श्रमिकहरूले पाएनन् दार्जीलिङका व्यवसायीहरूबाट सहयोग, भएन आधा सटर बन्द

0
1827
दार्जीलिङका खुल्लै रहेका दोकानहरू।

दार्जीलिङ, 27 सेप्टेम्बर : शुक्रवार दार्जीलिङ शहरका दोकानहरू पूर्णरूपले खुल्ला रहे। यद्यपि, पहाड़का स-साना बजारका दोकानेहरूले आफ्नो दोकान बन्द गरी चियाश्रमिकहरूको मागलाई सहयोग गरे।

दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको बोनस दर अहिलेसम्म पनि नमिलेको कारण दार्जीलिङ पहाड़का श्रमिक सङ्गठनहरूले चियाकमान मालिकहरूको विरोधमा विभिन्न आन्दोलनात्मक कार्यक्रमको घोषणा गरेका छन्। जसमा पक्का चिया बेच्नका लागि चियाबगानबाट बाहिर लान नदिने, चियाश्रमिकहरू काममा डेढ़ घण्टा ढिलो जाने, गेटसभाका साथै आज 27 सेप्टेम्बरको दिन अपरान्ह 1 बजेदेखि 3 बजेसम्म दार्जीलिङ शहरका दोकानहरूले आ-आफ्नो सटर आधा बन्द गरिदिनुपर्ने सामेल थिए।

गोजमुमो, गोरामुमो, क्रामाकपा, कङ्ग्रेस, माकपा, गोर्खालीग, जाप र तृणमूल कङ्ग्रेसका श्रमिक सङ्गठनहरूले एक संयुक्त बैठक गरी आज अपराह्न 1 बजेदेखि 3 बजेसम्म दोकानको आधा सटर बन्द गरेर दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको अधिकारको लागि साथ दिने अपील गरेका थिए। तर, आज एकै मिनटको लागि पनि शहरका दोकानहरूको सटर आधा बन्द भएन। यद्यपि, गाउँ-बस्तीका स-साना बजारका दोकानहरूले आफ्ना दोकानहरू बन्द गरी चियाश्रमिकहरूको यस आन्दोलनलाई सहयोग पुर्‍याएका छन्।

यसबारे दार्जीलिङका केही दोकानदारहरूसित प्रश्न गर्दा उनीहरू अधिकांशले आफूहरूलाई आज दोकानको सटर आधा बन्द गरेर राख्ने कार्यक्रम थाहै नभएको बताए।

एक लुगा व्यापारीले आफ्नो नाम प्रकाशमा नल्याउने शर्तमा भने, “हामी दोकानदारहरूको खास कमाउने समय नै अहिले हो। यस्तो समयमा आधा सटर बन्द गरे हामीलाई केवल नोक्सान मात्रै हुनेछ। तरै पनि चियाश्रमिकहरूको बोनस पाउने अधिकार हो। र, यसका लागि चियाबगान मालिकपक्षले पनि बेसी मोलतोल नगरेको उचित हुनेछ। वर्षभरि पानी-झरीमा भिज्दै, घाममा सेकिँदै विश्व प्रसिद्ध दार्जीलिङ चियाको उत्पादन गर्ने श्रमिकहरूलाई प्रायः नै बोनसको समय यसरी दुःख दिएको धेरै भयो।  प्रत्येक वर्ष चियाश्रमिकहरूको बोनस विषय लिएर यस्तै हुने गरेको छ। यदि आज दोकानको सटर आधा बन्द गर्ने कार्यक्रम थाह पाएको भए अवश्यै गर्नेथियौं।” उनले  यसमा श्रमिक सङ्गठनहरूको पनि निष्क्रियता रहेको बताए।

अर्कोतिर, श्रम विभागले आउँदो 30 सेप्टेम्बरको दिन कोलकातामा चियाश्रमिकहरूको बोनसबारे एक बैठक गर्ने चाँजो मिलाएको जनआन्दोलन पार्टी अमर लामाले जानकारी गराए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here