मुख्यमन्त्रीले गृहमन्त्रीसमक्ष सिक्किमका महत्त्वपूर्ण मुद्दाहरू राख्ने मौका गुमाएः एसडीएफ

0
945

गान्तोक, 27 जुलाईः एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नालले एउटा लाइभ भिडियो वार्ता गरी मुख्यमन्त्री पीएस गोलेमाथि गम्भीर प्रश्न खड़ा गरेका छन्।

हालै मेघालयमा पूर्वोत्तर राज्यहरूका महत्त्वपूर्ण सभामा अंशग्रहण गर्दा पनि मुख्यमन्त्रीले देशका गृहमन्त्री अमित शाहको उपस्थितिमा सिक्किमेली जनताका न्यायोचित मागहरूलाई उठान गर्न नसकेको दर्नालले आरोप लगाए।

उनले भने, “विधानसभामा लिम्बू-तामाङको सीट आरक्षण, 12 जातिमा पर्ने समुदायहरूलाई जनजातिको मान्यता, परम पुज्य धर्मगुरु कर्मापालाई सिक्किम भित्र्याउने आदिजस्ता महत्त्वपूर्ण मागहरूका कुरा नउठाएर इन्टरनेटको माग राख्नु भनेको चाहिँ ‘खोदा पहाड़ निकला चुहा’-भने जस्तै भयो।”

दर्नालले थपे “इन्टरनेट पनि समयको माग हो तर इन्टरनेटभन्दा महत्त्वपूर्ण सिक्किमेली जनताको थाँतीमा रहेका मागहरू हुन् भन्ने कुरा राज्यका मुख्यमन्त्री महोदयलाई थाह हुनुपर्ने हो। दक्ष र इमान्दार नेतृत्वले कुनै पनि अवसर र मौकालाई सिक्किम र सिक्किमेली जनताको हितमा प्रयोग गरेको हुनुपर्छ।”

सिक्किमले पाएको यति ठूलो मौका गुमाएकोमा एसडीएफ पार्टी खेद प्रकट पनि गरेको छ।

अर्कोतिर कार्यक्रममा सिक्किमका मुख्यमन्त्रीले जलवायु परिवर्तनको कुरा उठाएकोमा एसडीएफ पार्टीले धन्यवाद प्रकट पनि गरेको छ।

“तर सिक्किमकै धरतीमा उनकै आँखाअघि हजारौँ रूख काटिए, राज्यको खोला-नालामा गैरकानुनी रूपमा बुलडोजर चल्दैछन्, प्लास्टिक प्रयोगमा प्रतिबन्ध, पटेका पड्काउन निषेध आदिजस्ता महत्त्वपूर्ण र जलवायु संरक्षणका नियामावलीको खिल्ली उड़ाइएको छ”, जेबी दर्नालले थपे, “जैविक खेतीको उपेक्षा र खिल्ली उड़ाएको छ भने उनले जलवायु संरक्षण सम्बन्धमा दिएको वक्तव्य पनि देखावटी मात्र प्रमाणित भएको छ। व्यवहार र भाषणको एकरूपता नहुने चरित्र नै आज एसकेएम सरकार र पार्टीको परिचय भएको कुरा आज उनले स्वयं सिद्ध गरेका छन्। यस्तो दोग्ला चरित्रले सिक्किम लज्जित भएको कुरा एसडीएफ पार्टीले ठोकुवा गर्दछ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here