अनिल लोप्चनलाई इमान चामलिङको कटाक्ष, भने – गोर्खाहरूको चिन्हारी बेच्ने विनय तामाङ होइन्, विमल गुरुङ र रोशन गिरी हुन्

0
1536
विनयपन्थी युवा मोर्चाका सहसचिव इमान चामलिङ (फाइल फोटो)।

कालेबुङ, 27 अक्टोबर : विमल गुरुङलगायत उनलाई समर्थन गर्नेहरूमा अहिले पनि नेता हुँ भन्ने सोच रहेको र यो सोच केवल भ्रम मात्र हो भन्ने दाबी विनय तामाङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चा (गोजयुमो) केन्द्रिय समितिका सहसचिव इमान चामलिङले गरेका छन्।
शनिवार विमल गुरुङपन्थी गोजयुमोका उपाध्यक्ष अनिल लोप्चनको बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै युवा नेता चामलिङले यस्तो बयान दिएका हुन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, आन्दोलनमा जनतालाई बेफाइदामा उक्साएर आफूहरू भाग्ने खेमाका नाइके विमल गुरुङसँगै चम्पट कसेका नेताहरूलाई पहाड़का जनताले रिजेक्ट गरिसकेका छन्।
उनले विज्ञप्तिमा तीखो शब्दमा कटाक्ष गरेका छन्। साथै अनिल लोप्चन गोर्खा जनमुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष होइनन् भन्ने दाबीसमेत गरेका छन्। उनीहरूले अहिले पार्टीबाहिर छन्, चामलिङले विज्ञप्तिमा लेखेका छन्।
विज्ञप्तिमा उनले विमलपन्थी मोर्चालाई थुप्रै प्रश्न गरेका छन्। प्रश्नको भाषा तीखो छ। विमल गुरुङको समयकालमा जीटीएलाई समर्थन पनि नगरेको र विरोध पनि नजताएको दाबी गर्ने  त्यसबेलाका युवा मोर्चाले पाँच वर्ष के गऱ्यो त भन्ने प्रश्न उनले गरेका छन्। 
“पाँच वर्ष जीटीएमा विकासका लागि आएको पैसा खायो? पर्सन्टेज कसले उठायो? के जनता अन्धा छन्? फल चाहिँ जरा बुट्टा नराखी खाने अनि दूधको सोझो बिरालो बनेर हामीले समर्थन पनि गरेनौं, विरोध पनि गरेनौं भन्ने? ”, चामलिङले विज्ञप्तिमा प्लेरसअन गरेका छन्।
साथै  साढ़े चार वर्ष जीटीएको चौकीमा बसेर ६ महिनाका लागि राजीनामा दिने प्रकाश गुरुङलाई इमानदार भन्नु कि ढोङ्गी स्वार्थी नेता भन्नु भन्ने प्रश्न उनले गरेका छन्। चौकीमा बसेर खाउञ्जेल गोर्खाल्यान्डको याद विमल गुरुङपन्थी नेताहरूलाई नआएको तर जीटीएको मियाद सकिनु आँट्दा फेरि चुनाउमा नजानका लागि निहुँ बनाउन आन्दोलन गरिटोपलेको आरोप लगाउँदै यस्ता नेताहरूलाई जनताले चिनेको दाबी पनि इमानको छ। 
विज्ञप्तिमा यी युवा नेता विमल गुरुङ खेमाप्रति आक्रामक रूपले प्रस्तुत भएका छन् । तथा धेरै गम्भीर आरोप पनि लगाएका छन्। विमल खेमाले आदर गर्ने गान्धी चाहिँ पैसामा छापिएको गान्धीलाई मात्र हो, जुन कुरा पहाड़का जनताले विमल गुरुङको कार्यकालमा देखिसकेका छन्’’, उनले विज्ञप्तिमा आरोप लगाउँदै लेखेका छन्, “एक करोड़ पचास लाख गोर्खाहरूको राष्ट्रिय चिन्हारी विनय तामाङले बेचेका होइनन्, त्यो त १८ सेप्टेम्बर २०११ सालमै विमल गुरुङ र रोशन गिरीले पिण्टेल भिजेलमा जीटीएसँग गोर्खाल्यान्ड आन्दोलन बिक्री गर्दा बेचेका हुन् । पछि  सन् 2013 -मा पुनः अर्कोपटक कोलकाता गएर जीटीएको मुख्य कार्यपालको शपथ लिँदा विमल गुरुङले बेचेका हुन्।’’
इमान चामलिङले विज्ञप्तिमा त्यसबेला अनिल लोप्चन मोर्चामा नरहेको पनि बतेका छन्। उनले लगाएका आरोप अनुसार अनिल लोप्चन आन्दोलन सकिएपछि जीटीएका टुक्राटुक्री खान मोर्चामा आएका हुन्। उनले अनिल लोप्चन जुन पार्टीमा जान्छन्, त्यो पार्टीको नै अन्त हुने दाबी पनि गरेका छन्। विनयपन्थी युवा नेता चामलिङले विज्ञप्तिमा लेखेका छन्, “अनिल लोप्चन जिताउने मान्छे होइनन्। उनी हराउने मानिस हुन् । गोरामुमोलाई हराएर मोर्चामा आएका हुन्।’’
विनय समूहका यी युवा नेताका अनुसार विमल गुरुङले अझै पनि पहाड़मा उसकै वर्चस्व देक्नु साउनमा आँखा फुटेको गोरुले सधैँ हरियै देख्नुजस्तै हो।
“गोर्खाल्यान्डका लागि म केन्द्रसँग मात्रै वार्ता गर्छु। बङ्गालसँग वार्ता गर्दिन भन्ने विमल गुरुङ नै होइनन्? जनतालाई थाहा छ विमल गुरुङले राज्यसँग वार्ता गर्दा मुद्दा बचाँउछ कि चौकी भनेर’’, इमान चामिङले थप लेखेका छन्, “पहिलाका वार्ताहररूलाई दोहोऱ्याएर हेर्दा थाहा भइहाल्छ, विमल गुरुङले गोर्खाल्यान्ड र चौकी कुन रोजेका थिए।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here