दार्जीलिङमा गिरी जयन्ती पालन, कवि गिरीले सही सम्मान पाएका छैनन् : विनय तामाङ

0
1861

दार्जीलिङ, 27 दिसम्बरः जातीय कवि कवि अगमसिंह गिरीले सही सम्मान नपाएको गोर्खा जनमुक्ति मोर्चा (दोस्रो खेमा)-का अध्यक्ष विनय तामाङले बताएका छन्।

शुक्रवार दार्जीलिङमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना एवं संस्कृति विभाग र नेपाली  अकादमीको संयुक्त आयोजनमा स्थानीय लुइस जुबलीमा आयोजित कवि कविका 92औं जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले कवि अगमसिंह गिरीको सही सम्मान नभएको बताएका हुन्।

यसका साथै तामाङले अगमसिंह गिरी जयन्तीलाई सरकारी विदा घोषणा गर्नुपर्ने मागमाथि जोड़ दिए। यसका लागि नै उनले दार्जीलिङ पहाड़का साहित्यकारहरूलाई राज्य सरकारसमक्ष पत्राचार गर्ने पनि अपील गरेका छन्।

समारोहलाई सम्बोधन गर्दै गोजमुमो अध्यक्ष तामाङले भने, “भारतमा गोर्खा जातिका जातीय कवि अगमसिंह गिरीले सही सम्मान पाउनै सकेका छैनन्। बङ्गाली समुदायले रवीन्द्रनाथ टेगोरलाई जस्तो सम्मान दिइरहेको छ, त्यस्तै सम्मान जातीय कवि अगमसिंह गिरीलाई पनि दिन आवश्यक छ।

उनले थप भने, “यस दिशामा एक कदम अघि बढ़ाउन दार्जीलिङ पहाड़का सम्पूर्ण साहित्यकारले राज्य सरकारलाई पत्र लेखेर गिरी जयन्तीलाई राज्य सरकारद्वारा विदा घोषणा गरियोस् भन्ने माग गर्नुपर्छ।

दार्जीलिङ पहाड़का साहित्यकारहरूले यस विषयमा राज्य सरकारलाई पत्राचार गरेको खण्ड थप कार्य आफूले गर्ने विनय तामाङले बताएका छन्।

यसरी, नै यसै समारोहलाई सम्बोधन गर्दै जीटीए अध्यक्ष अनित थापाले जातिका लागि राजनीतिबाट माथि उठेर काम गर्ने प्रतिबद्धता जाहेर गरे। उनले भने, “हामीसित जातिका उत्थान, विकास र हितमा काम गर्ने जोश छ, यसका लागि सही मार्गदर्शकको खाँचो छ।उनले यस समारोहमा उपस्थित साहित्यकारहरूलाई लक्ष्य गर्दै भने, “मलाई जातिका लागि सही काम गर्ने तपाईंहरूजस्ता मार्गदर्शकको आवश्यकता छ।

यसैबीच, उनले यस वर्षको गिरी पुरस्कार साथै जीवनकालीन उपलब्धि पुरस्कारको पनि घोषणा गरे। जसअनुसार, यसपालि जीवनकालीन उपलब्धि पुरस्कार कला अनि संस्कृतिका लागि सोनाम छिरिङ, शिवकुमार राई स्मृति पुरस्कार नाट्य क्षेत्रमा खगेन्द्र दीक्षित, साहित्यमा प्रदीप गुरुङ, सङ्गीतमा अरुणा लामा स्मृति पुरस्कार दावा ग्याल्मो र नवोदित कलाकारका लागि छुजाङ डुक्पा पुरस्कार अजनिश राईलाई प्रदान गरिने भएको छ।

यसका साथै जीटीएले अर्को वर्षदेखि स्व. धनवीर मुखिया स्मृति पुरस्कार पनि दिने घोषणा गरेको छ। विशेष उत्कृष्ट नाट्यकर्मीहरूलाई नै उनीहरूको योगदानको कदर गर्दै यो पुरस्कार दिइने भएको सूचना एवं सांस्कृतिक विभागका सह-निर्देशक भानुकान्त घिसिङले जानकारी गराए। जीटीएले यी पुरस्कारहरू नेपाली नयाँ वर्ष अर्थात पहिलो बैशाख 15 अप्रेलको दिन एक कार्यक्रममाझ यो पुरस्कार प्रदान गर्ने भएको छ।

स्मरण गराइन्छ, दार्जीलिङ पहाड़मा दार्जीलिङ गोर्खा पार्वत्य परिषद्को गठन भएदेखि यता विभिन्न विधाका व्यक्तित्वहरूलाई गिरी पुरस्कारद्वारा सम्मानित गर्ने कार्य गर्दै आइरहेको छ।

जसअनुसार, दागोपाप गठन भएपछि प्रथमपल्ट सन् 1994-मा अम्बर गुरुङलाई यो सम्मानले विभूषित गरिएको थियो भने दागोपापकै पहलमा सन् 2005-मा यो पुरस्कार प्रदान गरिएको थियो। तर दार्जीलिङ पहाड़को राजनीतिक परिवर्तनसँगै क्षेत्रीय व्यवस्थामा पनि परिवर्तन भएपछि करिब 7 वर्षसम्म यो पुरस्कार दिने चलन ठप्प नै बनेको थियो।

यद्यपि, दागोपापको साटो दार्जीलिङमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को स्थापना भएपछि पुनः सन् 2013-देखि यता लगातार यो पुरस्कार विभिन्न विधाको लागि प्रदान गर्ने काम भइरहेको छ।

विविध कार्यक्रममाझ पालन गरिएको यस गिरी जयन्ती समारोहबीच जीटीएद्वारा तयार पारिएको वर्ष 2020-को क्यालेण्डर पनि विमोचन गरियो।

यसअवसरमा दार्जीलिङ साहित्यकारहरूको पनि बाक्लो उपस्थिति थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here