-प्रभात राई चिसो
यो निरन्तर घुमिरहेको व्यस्तताको काँटा
फुर्सदमा एकक्षण आइपुग्दा
एकमुठी जिन्दगी उठाएर
प्राप्ति-अप्राप्तिका औँलाहरूले केलाउँछु कहिलेकाहीँ।
सफलताका अलिकति कनिका
विफलताका केही बियाँहरू छुट्याएपछि
धेरै रहन्न मुठाउनलाई।
जीवनको मूलसड़कमा
कति दलाल चोरबाटाहरूले बोलाए
तर आत्मसन्तुष्टिको माइलखुट्टी हेर्नुथियो मलाई
आँखाको मोथ झूटो प्रकाशमा अलमलिँदा
एउटा आवाजको हातले डोर्यायो सधैँ।
नैतिक मूल्यको साइकल चढ्नेहरू
धेरै टाढ़ा नपुग्दोरहेछन्।
के छ र मसित आज?
उही पैतृक घर, दुई छाक र एउटा पुरानो ‘इमान’
जो उत्कट अभावहरूमा पनि बेच्न सकिनँ
स्वास्नीका दमित चाहनाहरू/अपूर्ण खाँचोहरूलाई
मेरो सामर्थ्यले माया र विश्वासमा नै सुल्याए
अनि छ मसित-
छोरोको बेरोजगारी
सिफारिसको पछिल्लो दैलोबाट भित्र्याउन नमान्ने
एउटा बेकम्मा हठी आदर्श।
केही छैन मसित!
पसिना मुछिएको गाँस,
एक छाती आत्मसम्मान
र एउटा शिरबाहेक
जो श्रद्धाले मात्र झुक्न सक्यो।
छ त केवल
आफ्नै आँखामा निसङ्कोच हेर्नसक्ने
एउटा बेदाग ऐना
अनि छन्
मनबाट उर्लिएको ढुक्क
आँखामा थुरिएर मीठो निद्रा बनेका रातहरू।
यी पाइलाहरूले जहाँसम्म भए पनि
कसैको काँधमा डोबहरू नछाड़ी ल्याइपुऱ्याए।
एउटै जुनी छ
अनि भित्र कोही छ
के बाँच्नु उसको जिब्रो थुतेर?
बस!
यो जीवनखेलको अन्तिम सिटी लाग्दा
मेरो अन्तस्करणको बडेमा स्क्रिनमा
यति लेखिएको होस्
“गोल भएन तर खेल सफा थियो”।
(दार्जीलिङ)