कालेबुङ, २७ जुलाईः विमल गुरुङले ‘बरू राजनीति छाड़िदिने तर जाति र माटोलाई धोका नदिने’ दावी दोहोऱ्याएका छन्।
आज कालेबुङमा शहीद दिवस कार्यक्रममा सम्बोधन गर्दै यो दावी दोहोऱ्याएका हुन्।
“बरू म राजनीति गर्दिनँ। तर, जाति माटो र अस्मिता बेच्ने व्यक्ति म कदापि होइन”, विमलले भने।
आफूले जाति र माटोको मुद्दालाई नछाड़ेका पनि उनले ठोकुवा गरे।
साथै दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको स्थायी राजनीतिक समाधानको मुद्दा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसमक्ष राखेर आफू पहाड़ भित्रिएको र दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको स्थायी राजनीतिक समाधान गर्ने कुरा डुवर्सका जनसभाबाट मुख्यमन्त्रीले समेत भनिसकेको गुरुङले बताए।
“स्वाभिमान बेचेर आज विमल गुरुङ पहाड़ भित्रिएको होइन। आफ्नो जाति र माटोलाई बेचेर विमल गुरुङ पहाड़ भित्रिएको होइन”, उनले भने।
विमलको दावीका अनुसार तत्कालीन राजनीतिक परिस्थितिमाथि धेरै छलफल गरेपछि स्थायी राजनीतिक समाधानको मुद्दालाई अघि राखेर २०२१ को विधानसभा चुनाउ तृणमूल कङ्ग्रेसको घटक दल भएर सघाउने निर्णय गरिएको थियो।
२०२१ को विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेसलाई सघाउने घोषणा गरे पनि २०२४-को लोकसभा चुनाउमा गोर्खा जाति र माटोको मुद्दालाई समर्थन गर्ने दललाई जिताएर पठाउने त्यतिबेलै बताइसकेको उनको भनाइ छ। र २०२४-मा निर्णय यही रहने गुरुङको दावी छ।
छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिका लागि प्राणको आहुति दिने शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनले अब दार्जीलिङ पहाड़ तराई अनि डुवर्सको स्थायी राजनीतिक समाधानका लागि कार्य गर्नुपर्ने बताए।
अर्कोतिर उनले ‘शहीद कसैको पेवा होइन’ भन्दै यसमा कसैले राजनीति गर्न नहुने पनि बताए।
पहाडको राजनीतिमा पारदर्शिताको नितान्त आवश्यकता छ कारण जनसाधारण ठगिएको धेरै भयो।