका चारित्रिक आदर्शहरू आजको समाजले विनिर्मित र विघटित संरचनामा ग्रहण गरेको छ। रावण आज पनि कुनै बसगाड़ीमा, रेलगाड़ीमा, मोटरबाइक वा अटोरिक्शामा बसेर सीताहरू ढुक्ने गर्छ। सीता पनि अत्याचार सहन नसक्ने र पुरुष वा स्वामीको दासत्वको विरोध गर्ने भइसकेकी छे। समयले रामायणमा व्याप्त मायालाई तक्निकी एनिमेशनमा परिणत गरिदिएपछि अलिकति बाँचेको मानवीय संवेदनशीलता र भावलाई समेत दुर्बल बनाइदिएको छ। तर, आज यस्तो स्थितिमा पनि दार्जीलिङे नेपाली समाजको एउटा असल गुण छ-कसैकहाँ दशकौँ पुरानो, ध्वाँसो लागेको रामायणको ठेली भेटिएमा श्रद्धाले धर्मग्रन्थलाई जस्तै समातिन्छ र रामायणका पुराना श्लोकहरूलाई नयाँ जिब्रोले अप्ठ्यारोसितै भए पनि मीठो गरी उच्चारण गर्नेगरिन्छ।

(मङ्पु)

1 टिप्पणी

  1. अत्यन्त सारगर्भित र महत्वपूर्ण प्रस्तुति। भानुभक्तीय रामायण लेखनकालका सामाजिक, आर्थिक राजनैतिक परिस्थितिहरुलाई झण्डैं झण्डै तुलनात्मक रूपमा आलोचनात्मक विश्लेषण गर्ने प्रयास प्रशंसनीय र आउँदो पीढीको निम्ति दिशा निर्देश प्रमाणित हुने छ।
    भानुभक्तले तत्कालीन सम्पर्क जनभाषा नेपाली भाषालाई आधार मानेर नेपाली भाषाभाषीमा रामायणको आदर्श प्रसार हुँदा अरु भाषा भाषीको संजातीय भाषा प्रेम प्रति चासो भएको उल्लेख गरिनुले सामाजिक सांस्कृतिक विरोधाभास र द्वान्द्वको प्रश्नहरूलाई लेखकले महत्वपूर्ण मान्नु भएको बुझिन्छ। र यो बुझाईको झुकाउहरु भनेको अन्तर्वाह्य सान्दर्भिकता र क्रमबद्ध अध्ययनको दिशानिर्देश हुने गर्दछ।
    यो लेख अत्यन्त उपयोगी विश्लेषणात्मक अध्ययनको उपज हुने गर्दछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here