दार्जीलिङ, 28 जनवरीः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-का संस्थापक अध्यक्ष सुवास घिसिङको पाँचौं पुण्यतिथिमा उनका छोरा एवं गोरामुमोका वर्तमान अध्यक्ष मन घिसिङले श्रद्धाञ्जली अर्पण गर्दै ‘आप्पा’-को सपना साकार भए मात्र उनलाई साँचो श्रद्धाञ्जली हुने बताएका छन्।
मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गरी मन घिसिङले आफ्नो ‘आप्पा’-ले देखेको गोर्खा जातिको सपनालाई पूरा गर्न लागिपरेको पनि बताएका छन्।
मनले विज्ञप्तिमा आफ्नो पितालाई एक महान् युगपुरुषको संज्ञा दिँदै उनले गोर्खा जातिको उन्मुक्तिका लागि आफ्नो सम्पूर्ण जीवन नै अर्पण गरेको बताएका छन्।
‘धेरै सङ्घर्षपछि आज हामी आफ्नो स्वाभिमान, जातीय एकतालाई दह्रो बनाउन सफल भएका छौं’, उनले भनेका छन्, ‘यो गोर्खा जातिका लागि ठूलो उपलब्ध हो।’
यसका साथै गोरामुमो आपसी भाइचारा र अनुशासनमा रहेर आफ्ना जाति र माटोका लागि समर्पित ‘आप्पा’ सुवास घिसिङको सिद्धान्तअनुरूप काम गर्ने समय आएको पनि बताएका छन्।
‘यो गोर्खा जाति र माटोका लागि आप्पा सुवास घिसिङको सपना पूरा गर्न जबसम्म तपाईं हामी एक भएर अघि बढ़्दैनौं, तबसम्म हामी हाम्रो लक्ष्यमा पुग्दैनौं’, उनले भनेका छन्।