गोर्खाल्याण्ड दिएर भारत सरकारले आफ्नो इमानदारी देखाउन पर्छ: क्रामाकपा

0
1080

दार्जीलिङ, २७ जुलाईः भारतीय गोर्खाहरूका अस्तित्व र अस्मिता तथा छुट्टै राज्यको मागको सवाललाई संसदमा पारित गरी भारत सरकारले आफ्नो इमानदारी देखाउनुपर्ने क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले बताएको छ। किनभने पछिल्लो लोकसभा र विधानसभा चुनाउमा भाजपाले दार्जीलिङ पहाड तराई अनि डुवर्सको दीर्घकालीन समस्याको स्थायी राजनीतिक समाधान गर्ने सङ्कल्प गरेको छ।

क्रामाकपाले यो वाचालाई स्मरण गराउँदै चाँड़ोभन्दा चाँड़ो छुट्टै राज्य गोर्खाल्याण्डको माग पूरा गर्नुपर्ने माग पनि गरेको छ।

आज शहीद दिवसको उपलक्ष्यमा छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिका लागि बलिदान दिने शहीदहरूलाई स्मरण गर्दै राज्य प्राप्ति नभएसम्म लगातार सडकमा ओर्लेर कार्य गरिरहने क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले सङ्कल्प गरेको छ।

क्रामाकपाका अनुसार स्थापनाकालदेखि उ राज्य प्राप्तिका लागि सडक ओर्लेर कार्य गर्दै आइरहेको थियो र राज्य प्राप्त नभएसम्म सडकमै बसेर कार्य गर्नेछ। किनभने कोठामा बसेर विज्ञप्ति जारी गर्दैमा र सोशल मिडियामा लेख्दैमा राज्य प्राप्त हुँदैन भन्ने क्रामाकपा ठान्छ।

आज दार्जीलिङमा क्रामाकपाले शहीदहरूको स्मरण र श्रद्धाञ्जली अर्पण गर्न शहीद दिवस पालन गऱ्यो।

यसै कार्यक्रमलाई सम्बोधन गर्दै क्रामाकपाको युवा एकाइ गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा (गक्रायुमो)-का महासचिव अरुण घतानीले भने, “जनताले गर्ने काम चुनाउमा गरिसकेका छन्। अब भारत सरकारले संसदभित्र गोर्खाहरूका अस्तित्व र अस्मिताको सवाललाई, अलग राज्यको सवाललाई पारित गरेर इमानदारी देखाउन पर्छ। किनभने एक माघले जाड़ो जाँदैन। हामीले २००४ उनीहरूले सङ्कल्प गरेका कुराप्रति विश्वास गरेका छौँ। तर दिन प्रतिदिन जुन प्रकारले अन्यान्य मागहरू सहानुभूतिपूर्वक समाधान हुँदैछ; तर गोर्खाहरूमाथि अलिकति अन्याय भएको, हेलाहोंचो भएको, अदेखा गरिएको स्थिति भइरहेकाले हामी यसलाई लिएर सजग छौँ। भारत सरकारले चाँड़ोभन्दा चाँड़ो गोर्खाहरूको स्थायी राजनीतिक समाधान अलग राज्यको मागद्वारा पूरा गर्नुपर्छ माग पनि आजको यो ऐतिहासिक दिन हामी पुनः उठान गर्दछौँ।”

उनले थपे, “यसका साथै भारत सरकारले भन्दा राम्रो व्यवस्था हामी गोर्खाहरूलाई दिनेछौँ भनेर पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले जुन अड़ान राखेकी छन्, यसको हामी अपेक्षामा छौँ। उनले पनि आफ्नो अड़ानलाई स्पष्ट गर्दै गोर्खाहरूलाई के दिने हुन्, त्यो कुरा चाँड़ोभन्दा चाँड़ो सार्वजनिक गर्नुपर्छ।

अरुण घतानीका अनुसार क्रामाकपा छुट्टै राज्य गोर्खाल्याण्डको मागप्रति प्रतिबद्ध छ। र क्रामाकपाले यो मागलाई कहिल्यै मर्न दिनेछैन।

उल्लेखनीय छ, शहीदहरूको सम्झना र उनीहरूलाई श्रद्धाञ्जली अर्पण गर्न आज क्रामाकपाले चोकबजारमा एक कार्यक्रमको आयोजन गरेको थियो।

यसअघि पार्टी कार्यालयबाट तामाङ बुदिष्ट गुम्बा पथ हुँदै जीडीएनएस रोड भएर चोकबजारसम्म गोर्खाल्याण्डको मागमा लेखिएर प्ला-कार्डहरू बोकेर क्रामाकपा कार्यकर्ताहरूले एक ऱ्याली पनि निकालेका थिए।

यसअवसरमा केन्द्रीय नेतृत्व नर्बु लामा, शेखर छेत्री, अरुण घतानी, आर.पी. लामा, उद्वव खनाल , सञ्जिला घिसिङ, रविन राई, सुनिल राई , रमेश राई, भुपेन छेत्री, आर. के. राई आदि प्रमुख रूपमा उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here