दार्जीलिङ, 27 जुलाईः शहीदहरूको सपनालाई पूरा गरेरै छोड़्नका लागि आफूहरू दृढ़ सङ्कल्पित रहेको गोजमुमो पहिलो खेमाका अध्यक्ष विमल गुरुङले दाबी गरेका छन्।
छुट्टै राज्य प्राप्तिका लागि 86-देखि 2017 को गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो प्राणको बलिदान दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस्तो दाबी गरेका हुन्।
‘शहीदहरूले देखेका स्वर्णीम सपना साकार पार्न हामी आजसम्म अनेकौं कठिनाइहरू सहेर पनि युद्धरत् छौं’, गुरुङले आज एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘सम्पूर्ण गोर्खाली आमा-बाबा, दाजु-भाइ, दिदी-बहिनीहरूलाई बताउ चाहन्छौं, हामीले आफ्नो कर्तव्य भुलेका छैनौं। हामी हाम्रो कर्तव्य पूरा गर्न वचनबद्ध छौं।’
उनले आजकै दिन अर्थात् 27 जुलाई 1986-मा सीआरपीएफले निर्मतापूर्वक चलाएको गोली गालेर शहीद बनेकाहरूको सपना अझै साकार नभएको पनि बताएका छन्।
‘आजका दिन नै कालेबुङका वीरङ्गाना चेलीहरू र वीर छोराहरू आफ्नो मातृभूमिका लागि हाँसी हाँसी बलि चढ़िदिएका हुन्। कालेबुङले देखेको त्यो कालो दिन हामी कहिल्यै भुल्दैनौं’, विमल गुरुङले भनेका छन्, ‘शहीदको कुनै पार्टी हुँदैन – झण्डा हुँदैन भन्ने उक्तिलाई आत्मसात गर्दै आज उनीहरूले दिएको सर्वोच्च बलिदानको स्मरण गर्दछु। सँगसँगै गोर्खा जनमुक्ति मोर्चाको पक्षमा म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’