
सिलगढी, २७ दिससम्बरः सिक्किम- दार्जिलिङ एकीकरण मञ्चले त्रिपक्षीय वार्तालाई महाधोका र बङ्गालको षड्यन्त्र बताएको छ ।
मञ्चको दाबी छ – दार्जिलिङको भूभाग बङ्गालको हुँदैन होइन, सिक्किमको हो, त्यसैले त्रिपक्षीय वार्तामा बङ्गालको उपस्थिति रहनु महाधोका र षड्यन्त्रबाहेक अर्थोक केही होइन । यस कुरालाई जनताले बुझ्नुपर्छ ।
सिक्किम-दार्जिलिङ एकीकरण मञ्चका महासचिव शङ्करहाङ सुब्बाले त्रिपक्षीय वार्ताको माग गर्ने दार्जिलिङ पहाडका नेताहरूमाथि कटाक्ष गर्दै १९८६ देखि यता अहिलेसम्म भएका त्रिपक्षीय वार्तामार्फत त्यस्तो उल्लेखनीय फल के प्राप्त भयो त भन्ने प्रश्न गरेका छन् ।
उनका अनुसार त्रिपक्षीय वार्ताको माग गर्नेहरू राजनीतिक रूपमा अज्ञानी, अबुझ र पाखण्डीहरू हुन् ।
“घरी घरी त्रिपक्षीय वार्ता हुनुको औचित्य के छ ? त्रिपक्षीय वार्ता हुनु हुँदैन । यो महाधोका र बङ्गालको षड्यन्त्र मात्र हो”, उनले भनेका छन्, “यदि बङ्गालको षड्यन्त्रमा दार्जिलिङ पहाडका नेताहरूले त्रिपक्षीय वार्ता गर्छ भने त्यसको जनताले कडा रूपमा विरोध जनाउनुपर्छ ।”
सुब्बाले सोझै भनेका छन् – दार्जिलिङको भूभागको मालिक बङ्गाल होइन, सिक्किम हो । त्यसैले बङ्गाल सरकारलाई सामेल गराइ गरिने कुनै पनि त्रिपक्षीय वार्ता ठुलो धोका र षड्यन्त्र मात्र हो । भारत सरकारले सिक्किम सरकारसँग द्विपक्षीय वार्ता गरी सिक्किम-दार्जिलिङ एकीकरणका लागि पहल सुरु गर्नुपर्छ ; किनभने दार्जिलिङको भूभागको पर्मनेन्ट पोलिटिकल सल्युसन अर्थात पीपीएस सिक्किम-दार्जिलिङ एकीकरण नै हो ।
अर्कोतर्फ उनले भारत सरकारले सिक्किम-दार्जिलिङ एकीकरणलाई लिएर अघि कार्य गरिसकेको दाबी पनि गरेका छन् ।
“अहिले जुन परिस्थितिको निर्माण भइरहेको छ, त्यसले एकीकरणतर्फ नै सङ्केत गर्छ”, सुब्बाको ठोकुवा छ ।
एकीकरणलाई लिएर सचेत र सक्रिय बन्न उनले जनतालाई आह्वान गरेका छन् ।
उल्लेखनीय छ, सिक्किम-दार्जिलिङ एकीकरण मञ्चले लगातार रूपमा सिक्किम-दार्जिलिङ एकीकरणको मुद्दालाई अघि बढिरहेको छ ।
मञ्च विश्वस्त छ – एक दिन सिक्किम-दार्जिलिङ एकीकरण हुन्छै हुन्छ ।