सिलगढ़ी-काठमाड़ौं सोझो बस सेवा शुरु

0
1986
मङ्गलवार सिलगढ़ी आइपुगेको भारत-नेपाल मैत्री बस सेवा।

सिलगढ़ी, 27 अगस्त : दार्जीलिङ-गान्तोकबाट काठमाडौं जाने यात्रीहरू अब काँकरभित्ता गइरहन पर्दैनन्। अब उनीहरू सिलगढ़ीबाटै बस चढ़ेर काठमाडौं पुग्न सक्ने भएका छन्। किनभने भारत-नेपाल मैत्री बस सेवाअन्तर्गत काठमाडौंदेखि दार्जीलिङको सिलगढ़ीबीच बस सेवा शुरु भएको छ।

सोमबार काठमाडौंबाट अपराह्न हिँड़ेको बस मङ्गलबार बिहान सिलगढ़ी आइपुगेको छ। जानकारीका अनुसार यो बस सेवा भारत-नेपाल 10औं मैत्री बस सेवा हो। नेपालका परिवहन प्रबन्ध मन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत मनजीत सिंह पुरीले हिजो काठमाडौंमा यो मैत्री बस सेवालाई संयुक्त रूपले हरियो झण्डा देखाएका थिए।

भारतको ग्रीनलाइन र भारतको संयुक्त यातायात प्रालिले यो दैनिक बस सेवाका लागि सम्झौता गरेका छन्। जानकारीका अनुसार उक्त बस सिलगढ़ीबाट प्रतिदिन अपराह्न 3 बजे छुट्नेछ भने भोलिपल्ट बिहान 9 बजे काठमाडौं पुग्नेछ। काठमाडौंबाट पनि अपराह्न 3 बजे बस हिँड़ेर भोलिपल्ट 9 बजे सिलगढ़ी आइपुग्नेछ। सिलगढ़ीबाट काँकरभिट्टा हुँदै काठमाड़ौं आउ-जाउ गर्ने यो पहिलो बस सेवा हो।

सिलगढ़ीनिवासी बसका प्रभारी अशोक बराइलीका अनुसार आज काठमाडौंदेखि सिलगढ़ीसम्म ट्रायल रन गरिएको हो। उनका अनुसार आगामी 5-6 दिनभित्र पूर्ण रूपले बस सेवा शुरु हुनेछ। दुई देशबीच पर्यटन र व्यापारिक सम्बन्धलाई बढ़ावा दिनका लागि सिलगढ़ी-काठमाड़ौंबीच मैत्री बस सेवा शुरु गरिएको बताइएको छ।

ट्रायल रनमा काठमाडौंबाट सिलगढ़ी आउने यात्रीको सङ्ख्याको पाँच थिए। जसमा उनीसमेत ग्रीनलाइन यातायातका मालिकलगायत काठमाडौंबाट अन्य तीनजना रहेका थिए। यद्यपि आज 9 बजेको सट्टा केही अबेर गरी 11 बजे आइपुगेको थियो। चेकपोस्टमा प्रोटोकल पूरा गर्नपरेकोले करिब दुईघण्टा अबेर भएको उनको भनाइ छ।

44 सीट रहेको उक्त वातानुकूलित डिलक्स बसमा वाईफाईको सुविधासमेत छ। सिलगढ़ी-काठमाड़ौं भाड़ा भारु 1200 (नेरु 2,000) तोकिएको छ। बस एसएन बोस पेट्रोल पम्प नजिक सिलगढ़ी जङ्क्शन क्षेत्रबाट चल्नेछ।

स्मरण रहोस्, 2014 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा जाँदा दुवै देशका यात्रीहरू दुईतिरै आउजाउका लागि निर्बाध र बिनाकुनै समस्याका यात्रा र पर्यटनलाई बढ़ावा दिनका लागि एक सम्झौता गरेका थिए। तत्अनुरुप नै यो बस सेवा शुरु भएको बताइएको छ।

अर्कोतिर, काठमाड़ौं-सिलगढ़ी मैत्री बस सेवा शुरु भएपछि दार्जिलिङलगायत उत्तर बङ्गालका पर्यटन हितधारकहरू अत्यधिक खुशी भएका छन्। यसले पर्यटनसँग सँगै दुई देशबीच व्यापारिक सम्बन्ध बलियो हुने कुरामा क्षेत्रका पर्यटन हितधारकहरू विश्वस्त छन्।

हिमालयन हस्पिट्यालिटी एन्ड डुरिज्म डेभलपमेन्ट नेटवर्कका अध्यक्ष सम्राट सन्याल भने, “सिलगढ़ी-काठमाड़ौं मैत्री बस सेवाले भारत-नेपालको पर्यटन विकासमा सघाउ मात्र पुग्ने छैन। तर, दुवै देशबीचको सम्बन्ध पनि प्रगाढ़ हुनेछ।”

यसैगरी काठमाड़ौं-सिलगढ़ी मैत्री बस सेवाले पर्यटन विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा ट्राभल्स एसोसिएशन झापाका अध्यक्ष नीरबहादुर (नेत्र) कार्की पनि विश्वस्त छन्। “हामीलाई आशा छ, यो बस सेवाले दुई देशबीचको पर्यटन व्यवसाय बढ़ावा दिनका साथै र व्यापार सम्बन्धलाई बलियो बनाउनेछ”, कार्कीले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here