जीटीएमा प्रचुर भ्रष्टाचार भएको छः विनय

0
1217
(फाइल फोटो।)

कालेबुङ, २७ अगस्तः जीटीएमा प्रचुर मात्रामा भ्रष्टाचार भएको दावी गर्दै विनय तामाङले यसको न्यायिक जाँचको माग गरेका छन्।

आज कालेबुङ आइपुगेका उनले पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीएमा प्रचुर मात्रामा भ्रष्टाचार भएको ठोकुवा गरेका हुन्।

“भ्रष्टाचार पटक्कै भएन भन्दिनँ। भ्रष्टाचार प्रचुर मात्रामा भएको छ”, तामाङले थपे, “राज्य सरकारले भ्रष्टाचारविरुद्ध कमिटी गठन गरी दुधको दुध पानीको पानी बनाउनुपर्छ।”

अनित थापा जीटीएका चेयरम्यान हुँदाको समयका मात्र होइन तर र आफू जीटीए चेयरम्यान हुँदा र त्यसअघिका जीटीएको जाँच हुनुपर्ने विनयको भनाइ छ।

यति मात्र होइन, केन्द्र सरकारका योजनाहरूबाट प्रचुर मात्रामा पैसा उठाउने कार्य भइरहेको आरोप प्रकाश आइरहेको पनि उनले बताए।

उनले मार्च २०२० मा मल्ली बजारमा भएको गोलीकाण्डलाई यसको उदाहरण दिए।

रेलवे कम्पनीबाट मागेजति पैसा नपाएकै कारण  मल्ली बजारमा गोलीकाण्ड भएको तामाङको दावी छ।

यसैगरी शिक्षक नियुक्तिका लागि धेरैजना पैसा उठाइरहेका आरोपहरू सुनिरहेको उनले बताए।

“म जीटीए चेयनम्यान हुँदा १५८७ जना शिक्षक नियुक्त भए। यदि मैले जीटीए चेयरम्यानको नाताले उनीहरू कसैबाट पनि एकै रुपियाँ लिएको छु भने ती शिक्षक-शिक्षिकाले न्यायालयमा गएर मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गर्न सक्नेछन्”, विनयले थपे, “तर अहिले नियुक्ति नै नपाई, सूचीमा नाम दर्ता गराउन मात्र धेरैजना युवा भाइ-बहिनीहरूबाट अग्रिम पैसा लिइरहेको आरोप सुनिरहेका छौँ।”

उनका अनुसार शिक्षक नियुक्ति योग्यताको आधारमा पाउनुपर्छ, कसैलाई एउटा लड्डुसमेत चढ़ाउनु पर्दैन।

शिक्षक नियुक्तिका लागि सूचीमा नाम दर्ता गराएकाहरूलाई सम्बोधन गर्दै उनले थपे, “चुनाउअघि तपाईंहरूले जसलाई पैसा दिनु भएको छ, उनीहरूबाट पैसा फिर्ता माग्नुस्।”   

उनले भ्रष्टाचारलाई लिएर अनित थापालाई कठघरामा उभ्याएका छन्। अर्कोतिर उनले भविष्य अनित थापासँग मिल्ने कुनै सम्भावना नै नरहेको पनि खुलाए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here