
नयाँ दिल्ली, २६ दिसम्बरः पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको बिहीवार राति निधन भएको छ । स्वास्थ्यमा समस्यामा देखिएपछि उनलाई उपचारका लागि आजै अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) मा भर्ना गरिएको थियो ।
भारतीय अर्थव्यवस्थाका ‘भीष्म पितामह’ मानिने सिंह दुईपटक देशका प्रधानमन्त्री बनेका थिए । उनले मई २००४ देखि मई २०१४ सम्म केन्द्रमा कङ्ग्रेसनेतृत्व संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) सरकारलाई नेतृत्व गरेका थिए ।
मनमोहन सिहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पन्जाब प्रान्तमा भएको थियो । यो क्षेत्र अहिले पाकिस्तानमा पर्छ । उनले क्याम्ब्रिज विश्वविद्यालयबाट मास्टर्स र अक्सफोर्ड युनिभर्सिटीबाट डी फिल गरेका थिए ।
उनको निधनप्रति राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्रमोदी लगायत अन्य नेताहरूले शोक समवेदना प्रकट गरेका छन् ।