सिटोङमा पर्यटन उत्सव शुरु, ग्रामीण पर्यटनको विकास मुख्य उद्देश्य

0
1808
उत्सवको पहिलो दिन उपस्थित दर्शक र अतिथिहरू।

खरसाङ , 28 जनवरी : सोमवारदेखि सिटोङमा पर्यटन उत्सव शुरु भएको छ। यो उत्सव तीनदिनसम्म चल्नेछ। सिटोङ क्षेत्रको परि-पर्यटनको विकासलाई लक्ष्य राखेर यो उत्सव आयोजन गरिएको भए तापनि यसको उद्देश्य उत्सवमा सहभागी पर्यटकहरूलाई पहाड़का विभिन्न समुदायका परम्परा र संस्कृतिबारे जानकारी गराउनु पनि हो।

उत्सवका लागि आयोजक सिटोङ पर्यटन उत्सव समितिलाई राज्य र जीटीएको पर्यटन विभागले सहयोग गरेका छन्। आज जीटीएको बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) –का उपाध्यक्ष अनित थापाले यो उत्सवको उद्घाटन गरेका थिए।

सिटोङ परिपर्यटनका लागि एक परिचित ठाउँ हो। यहाँ वर्तमान 30 वटा होमस्टे सञ्चालित छन्। सिटोङ क्षेत्रमा ग्रामीण पर्यटनका पर्याप्त सम्भावना छ। साथै पर्यटन व्यवसाय फस्टाउँदै जाँदैछ।

आयोजक समितिका अध्यक्ष विक्रम राईका अनुसार सिटोङ क्षेत्रमा यस प्रकारको पर्यटन उत्सव आयोजन गरिएको यो पहिलोपटक हो। उनीहरूले यसलाई अब आगामी वर्षदेखि वार्षिक उत्सवको रूपमा मनाउने योजना बनाइरहेका छन्।

“सिटोङ पर्यटन क्षेत्रमा राम्रो सम्भावना भएको ठाउँ हो। यहाँ घुम्नका लागि धेरै राम्रा ठाउँहरू छन्। सिटोङ घुम्न आउने पर्यटकहरूले यहाँका धार्मिक स्थलहरू, सूर्योदय हेर्न लायकको ठाउँ आदि छन्”, राईले थपे, “यसका साथै सिटोङ बर्ड वाचिङका लागि पनि राम्रो ठाउँ हो। यहाँ लगभग 253 प्रजाति चरा चुरुङ्गी पाइन्छन्।

राईले पर्यटकहरूको आकर्षणका लागि सिटोङमा रक गार्डनको निर्माण पनि चाँड़ै शुरु हुनेछ।

पाँचपोखरी, नामथिङ पोखरी, पुरानो लेप्चा गुम्बा, सुन्तला बारी आदि सिटोङमा घुम्नका लागि आकर्षणका केन्द्रहरू हुन्। पाँच पोखरी र नामथिङ पोखरीमा दुर्लभ सेलामेण्डर पाइन्छ।  साथै सिटोङमा दुर्लभ हङ्ग्रायो पनि पाइन्छ।

यो तीनदिने पर्यटन उत्सवमा यहाँ पाइने चराहरूमाथि फोटो प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, विभिन्न ब्याण्डको प्रस्तुति, फोटोग्राफी, बर्ड वाचिङलगायत मङ्पूस्थित रवीन्द्र भवन, अहाले डाँड़ा, 250 वर्ष पुरानो गुम्बा, 139 वर्ष पुरानो चर्च, सिटोङ झरनाको भ्रमण आदि कार्यक्रम छ। यसका साथै चित्रकारितामाथि कार्यशाला, बस अनि चित्र बनाऊँ प्रतियोगिता, फोटोग्राफीमाथि सङ्गोष्ठी र कार्यशाला, पारम्परिक खाद्यान्न, रक क्लाइबिङ, आर्चेरीलगायत अन्य खेलकुद तथा डल्ले खोर्सानी, चिली मःमः र सुँगुरको उसिनेको मासु खानेलगायत अन्य प्रतियोगिता रहेका छन्।



कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here