विष्ट र इन्टरलोक्युटर पङ्कज कुमार सिंहबिच भेटवार्ता

0
56

दार्जिलिङ, २७ अक्टोबरः गोर्खा जातिका मुद्दा सम्बन्धमा वार्ताका लागि केन्द्र सरकारले नियुक्त गरेका वार्ताकार पङ्कज कुमार सिंहसँग आज नयाँ दिल्लीमा दार्जिलिङका सांसद राजु विष्टले भेट गरेका छन् ।

बीएसएफका अवकाशप्राप्त डीजी पङ्कज सिंह राष्ट्रिय सुरक्षा उपसल्लाहकार हुन्, जसलाई केही दिन अघि भारत सरकारले गोर्खा जातिका मुद्दा सम्बन्धमा वार्ताकार नियुक्त गरेको थियो ।

 ‘आज नयाँ दिल्लीमा मैले दार्जिलिङ पहाड, तराई एवम् डुवर्स क्षेत्रका चिर प्रतिक्षित मुद्दाहरूका समाधानका लागि वार्तालाई अघि बढाउन इन्टरलोक्युटर एवम् भारत सरकारका प्रतिनिधिका रूपमा नियुक्त  राष्ट्रिय सुरक्षा उपसल्लाहकार एवम् वरिष्ठ आईपीएस अधिकारी (अवकाशप्राप्त)  पङ्कज कुमार सिंहसँग भेट गरेँ’, आज वार्ताकार सिंहसँग भेट गरेपछि विष्टले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘इन्टरलोक्युटरको नियुक्ति एक प्रक्रियात्मक पाइला मात्र नभएर यो समावेशी प्रशासन र राष्ट्रिय एकताप्रति केन्द्र सरकारको वचनबद्धताको पुनर्पुष्टि पनि हो । हामी आशावादी छौँ, सबै स्टेकहोल्डरहरूले यस वार्तालाई पूर्ण सहयोगका साथ अघि बढाउनेछौँ । हाम्रो क्षेत्र र जनताका स्वाभिमान र प्रगति सुनिश्चित गर्ने दिशामा एकजुट भएर बढ्नुपर्ने समय यही हो ।’

 यसैगरी, विष्टले वार्ताकार नियुक्तिका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई दार्जिलिङ पहाड, तराई एवम् डुवर्सका जनताका तर्फबाट पुनः आभार प्रकट गरेका छन् ।

यसैबिच, सांसद राजु विष्ट र वार्ताकार पङ्कज कुमार सिंहबिचको भेटवार्तालाई जीटीएका पूर्व बोर्ड अव् एड्मिनिस्टेटर विनय तामाङले स्वागत जनाएका छन् ।

विष्ट र सिंहको भेटले आउँदा दिनमा अवश्यै सकारात्मक दिशा लिनेछ भन्ने कुरामा तामाङ विश्वस्त देखिएका छन् ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here