गान्तोक, 27 अगस्तः आउँदो 1 सेप्टेम्बरदेखि सिक्किमका सबै सरकारी स्कूल, कलेज र अन्य शिक्षण संस्थानहरूका प्रमुख, शिक्षक-शिक्षिका, सहायक कर्मचारीहरू आ-आफ्नो संस्थानमा अनिवार्य रूपमा उपस्थिति हुनुपर्नेछ।
निक्कै लामो मथिङ्गल मन्थनपछि सरकारले यस्तो निचोड़ निकालेको छ। राज्य प्रशासनले आज एक सरकारी परिपत्र जारी गरी विद्यार्थीहरूका लागि स्कूल कलेजहरू नखोलिए पनि शिक्षक र अन्य कर्मचारीहरू भने अनिवार्य रूपमा स्कूल-कलेज जानैपर्ने निर्देश दिएको छ।
शिक्षकहरूले आफ्नो कार्यस्थलबाटै डिजिटल अफलाइन क्लास र होम स्कुलिङमा सहयोगका लागि तयारी गर्नुपर्नेछ।
यसैगरी सबै शिक्षण संस्थानहरूको रखरखाउ अनि व्यवस्थापनमा विशेष ध्यान पुऱ्याइनुपर्ने उल्लेख गरिएको छ।
परिपत्रमा जनाएअनुसार अबउसो नयाँ राष्ट्रिय शिक्षा नीतिसम्बन्धी प्रचार-प्रसार गरिनुपर्नेछ।
आउँदो 5 देखि 25 सेप्टेम्बरसम्म यो कार्य सम्पन्न गरिनुपर्नेछ भने पञ्चायतीराज संस्थानलाई पनि यसमा सम्मिलित गर्नुपर्ने बताइएको छ।
यसका लागि राज्य सरकारको एस.सी.ई.आर.टी., जिल्ला प्रमुख र स्कूल अनि कलेजहरूले स्रोत वक्ता चयन गर्नसक्नेछन्।