खरसाङ, 27 जुलाई : राष्ट्रिय राजमार्ग 55 मा शनिबार करिब साढ़े तीनघण्टा यातायात बाधित बन्यो। स्थानीय गिद्दे पहाड़मा सड़क माथिबाट ढुङ्गाको रास झरेर राजमार्गमा थुप्रिँदा यातायात बाधित बनेको छ।
जानकारीका अनुसार आज बिहान करिब 9:30 बजेदेखि करिब 12 :50 सम्म यातायात बन्द भएको थियो , जसको फलस्वरूप आवश्यकीय कार्यका लागि यात्रा गरिरहेका मानिसहरूले समस्या भोगेका थिए। पछि विभागको जेसीबीले सड़कमा थुप्रिएको ढुङ्गाको रासलाई हटाएपछि यातायात सुचारु बनेको हो।
उल्लेखनीय छ, जुन ठाउँमा ढुङ्गाको रास झरेको थियो, त्यो ठाउँमा सड़क अत्यन्त साँघुरो छ। यसैले पनि वाहनहरूको आवागमन पूर्ण रूपले ठप्प बनेको हो। अर्कोतिर राजमार्गसँग समानान्तर रहेको दार्जीलिङ हिमालयन रेलवे लिकलाई पनि ढुङ्गाको रासले छोपेको थियो।