गान्तोक, 27 नोभेम्बरः सिलगढ़ीबाट आउ-जाउ गर्ने सिक्किम र कालेबुङका यात्री तथा चालकहरूले पछिल्ला केही वर्षयता 29 माइलनजिक झोड़ा क्षेत्रमा धेरै दुःख झेल्न परिरहेको छ।
यहाँ लगातार भल बगेर राजमार्ग बाधित हुने गरेकाले दुवैतर्फ घण्टौंसम्म जाम लाग्ने गरेको छ।
पैह्रोका कारण राजमार्गमा ट्राफिक जाम हुँदा यात्रुहरूले अनेकौं कष्ट झेल्न परिरहेको छ।
कतिपय वाहनहरू जामका कारण बीच बाटोबाटै फर्किरहेको अवस्था छ भने केही घुमाउरो बाटो भएर यात्रा गरिरहेका छन्।
यो समस्यालाई समाधान गर्न कालेबुङ जिल्ला प्रशासनले विभिन्न विभागसित बुधवार बैठक गरेको थियो।
बैठकमा जनकार्य विभागले 29 माइलमा थुप्रिएको माटो हटाउन वाहनको आवगमन बन्द गरिनुपर्ने सुझाउ राखेको थियो।
यसै सुझाउलाई ध्यानमा राखेर आउँदो 29 नोभेम्बरका दिन बिहान 11 बजीदेखि बेलुकी 4 बजीसम्म राजमार्ग 10 अन्तर्गत् टिस्टा पुलदेखि रम्बीसम्मको ट्राफिक बन्द राख्ने कालेबुङ जिल्ला प्रशासनले निर्णय गरेको छ।
यस दिन मानिसहरूलाई राजमार्गमा यात्रा नगर्न अनुरोध गरिएको छ भने टार्नै नसक्ने परिस्थिति हुनेले अन्य मार्गबाट यात्रा गर्न जिल्ला प्रशासनले सुझाउ दिएको छ।