- जीतबहादुर सुनार
१९ अक्टोबर २०२३। सविता गोम्देन साहित्यकक्षमा वरिष्ठ आख्यानकार राजेन मोक्तानको कथासङ्ग्रहको लोकार्पण-कार्यक्रम राखिएको थियो। सधैँ झैँ मलाई पनि उपस्थित हुने सौभाग्य जुरेको थियो । पारम्परिक भन्दा केही भिन्नै रूपमा पुस्तक लोकार्पित भयो। अझै एउटा कृति थपियो राजेन मोक्तानज्यूको साहित्यिक करियरमा…अझै एउटा कृति थपियो सालबारीको उर्वर साहित्यिक थलामा। सधैँ झैँ परिवेश उल्लासमय थियो, तर पुस्तकको शीर्षकले मलाई हठात् झस्कायो। शीर्षक थियो ‘जार’। अनि त पुस्तकको शीर्षक ‘जार’-ले मलाई विगतको हुस्सेतिर डोऱ्याउन थाल्यो। र, पुस्तक लोकार्पण कार्यक्रममाझै म कताकता विगतको एउटा कालक्षेत्रमा पुगेछु।
६० को मध्य दसकको कुरा। हो, ६५-६६ ताकाकै कुरा हुनुपर्छ। बाल्यावस्था… छ-सात वर्षको उमेर न थियो मेरो। डिगबोइ, दरबान लाइन। तेलकम्पनीले बसालेको पङ्क्तिबद्ध घरहरू थिए। हामी यसलाई ‘लाइन’ भन्ने गर्थ्यौँ। प्रत्येक ‘लाइन’-मा पाँच पाँच घर गरी मोठमा एकचालिसवटा घरले बनेको एउटा टोल थियो। नेपाली र लुसाईहरूको मात्रै बसाइँ थियो। एउटा छुट्टै परिवेश। सीमित सर-साधनमा रमाएर बस्ने युग थियो- त्यो। त्यही टोलमा बस्ने एक जना पाल्पाले बाजे भन्ने व्यक्तिको सम्झना मेरो स्मृतिमा अझै ट्वाङ्ट्वाङ्ती बजिरहन्छ। नाउँको हेक्का रहेन। उमेरले पचासको नेटो काटिसकेको। अग्ला-दुब्ला…खुइलो टाउको…। उमेरभन्दा बढी बुढिएको ढाँचा। तर आवाज भने गह्रुँगो। यही उमेरमै कहाँबाट हो कुन्नि एउटी २५/२६ वर्षकी दुलही भित्र्याए। सबै हतप्रभ। यसको सुइँकोसम्म थिएन कसैलाई। उनकी जेठी पत्नीको विषयमा मलाई जानकारी थिएन। सायद कसैलाई पनि थिएन। पाल्पाले बाजे निकै सक्की मिजासका व्यक्ति थिए। उनले कसैसँग सम्पर्कै राख्तैनथे। उनको घर सधैँ बन्द र चामचुम रहन्थ्यो। उनकी दुहली हम्मेसी घरबाट बाहिर निस्कन्थी। उसलाई प्राय: कसैले देख्तैनथे। ऊ त्यतिखेर मात्रै घरबाट बाहिर निस्कन्थी, जतिखेर एउटा बम्बई मिठाइवाला घन्टी बजाउँदै ‘बम्बई मिठाई लेलो, बम्बई मिठाई’ फलाक्तै मिठाइ बेच्न आउँथ्यो। ऊ मिठाइवालालाई झ्यालबाट बोलाउँथी र मिठाइ किनेर निकै चासो लिएर खाने गर्थी, झ्यालनेरै बसेर। बम्बई मिठाइवाला सधैँ सोझै उसैको दैला अगाडि गएर उभिन्थ्यो। दुलही पनि बाहिर ननिस्की झ्यालबाटै मिठाइ किनेर खान बिर्सन्नथी। पछिपछि त मिठाइवाला ऊसित पानी पनि मागेर खाने गर्न थाल्यो। पाल्पाली बाजे घरमा भएको बेला ऊ निस्कन्नथी। मिठाइवाला दैला अगाडि उभिएर घन्टी बजाइरहन्थ्यो – ‘बम्बई मिठाई ले लो, बम्बई मिठाई…।’ पाल्पाली बाजे जङ्गिएर ढोका उघार्थे र सनक देखाउँथे -‘नै चाहियो भन्या… नै समझ्ता? दुसरा ठाम्मे जाओ। रातपालि ड्युटी है। सुत्ने दो।’ अनि मिठाइवाला लुरुक्क अघि बढ्थ्यो। तर पाल्पाली बाजे घर नभएको बेला मिठाइवाला आएर सोझै उनैको बरन्डामा बस्थ्यो। दुलहीले मिठाइ किनेर खाने र पानी दिने क्रम अनवरत चलिरहन्थ्यो। उनीहरू बरन्डामा बसेर निकै बेर गफ मार्ने क्रम पनि बिस्तारै थालियो, अनि नजानिँदो पारामा यो क्रम क्रमशै बढ्दै गयो।
एक कान दुई कान मैदान। टोलमा गाइँगुइँ कुरा चल्न थाले… विशेष गरी आइमाईहरूमाझ। कतिले उनीहरूमाथि आँखा गाडेका हुन्थे त कतिले चियो गरिरहेका हन्थे। जतिखेर बम्बई मिठाइवाला आउँथ्यो, आइमाईमानिसहरू जोरिएर आपस्तमा कानेखुसी गर्नेगर्थे अनि कहिलेकाहीँ उनीहरूको खासखुस सुनिन्थ्यो पनि -‘आयो है, पाल्पाले बाजेको जार आयो।’ पाछिपछि त ऊ आयो कि ‘पाल्पाली बाजेको जार आयो…जार आयो’ भन्ने गन्थन सामान्य रूपमा हुनथाल्यो। अनि ऊ दुई-तीन दिन आउन बिरायो भने ‘खोइ, आज पाल्पाले बाजेको जार आएन त। कता हराएछ ! किन बाटो बिर्स्यो जारले !’ आदि आदि कुराका झटाराले टोलको हावा तरङ्गित हुन्थ्यो।
आलाकाँचा उमेरका हामी – ‘जार’ शब्दको अर्थ नबुझेरै होला बम्बई मिठाइवाला आयो भने ‘पाल्पाली बाजेको जार आयो, पाल्पाली बाजेको जार आयो’ भन्दै कुद्थ्यौँ। एकतमासकै रङ्ग हुन्थ्यो।‘ आमा, पाल्पाले बाजेको जार आ’छ। मलाई पनि मिठाई किन्दिनुस् न।’ एक दिन मैले आमालाई भने। आमा पहिले त दङ्ग पर्नुभयो, फेरि मलाई नमज्जाले हपार्दै आइन्दा ‘जार’ शब्द उच्चारण नगर्नू भन्नुभयो। फेरि त्यसको केही दिनपछि प्युठानको साबडाँडाबाट आउनुभएका बुढामामाले पनि मेरो मुखबाट ‘जार’ शब्द उच्चारण भएको सुनेर बेस्करी गाली गर्नुभयो। झन्डै कानको जरो उखेल्नुभएन। त्यसपछि त ‘जार’ शब्ददेखि म यसरी तर्सेँ कि मेरो मुखमा त के, मगजमा पनि यो शब्द छेउ परेन।
एक दिन एउटा घटना घट्यो । त्यो एउटा अजङकै घटना थियो। किनभने त्यसपछि बम्बई मिठाइवाला कहिल्यै देखा परेन। त्यसै दिनबाट दुलही पनि देखिन छाडी । अर्को दिन बुढा पाल्पाली बाजे टोलभित्रै एउटा पिपलको चौतारीमा बसेर सुँक्क-सुँक्क गरेको दृश्य मेरो स्मृतिमा अझै टड्कारो छ । त्यतिमात्रै कहाँ र,पाल्पाले बाजेको सुँक्क-सुँक्कमाझ कैयौँ खेप भक्कानो पनि नफुटेको होइन ।
त्यसताका कतिकतिखेर मेरो अल्लारे मगजले सोच्ने गर्थ्यो यस्तो लाजलाग्दो र असद्दे शब्द नेपाली भाषामा किन बनेको होला, जो उच्चारण नै गर्न नपाइने ! यस्ता शब्द नभैदिएकै बेस हुन्थ्यो !
समय गतिशील हुन्छ । समयले सिको दिइरहन्छ । समयको कमारो मान्छे सिको बटुलेर उमेरको उकालो धाइरहन्छ । बिस्तारै ‘जार’ शब्दको अर्थ खुल्दै गयो । कतिपय साहित्यिक साथीभाइहरूबाट ‘जार’ शब्दबारे केही जान्ने-बुझ्ने मौका पाएँ । शब्दकोशले पनि केही खुलायो । फेरि इन्द्रबहादुर राईको विपना कतिपयको कालजयी कथा जार भएकै एउटा कथा पढ्ने र अलिअलि बुझ्ने मौका पाएँ । कथामा शिवमान घले गुरुङको छोरो रुद्रमान घले गुरुङ हर्षजितकी जोई ठुलीलाई भगाएर ‘जार’ बनेको छ। ‘जार’-को भूमिकामा रुद्रमानको चरित्र हामीलाई गलत लागे तापनि शब्द त आफ्नै हो नि ! झर्रो र नितान्त आफ्नो । न यो तत्सम, तत्भव, न आगन्तुक शब्द नै हो। ‘जार’ त हाम्रा पुर्खाले कल्पेर गढेको शब्द हो । फेरि राजेन मोक्तानको जार कथा-सङ्ग्रहको अन्तिम कथा जार पढेँ। बाघलाई प्रतीकको रूपमा ‘जार’ देखाइएको छ, जसले निकै हिंस्रक र क्रूर भूमिका खेलेको छ। त्यस प्रतिकात्मक पैशाचिक ‘जार’-प्रतिको रिस-द्वेष आफ्नो ठाउँमा हुँदाहुँदै पनि ‘जार’ शब्द पुर्खाबाट हस्तान्तरित भएको एउटा अमूल्य निधि हो।
त्यसैले आज मलाई ‘जार’ शब्द नेपाली भाषाको एउटा अत्यन्त मिठो र झर्रो शब्द मात्रै नलागेर यसमा म पुर्खाको ध्वनि सुन्छु…धुकधुकी सुन्छु । त्यसैले यतिखेर ‘जार’ शब्दसित मेरो आसक्ति गहिरो बसेको छ।