कवि राजेन्द्र भण्डारीलाई पाँच प्रश्न

0
929
  • मोहन ठकुरी

सम्झनाहरू छन्।

कवि र कविताका कुरा छन् । उनका । जीवन र जगत्-का कुराहरू छन् । उनका ।  सिद्धान्त र अप्ठ्यारा गल्लीहरूमा पसेर अलमल्ल पर्ने कुरा छैन – आज हाम्रो ।

जीवन छ र जगत् छ । सिर्जनाका स्रोत यिनै हुन् – उनका ।

उनलाई शब्दहरूसित असाध्यै मोह छ । शब्दहरूसित आत्मीय र सहज सम्बन्ध भएका कारण नै आफ्ना कवितालाई मोहकता दिन सक्षम छन् कवि ।

उनी हुन् – हामी सबैका आदरणीय र प्रिय कवि राजेन्द्र भण्डारी ।

उनका कविताकृतिहरूबाट केही कविता, केही मन परेका शब्दहरू राख्न मन लागेको छ अहिलेलाई :

यी शब्दहरूलाई मैले

शून्यबाट ओकलेर निकालेको होइन

यिनीहरूलाई मैले

सहरका ठुलाठुला राजमार्गका

दायाँ र बायाँ पेटीबाट

मध्याह्नको भामरमा छट्पटाउँदै गर्दा

उठाएर ल्याएको हुँ।

हावामा मुट्ठी घुमाएर उब्जाएको होइन

मैले यी हरफहरूलाई।

यिनीहरूलाई मैले

वन र बेँसी

कान्ला र भिरबाट

पैह्रोमा पुरिँदै गर्दा उचालेर ल्याएको हो।

(यी शब्दहरू: यी हरफहरू)

यतिले मात्र कविलाई पुगेको छैन ; कविताको पुछारका लहरतिर उनले जीवनको गम्भीर दर्शनलाई उचालेर राखेका छन् :-

झुटा लाग्न सक्छन् तिमीलाई यी शब्दहरू

स्टेसनका चटकेजस्तै

फटाहा र जाली देखिन सक्छन् यी हरफहरू

तर ठुलो रेललाई

मसिना लिकले थामेको सत्य हो।

लिकलाई असङ्ख्य रोडाले काँध हालेको

झन् सत्य हो

(यी शब्दहरू: यी हरफहरू)

XXXX

उनको पहिलो कविता सङ्ग्रहमा – ‘हिउँदे यी चिसा रातका पर्दाहरूमा छोरी एक्लै बजार गरी वरी फर्केको, आमाचैँले हाँस्दै हाँस्दै नानीलाई दुध चुसाएको, आफू पेटीमा बसेर बङ्गाली बेर्दै हेरिरहेको, टाउकाहरूले ननिहुरीकन पैतालाहरू हिँडेको सपना देख्ने गर्छु म।’

(हिउँदे यी चिसा रातका पर्दाहरूमा)

कुनै बेला ‘वैकुण्ठै’ जस्तो देखिने दार्जिलिङ अरूको कुभलो र आफ्नैहरूका व्यक्ति स्वार्थ र अदूरदर्शिताले बिरूप देखिने भएको छ।

दार्जिलिङ १९९१ –मा कविले अहिलेको दार्जिलिङको फोटोकपी पाठकलाई देखाउँछन्:-

रुँदा रुँदा थाकेर रातको तेस्रो पहरतिर

एकैछिन निदाउँछिन् पर्वतकी रानी।

ब्युँझेपछि छक्क पर्दै छटपटिन्छिन् –

कहाँ गयो मेरो गलाको हार ?

नाकको फुली कहाँ हरायो ?

कहाँ गए राजकुमारहरू ?’

XXX       XXX    XXX

अचेल दार्जिलिङले दार्जिलिङलाई सपनामा देख्छ

दार्जिलिङको यादले अचेल दार्जिलिङलाई सताइरहन्छ।

(क्षर/अक्षर – १९९८)

‘क्षर/अक्षर’-मा कविका ‘तीन हरफे कविताहरू’ पनि छन्। तीमध्ये केही यहाँ राखेको छु –

अहम् विसर्जन

गङ्गामा पुगेपछि

बिर्स्यो टिस्टाले

आफ्नै अनुहार।

निरपेक्षता

रेलमा चढ्यो साथी, रोएँ म

रेलका लागि

रोएन जङ्क्सन।

कविता-

नसिँगार शब्दले ए कवि !

त्यसै पनि सुन्दरी छे

शून्यता।

सत्यको इलाका

फर्क शब्द

यहाँदेखि उता मैले

एक्लै जानुपर्छ।

अब हामी आइपुग्छौँ – शब्दहरूको पुनर्वासमा । क्राइष्टाब्द २०१० मा प्रकाशित । एउटा बेजोड कविता छ विम्बमा उभ्याइएको बेरोजगार युवाको आइडेन्टिटी कार्ड। कवितामा व्यवस्थाको विकृत रूपलाई व्यङ्ग्य छः-

ठेगाना : जहाँबाट कञ्चनजङ्घा देखिन्छ

अलिकति हिँडे कछार भेटिन्छ

जहाँ खोलाहरू लोकगीत गाउँछन्

जहाँ मान्छे शोकगीत गुनगुनाउँछन्।

XXXX           XXXX

इः यहाँ टाँस्नुपर्छ पासपोर्ट साइजको फोटो।

फोटो यस्तो होस् –

दुइवटा कान देखिएको हुनुपर्छ –

एउटा बजारको भाषण सुन्नलाई

अर्को घरको कचकच सुन्नलाई।

खुट्टा निस्किनु हुँदैन

किनभने तिमीले पुग्नु कतै छैन।

छातीचाहिँ देखिएको हुनुपर्छ पेट काटिएको।

छाती भएको, पेट नभएको तिम्रो फोटोलाई

सत्यापित गर्नुपर्छ, कुनै छाती नभएको

पेट मात्र भएको गेजेटेड अफिसरले।

बस् तिम्रो आइडेन्टिटी कार्ड तयार।

त्यो बोकेर

तिमी निर्धक्क हिँड्न सक्छौ

सियाचिनदेखि कन्याकुमारीसम्म

छम्बलदेखि डिमापुरसम्म

मन सिउरिने काँटी खोज्दै हिँड कि

पेट सुधार्ने थाल खोज्दै हिँड।

एउटा कविता छ – ‘दिल्ली अनि म।’ दिल्लीले नचिनेको म ऊ दुखेको छ।

कविताले भन्छः –

जति जति म दिल्लीतिर लाग्छु

उति उति दिल्ली पर सरिदिन्छ।

XXX

अरू सबै पुगेको दिल्ली

म कहिल्यै पुग्न सक्दिनँ।

म दिल्लीलाई देख्छु

दिल्लीले मलाई देख्दैन।

म दिल्लीलाई चिन्छु

दिल्लीले मलाई चिन्दैन।

XXX

दिल्लीले मेरो छातीको नाप चिन्छ

मेरो रगत चिन्छ

मेरा एक जोर आँखा चिन्छ

मेरा पखुरा चिन्छ

मलाई चिन्दैन।

(इतिहासको बाडुली -२०१९)

राजेन्द्र भण्डारी नेपाली साहित्य जगत्-का एक सम्माननीय र सशक्त कवि हुन्। उनको नामबिना नेपाली कविता अधुरो देखापर्छ। ‘झल्याकझिलिक खुसी अनि फेरि दुःख। मिलिक्क आउने सुख अनि झट्टै व्याप्त हुने विषाद।’ यिनै कुराले उनका कवितालाई सशक्त बनाउन सर्वोपरि सहयोग पुऱ्याएको छ। उनले आफ्ना कविताहरूका सम्बन्धमा यस्तो भनेका पनि चासोपर्दो छः –

……कविताका कथास्रोत, कथाका काव्यस्रोत अथवा नाट्यस्रोतहरू हुन्छन् । हरेक कविताभित्र कुनै न कुनै कथा लुकेकै हुन्छ। मेरा कविताका कथास्रोतहरू मैले जानेका, भोगेका, सुनेका, देखेका वा कल्पिएका क्षणबोधहरू हुन्, स्थितिबोधहरू हुन्। मेरा कविताहरूको कुनै भङ्गालो निम्नवर्गीय ग्रामीण जीवनका हर्षामर्षहरूले भरिएको छ। किसानको घर-आँगन, दाउरा-घाँस, खोला, घाम-पानी, खडेरी-पैह्रो, संस्कार, रीतिथिति, विपन्नताजन्य नैराश्य, सरल, युगीन विसङ्गति आदि नै धेरजसो कविताका कथास्रोतहरू हुन्। पूर्वीय संस्कृति, रहस्यबोध, मुक्ति, देहआत्मा, तत्त्वबोध आदिप्रति पनि म निकै खिँचिएको हुँ।

उनीबारे आज यति नै लेखेको छु। उनका कविताका विस्तृत अध्ययनका लागि उनका छः कविताकृति (हिउँदे यी चिसा रातका पर्दाहरूमा– १९७९), यी शब्दहरूः यी हरफहरू- १९८६, क्षर/अक्षर-१९९८, प्वाँखहरू र आकाश (सम्पादक निमेष निखिल-२०१०), इतिहासको बाडुली-२०१९, उनका कविताको अध्ययन- कविता विचरण (सम्पादक नवीन पौड्याल- २०२१), राजेन्द्र भण्डारीका प्रतिनिधि कविता (सम्पादक महेश पौड्याल) अनि प्रश्नहरूका घेरा  – अन्तर्वार्ताहरू (२०१३)-ले ठुलो सहयोग पुऱ्याउने निश्चित छ।

प्रश्न-एक : जर्मनी र इटलीका कविता महोत्सवमा तपाईंले वाचन गर्नुभएका कविताहरूका शीर्षक र अरूहरूका प्रतिक्रियाबारे अलिकति जान्न पाऊँ।

उत्तर : जर्मनीको बर्लिनमा वाचन गरिएका कविताहरू हुन् –

  • बजार गरेर
  • वार्षिक परीक्षाका केही प्रश्न
  • समय बित्दैन
  • दिनको पाइला
  • फैलिँदो ब्राह्मण्ड
  •  मेरो जन्म दिन र बा

बर्लिनमा म सत्रौँ विश्व कविता महोत्सवमा सहभागी बन्न गएको थिएँ । अत्यन्त विशाल आयोजन थियो । कविता मेरो मातृभाषा नेपाली र जर्मनीमा प्रस्तुत गरियो । मैले नेपालीमा र जुडिथ यान्डरले जर्मनीमा । वाचनपछि केही प्रश्नोत्तर भए । विशाल बहुभाषिक देश भारतमा तिमी आफैँलाई कुन लोकेसनमा पाउँछौ ? मैले भनेँ – भारतमा हामी विभिन्न प्रान्तमा छरिएर बसेका छौँ ।  नेपाली भाषा नै अहिलेसम्मको मेरो लोकेसन हो । भाषिक एकाइका रूपमा हामी सबै चिनिन्छौँ । उत्तर दिने क्रममा मैले भने – मेरा कविताले मेरो युगीन यथार्थ, सामाजिक-राजनीतिक यथार्थ अनि केही सूक्ष्म मानवीय संवेदना बेहोरेको हुन्छ। बर्लिनका स्रोता गुरुगम्भीर हुँदारहेछन् । मेरा कवितालाई खुब सराहना गर्दै उनीहरूले तिनलाई बर्टोल ब्रेख्टीय परम्पराका सामाजिक कविता भने। उनीहरू सूक्ष्म संवेदनाका कविता लेख्दा रहेछन्।

इटलीको रोममा वाचन गरिएका कविताहरू –

  • …….तैपनि

सिरियाई शरणार्थीहरूका पक्षमा नैतिक समर्थन जुटाउन यो विश्व कविताको भेला आयोजन गरिएको थियो । मलाई यही निश्चित उद्देश्यका लागि निमन्त्रणा गरिएको थियो। त्यहाँ पठन गर्न मलाई पहिल्यै कविता मागिएको थियो। ….तैपनि नामक कविता पठाएको थिएँ । त्यही पढेँ। यही नै Salt Boundaries भन्ने ग्रन्थमा पनि सङ्गृहीत छ। एलभिरा केजोभिच, नोर्बर्तो इत्सा जस्ता मूर्धन्य साहित्यकारहरूले यस कवितालाई सङ्ग्रहको सर्वोत्तम कविता भनेर प्रशंसा गरे। यसबाट मलाई आफ्नो यात्रा सार्थक भएको लाग्यो।

  • त्यो दुख्दो सिरिया यो कविता कविता मैले खुला मैदानमा भएको वाचन कार्यक्रममा पढेँ। यसबाहेक अरू पनि कविता पढेँ । जस्तै – एउटा संवाददाताको दुःख, बक्सिङ रिङहरू, चिजहरू जन्माइरहेका चिजहरू, कविता र चिल आदि।

प्रश्न-दुईः तपाईंको जीवनमा बिर्सनै नसकिने घटनाहरू-बाल्यकाल, युवाकालको ?

उत्तर – सानो छँदा हुल बाँधेर स्कुल गइन्थ्यो, आइन्थ्यो। हामी केही सहपाठी, कोही साना, कोही अलिक ठुला । ठुस्काठुस्की पर्नु, मिल्नु सामान्यै थियो । एकपटक स्कुलबाट फर्कँदै गर्दा विष्णुभक्त भन्ने एकजनासित बाटामै रिसारिस भयो । अग्लो भिरको बाटो आउँदै गर्दा त्यसले मलाई ठेलेर भिरबाट लडाइदियो, म सायद कक्षा दुईमा पढ्दै थिएँ जस्तो लाग्छ । दस-बाह्र बुल्डुङ ओरालो लडेँ । हात खुट्टा त केही भएन, आँखामा चाहिँ चोट लाग्यो । आँखा रातो भएर सुनियो । आमाले घरमा धोएर सेकिदिनुभयो । भोलिपल्ट पनि आँखा रातै थियो। भोलिपल्ट मेरी ठुल्दिदीको बिहे थियो। बिहेको रौनकतामा पनि आँखा दुखेर म झोक्राइरहेँ । त्यो मेरो भुल्न नसकिने घटना थियो।

प्रश्न-तीनः तपाईंलाई अत्यन्त प्रिय लाग्ने कुरा ? अत्यन्त मन नपर्ने नि ?

उत्तरः मलाई कविता लेख्दै गर्दा र फाइनल टच दिइसकेपछिको क्षण साह्रै आनन्दिलो लाग्छ। यो खुसी अरू कुनै खुसीसित दाँज्न मिल्दैन । त्यसपछि प्रिय लाग्ने कुरा सुन्दरता हो । कुनै पनि सुन्दर कुराले मलाई खिँच्दछ । सुन्दर भन्नाले प्राकृतिक सुन्दरता, नारीको रूपसौष्ठव, मानवीय व्यवहारको सुन्दरता, शिशुको निर्दोषिता, सुन्दर कलाकृति, कविता र अन्य संरचना इत्यादि । सर्वाधिक सुन्दर त आफ्नो मनभित्रको भ्रम टुट्दाको क्षण नै हुन्छ । वास्तवमा बोध अति मिठो  र सुन्दर लाग्छ । असमर्थ र असहायप्रति समर्थ र शक्तिशालीले गर्ने दमन नै मलाई पटक्कै मन पर्ने कुरो हो। असह्य पीडामा परेको छ संसारको जनसङ्ख्याको ठुलो भाग । शक्ति राष्ट्रले कमजोर राष्ट्रहरूलाई थिचोमिचो गरेका छन् । यो शोषण देशभित्र, समुदायबिच, जातिजातिबिच, गाउँटोल र क्षेत्रक्षेत्रबिच, फैलिएको छ। बालयौन शोषण, बालश्रमशोषण, असक्त-विकलाङ्गहरूका शोषण, महिलामाथि दुर्व्यवहार, बलात्कार, दण्डहीनताका घटना देख्दा, समाचार सुन्दा हृदय छियाछिया हुन्छ । यी नै मलाई मन नपर्ने कुराहरू हुन्।

प्रश्न-चारः हामी तपाईंलाई सौम्य, विनम्र, भद्र स्वभावमा पाएर खुसी हुन्छौँ । तपाईंचाहिँ आफूसित कसरी खुसी हुनुहुन्छ ?

उत्तरः मन परेका वस्तु, व्यक्ति स्थितिलाई पाउँदा सबै खुसी हुन्छन्, म पनि खुसी हुन्छु । मलाई शिशुहरू औधी मन पर्छ । शिशुहरू खेलेको, हाँसेको देख्दा खुसी हुन्छु । हृदय र मस्तिष्क रचनात्मक भएको क्षण म साह्रै खुसी हुन्छ। एउटा कविता लेखेपछि वा भनेजसरी टुङ्ग्याउन पाए मलाई धेरै दिन खुसी लाग्छ । माया पाउँदा, माया दिँदाका पलहरूमा पनि म रमाउँछु ।

प्रश्न-पाँचः बैँसालु दिनहरूमा कसैसित प्रेम त गर्नु नै भयो तपाईंले । आज प्रेमबारे मात्र मनमा लागेका कुरा भनिदिनुस् न ।

उत्तरः तपाईंले नारीपुरुषबिचको प्रेम नै भन्नुभएको होला । खै केलाई प्रेम भन्ने । यो बार्धक्यमा आइपुग्दा मलाई लाग्छ आदर्श प्रेम  नै मैले गरिनँ रहेछु । बाल्यकाल सङ्घर्षमै बित्यो । गरिबी र दुःखमै बित्यो । प्रेम मेरो क्षमताभित्र पर्ने विषय नै होइन भनेर जवानी बित्यो, तर मलाई थाहा छ – म सानैदेखि नारीरूपप्रति मोहित हुन्थेँ । जन्मिँदैदेखि म प्रेमिल थिएँ ।  प्रेम कथा पढ्थेँ । प्रेम गरेको देख्थेँ । कलेज पढ्दा अरूका प्रेम पत्र लेखिदिन्थेँ । मैले लेखेको प्रेम पत्रका कारण मेरो साथी प्रेममा परेको, रङ्गीन क्षणमा रमाएको देख्दा म फुरुङ्ग पर्थेँ । अलिकपछि नोकरी पाएर आफ्नै खुट्टामा उभिने भएपछि म प्रेममा एकाधपल्ट परेको छु । प्रेमको मादकतामा रमाएको अनुभव मलाई छ, तर ती सबै स्वाभाविक रूपले क्षणिक थिए । अविश्वास वा धोका थिएन । अहिले बुझ्दा त्यो सम्मोहन (Infatuation) रहेछ । मलाई निकैजनाले रुचाएको पनि मैले थाहा पाएँ तर त्यो प्रेमको तहमा पुग्न सकेन , तर मलाई थाहा भयो प्रेमको आभाष। प्रेमको शक्ति । घन्टौँ सँगै हिँडेपछि रेलयात्रामा कति सहयात्री साक्खै हुन्छन् । ठेगाना साटिन्छ । खाना साटेर खाइन्छ । अन्तरङ्ग सम्बन्ध हुन्छ । फेरि आफ्नो स्टेसन आइपुगेपछि गह्रौँ मन बनाएर छुट्टिनुपर्छ । फेरि भेट्ने वाचा गरिन्छ। एक दुई दिनसम्म याद आउँछ । फेरि आआफ्नै जीवनगतिमा भुल्दै गइन्छ । भेटेकै हो के जस्तोसम्म लाग्छ । ठिक यसै गरी म पनि एक दुईजनासित अन्तरङ्ग भएँ । फेरि टाढा भएँ । जीवनको कुनै अर्को मोडमा फेरि कसैसित अन्तरङ्ग भएँ । समयक्रममा फेरि टाढा भएँ । हो मैले मुनामदन, रोमियो-जुलियटजस्तो प्रेम गरिनँ । गर्छु भन्दा हुने कुरो पनि होइन प्रेम । एउटा कुरो भनूँ ? प्रेमबिना मानिस बाँच्न सक्दैन ।  यो संसार प्रेममै अडिएको छ, नत्र उहिल्यै खलास भइसक्थ्यो । नारीप्रेम बाधित भए पनि प्रेम रोकिने होइन । यसले अर्को रूप लिन्छ नै। आत्महत्या गर्नेले पनि मृत्युलाई प्रेम गरेको हुन्छ । म अहिले पनि प्रेममै छु । जीवनको प्रेम । रहस्यप्रतिको प्रेम । अचेल म कुनै प्रेम गर्नै सक्दिनँ भन्ने होइन, तर अहिले म जीवनको यथार्थसित प्रेममा छु, प्रकृतिसित प्रेममा छु, मानवताप्रति प्रेममा छु, जीवनको सत्वसित प्रेममा छु । अहिले पनि मलाई नारीप्रेम मन पर्छ, तर त्यो अलिक सानो लाग्छ । सम्पूर्ण बघैँचासितै प्रेम भएपछि एक दाना सुन्तला, एउटा आरुबखडा, दुईचारवटा आइफल सानो लाग्नु स्वाभाविकै हो नि होइन र ?   

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here