दार्जीलिङ, 27 जुलाईः रणनीतिबिनाको आन्दोलनले नै दार्जीलिङ पहाड़ले केही प्राप्त गर्न नसकेको गोर्खा जनमुक्ति मोर्चा-दुईका कार्यवाहक अध्यक्ष अनित थापाको भनाइ छ।
यसैले उनी दार्जीलिङ पहाड़को समस्या आन्दोलन गरेर होइन, वार्ताको माध्यमबाटै होस् भन्ने चाहन्छन्।
साथै रणनीतिबिनाको आन्दोलनकै कारण शहीदहरूका सपना पनि अहिलेसम्म पूरा नभएको उनी ठान्छन्।
“शहीद दिवस हामी वर्षैपिच्छे मनाउने गर्छौं। तर शदीहरूले देखेका सपना आजसम्म पूरा हुनसकेको छैन। शहीदहरूलाई सधैँ हामी नमन् गर्छौं” आज गोर्खाल्याण्ड आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै थापाले थपे, “मैले बुझ्दा आन्दोलन गरेर केही प्राप्त हुन्छ जस्तो लागेन आजसम्मका इतिहासलाई हेर्दा; हामीले जे पनि प्राप्त गर्छौं, वार्ता प्राप्त गर्नेछौँ।
अनितका अनुसार विगतमा रणनीतिबिनाका धेरै आन्दोलन भए। ती आन्दोलनहरूमा गोर्खा जातिले केही पाउनुका सट्टा केवल गुमाए।
यसैले अब दार्जीलिङ पहाड़मा शहीद बनाउने प्रथा बन्द गर्नुपर्ने, आवेशमा आएर उग्र बनी आन्दोलन गर्ने प्रक्रिया बन्द गर्नुपर्ने उनको भनाइ छ।
अनितले थप भने, “आन्दोलनले दार्जीलिङ पहाड़लाई पछिल्तिर धकेल्ने मात्रै कार्य गरेको छ, बेरोजगारी समस्या बढ़ाएको छ। तर गोर्खा जातिको मूल माग गोर्खाल्याण्डको सपना पूरा हुने छाँटसम्म देखापरेको छैन। गोर्खा जातिको मूल माग छुट्टै राज्य गोर्खाल्याण्ड हो; तर दार्जीलिङ पहाड़लाई जलाएर यो माग पूरा गर्ने सोच बनाउनु पनि हुँदैन। छुट्टै राज्यको माग गर्ने अनि यसको लक्ष्य पूरा गर्ने प्रक्रिया छ, राज्य भएर नै केन्द्र सरकारसम्म पुग्नुपर्छ। तर, यहाँ गोर्खाल्याण्डका लागि राज्य सरकारसित लड़ाइँ गर्ने कार्य भइरहेको छ, जसको फलस्वरूप यहाँ कैयौं शहीद बनिसकेका छन्।”
यसैबिच, उनले हाल आफू जीटीएको व्यवस्थामा नरहेको बताउँदै आगामी दिनमा राम्रो व्यवस्था प्राप्त भए शहीद परिवारहरूका समस्या समाधान गर्ने दिशामा पनि ठोस पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।
आज स्थानीय गोर्खा रङ्गमञ्च भवन परिसरमा अवस्थित शहीद बेदीमा शहीद दिवस पालन गर्ने क्रममा नै गोजमुमो दुईका कार्यकारी अध्यक्ष अनित थापाले गोर्खाल्याण्डका लागि आफ्नो प्राणको आहुति दिनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।