दार्जीलिङ गठन भयो नयाँ राजनैतिक पार्टी

0
926

दार्जीलिङ, 27 नोभेम्बरः दार्जीलिङमा नयाँ राजनैतिक पार्टी राष्ट्रिय गोर्खा आदिवासी मोर्चा (रागाम) गठन भएको छ, जसले गोर्खाल्याण्ड होइन, दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका चियाश्रमिकहरूका समस्या समाधानका लागि ठोस कार्य गर्ने घोषणा गरेको छ।

आज स्थानीय एक होटलमा यो नयाँ पार्टीको घोषणा गर्दै पार्टीका अध्यक्ष अमृत सिंह सिञ्चुरी र महासचिव प्रणय शेर्पाले यो नयाँ पार्टीले चियाश्रमिकहरूका समस्या समाधानको दिशामा मात्रै कार्य गर्ने निर्णय गरिएको बताए।

चियाबगानमा काम गर्ने श्रमिक-कर्मचारी साथै उनीहरूका परिवारका समस्यालाई ठीक ठाउँसम्म पुऱ्याउनका लागि नै यो नयाँ पार्टीको गठन गरिएको उनीहरूले खुलाए।

सिञ्चुरीले हाल पार्टीमा अध्यक्ष र महासचिवको मात्रै चयन गरिएको जानकारी गराउँदै अन्य पदाधिकारीहरूको नाम शीघ्रै घोषणा गरिने तय गरिएको बताए।

एक प्रश्‍नको उत्तरमा उनले भने, “चियाश्रमिकहरूका समस्या समाधानका लागि सामाजिक सङ्गठनहरूद्वारा आवाज उठाउँदा त्यति प्रभावकारी बन्दैन। यसैले राजनैतिक रूपमा चियाश्रमिकहरूको समस्या समाधान गर्न सकिन्छ। यसैले चियाश्रमिकहरूका समस्या समाधान गर्ने मूल उद्देश्य राखेर यो राजनैतिक पार्टीको गठन गरिएको हो। जसले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका सम्पूर्ण राजनैतिक पार्टी र श्रमिक सङ्गठनहरूसित मिलेर चियाश्रमिकहरूका लागि कार्य गर्ने सङ्कल्प गरेको छ।’’

आउँदो 2021-मा बङ्गाल विधानसभा चुनाउ सम्बन्धमा प्रश्‍न गर्दा उनले हाल पार्टीले चुनाउबारे केही नसोचेको उनले बताए तापनि आउँदा दिनहरूमा पार्टी कार्यकर्ताहरू बसेर यसमाथि पनि उचित छलफल गर्ने योजना बनाइएको बताए।

आज स्थानीय एक होटलमा यो नयाँ पार्टी गठनको घोषणा गरिएपछि पार्टी नेतृत्व साथै समर्थकहरू महाकाल मन्दिर गएर आफ्नो सफलताको कामना गर्दै पूजा अर्चना गरेका थिए।

यो नयाँ पार्टीले आफ्नो झण्डा तीन रङ्गको बनाएको छ। आउँदो सोमबार एक सभाको आयोजन गरी भावी रणनीतिबारे छलफल गर्ने योजना बनाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here