पत्रकारहरूलाई सम्बोधन गर्दै विनयपन्थी गोजमुमो कालेबुङका प्रवक्ता भुवन पी. खनाल। |
कालेबुङ, 26 अक्टोबर : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) राज्य सरकारसँग वार्ता बस्न तयार रहेको बयान प्रकाशमा आएपछि विनय तामाङपन्थी गोजमुमोले तीखो प्रतिक्रिया व्यक्त गरेको छ। बिहीवार वरुण भुजेलको पहिलो पुण्यतिथिमा सहभागी बनेका विमल गुरुङपन्थी मोर्चाका प्रभावशाली नेता कर्णल रमेश आलेले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी राष्ट्रिय नेता रहेकाले संविधानको धारा तीन (क)-लाई लिएर राज्यसँग वार्ता बस्न कुनै पनि समय तयार रहेको बताएका थिए। आलेले भनेको संविधानको धारा 3 (क)-मा छुट्टै राज्य गठनको प्रावधान छ।
शुक्रवार विमल समूहको यो बयानमाथि तीखो प्रतिक्रिया व्यक्त गर्दै विनय तामाङपन्थी गोजमुमो कालेबुङका प्रवक्ता भुवन पी. खनालले विमल गुरुङ समूहले राज्य सरकारअघि घुँड़ा टेकिसकेको दाबी गरे। आज पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने, “केही दिनअघिसम्म बाँघजस्तै गर्जिने विमल गुरुङ अहिले राज्य सरकारसित बस्न इच्छुक भएपछि उनीहरूले राज्यअघि घुँडा टेकेको स्पष्ट भएको छ।” यसअवसरमा खनालले आलेको बयानको तीखो शब्दमा आलोचना पनि गरे।
“हामीले शुरूदेखि नै विमल गुरुङ अलग राज्यको पक्षमा इमान्दार छैनन् भनेर भन्दै आएका हौँ’-प्रवक्ता खनालले भने, ‘अहिले आएर त्यो कुरा पुन: प्रमाणित भएको छ।’
एउटा पत्रकार सम्मेलनको आयोजना गर्दै खनालले अझ भने अनुसार यदि राज्यसित नै कुरा गर्नुथियो भने यी जम्मै नाटकहरू गर्ने आवश्यकता थिएन। अहिले आएर विमल गुरुङ पनि राज्यसित कुरा गर्न इच्छुक भइरहेका छन्। यसअघि विनय तामङहरूले पहाडको विकास र शान्तिको निम्ति राज्यसित नै कुरा गर्दा उनीहरू कसरी जाति अनि माटो विरोधी भए? भन्दै खनालले प्रश्न गरेका छन्।
“यदि राज्यसितै मिलेर काम गर्नुथियो भने किन जनताको भावनासँग खेलवाड़? अहिले को कति पानीमा छ जनताले बुझ्नुपर्छ”, उनले भने। खनालका अनुसार चुनाउ नजिक आइरहेका कारण विमल समूहले पुन: चौकी र सत्ता उपभोग गर्ने लोभले राज्यसित वार्ता बस्न इच्छुक बनेको हो।