मिरिक, 28 जनवरी (अजित विश्व): पहाड़की छोरी सलोमी राईले सलोमी राईले मिस हिमालय वर्ल्डवाइड 2021-को उपाधि जितेकी छन्।
यससँगै उनी मिस इन्डिया कन्टिनेन्टको उपविजेता पनि बनेकी छन्।
पछिल्लो 23 जनवरीका दिन राष्ट्रिय राजधानी दिल्लीमा आयोजित यी दुवै प्रतियोगिताको फाइनलमा सिटोङ-3 निवासी सलोमी राई पुगेकी थिइन् भने मिस हिमालय वर्ल्डवाइड 2021 को उपाधि जित्न उनी सफल भइन् भने मिस इन्डिया कन्टिनेन्टमा उपविजेता बनिन्।
दत्तचित्त बनेर कुनै कार्यमा निरन्तर अघि बढ़ेमा असम्भव भन्ने कुरा केही छैन भन्ने उक्तिलाई सलोमीले चरितार्थ पारेकी छन्।
“आफूसँग भएका कला प्रस्तुत गर्न सङ्घर्ष गर्नुपर्छ”, हिजै मात्र दिल्लीबाट आफ्नो घर फर्केकी उनले पत्रकारहरूसँग कुराकानी गर्दै भनिन्, “जसले सङ्घर्ष गर्छन्, उसले अवश्यै सफलता प्राप्त गर्नेछन्।”
सलोमीका अनुसार प्रतियोगितामा देशका विभिन्न प्रान्तबाट प्रतियोगीहरू आएका थिए।
सानैदेखि मोडलिङमा रुचि राखेकी 21 वर्षीय सलोमी भगत राई र दिलकुमारी राईकी सुपुत्री हुन्।
“मोडलिङको क्षेत्रमा आउनका लागि मैले धेरै सङ्घर्ष गरेकी छु’’, उनी थप्छिन्।
यो उपलब्धिको श्रेय सलोमीले आफ्ना आमा-बाबालाई दिएकी छन्। साथै आफूहरूलाई ऊर्जा प्रदान गर्ने सबै शुभचिन्तकप्रति उनले आभार प्रकट गरेकी छन्।