विष्टले भेटे केन्द्रिय मन्त्री गहलोतलाई, उठाए विभिन्न मुद्दा

0
1218
केन्द्रिय मन्त्री थावरचन्द गहलोतसँग सांसद विष्ट।

सिलगढ़ी, 27 अगस्त : दार्जीलिङका सांसद राजु विष्टले मङ्गलवार केन्द्रिय सामाजिक न्याय एवं सशक्तिकरण मन्त्री थावरचन्द गहलोतसँग भेट गरी उल्लिखित विभागअन्तर्गत दार्जीलिङका मानिसहरूलाई प्राप्त हुने विभिन्न योजना र अवसरबारे चर्चा गरे।

मन्त्री गहलोतसँगको भेटवार्ताअवधि सांसद विष्टले क्षेत्रका दिव्याङ्गजनका लागि दैनिक आवश्यकता र उनीहरूको सामाजिक र आर्थिक विकासमाथि प्रकाश पारेका थिए।

यसअवसरमा उनले दार्जीलिङ, कालेबुङ, खरसाङ र सिलगढ़ी क्षेत्रमा रहेका केन्द्रहरूमा विकलाङ्ग योजनाअन्तर्गत सहायता गरिनुपर्ने माग गरे। ताकि क्षेत्रका दिव्याङ्गजनले यसबाट लाभ उठाउन सकुन्।

भेटवार्तामा विभागीय मन्त्री थावरचन्द्र गहलोतले क्षेत्रमा दिव्याङ्गजनहरूलाई सहायता प्रदान गर्नका लागि पहिचान प्रक्रिया र डेटा सङ्ग्रह गर्नका लागि पहल शुरु गर्ने आश्वासन दिए।

अर्कोतिर विष्टले यसै भेटवार्ताअवधि केन्द्रिय मन्त्रीसँग बाबु जगजीवन राम छात्रावास योजनाअन्तर्गत क्षेत्रका अनुसूचित जाति, अन्य पछौटे वर्ग र आर्थिक रूपले पछौटे वर्गका विद्यार्थीहरूलाई लागि छात्रावास निर्माण गरिनुपर्ने माग गरे।

मन्त्री गहलोतलाई यसबारे माग राखेका विष्टले भनेका छन्, ‘दार्जीलिङ र कालेबुङ जिल्ला पहाड़ी क्षेत्रमा पर्छन्। यसैले क्षेत्रका विद्यार्थीहरू शिक्षाका लामो दूरीको यात्रा गर्नु अत्यन्त गाह्रो कार्य हो। शैक्षिक संस्थानहरूको छेउछाउमा छात्रावास स्थापना गरिए विशेष गरी चियाकमान क्षेत्रका विद्यार्थीहरूले आफ्नो शिक्षालाई जारी राख्न सक्नेछन्।’

केन्द्रिय मन्त्रीले सांसदद्वारा उठान गरिएका मुद्दाहरूलाई संज्ञान लिँदै यी मुद्दाहरूमाथि मन्त्रालयले विचार गर्ने आश्वासन दिएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here