हुरी-झरीको युगलबन्दीबिच जीवनको बेताल नृत्य

0
702
  • कालूसिँह रनपहेँली

झन्झटलाग्दो झरी झिम्म नगरी झरिरहेछ झरररर…। आकाशबाट छमछम नाच्दै झर्ने पानीका अप्सरा पाउहरू आज छानामा खुट्टा बजार्दै झरिरहेका थिए। आफ्नै क्रोधले बलेँसीमा पछारिँदै ती कोहोलो पनि मच्चाउँदै थिए।

झरीको यो बिहान म सिकुवाको रेलिङमा कुहिना टेकाएर बाहिरतिरका दृश्यहरू हेरिरहेको छु। पारिका भित्ताहरू कतैकतै ढुङ्गामाटाका पाउहरूले पैह्रो हिँडिसकेका देखिँदैछन्। यतिबेला म प्रख्यात कथाकार इन्द्रबहादुर राईको प्रसिद्ध कथा ‘रातभरि हुरी चल्यो’लाई पनि सम्झिरहेको छु। त्यो कथा र यो बाहिर मौसमको अनुहार मिल्दोजुल्दो छ। कथाको सम्झनासितै झरीको यथार्थले मेरो मन-मस्तिष्कलाई सक्दो भिजाइरहेको छ। अहिले कालेकी आमा दुधको ढुङ्ग्रो बोकेर मेरो सम्झनाको बाटोमा हिँडिरहेकी छन्।

यतिबेला कथासित आफैँलाई पनि मिसाएर हेर्न खोजिरहेको छु म। कथाकी पात्रा कालेकी आमाजस्तै मभित्रको मन पनि आशावादी छ। म पनि सोच्छु जीवनले आशाको अङ्कुर हृदयको भूमिबाट कहिल्यै मुर्झाउन दिनु हुँदैन। यही विचारसित कदम मिलाएर जीवन हिँड्न खोजिएकाले नै होला आफूले धेरै सङ्घर्ष झेलेर आउनुपरे पनि आज जिन्दगीका दिनहरू राम्ररी नै बिताउँदैछु लाग्छ।

खरसाङको सेन्ट मेरिज जाने उकालो बाटोको दाहिनेतिरको पुर्ख्यौली जमिनमा आफ्नै बलबुताले दुई तल्ले घर बनाएर बसेको छु। बाजे भन्थे- यो ठाउँमा हामी उहिलेदेखि नै छौँ। पुर्खाको किपट हो यो ठाउँ। देश, राज्य, जिल्ला र सरकारहरू समय समयमा परिवर्तन भए पनि हामी आदिदेखि यो ठाउँ र माटामा छौँ।

लेप्चा शब्द करसन रीपबाट आएको खरसाङ शब्दको अर्थ सेतो सुनाखरी भएजस्तै मेरा दुई नानी फूल यहीँ जन्मेर हुर्किरहेका छन्। उनीहरूको जीवनलाई उज्यालो भविष्यतिर लैजान हामी बाबु आमा चेष्टारत छौँ। पत्नी पम्फाको उर्वर मायाले मेरो जीवनको गाडी सुचारु अघि बढिरहेको छ। दुई नानी सुनिला र सुनिल राम्ररी नै पढ्दैछन्। समयसित चल्न पनि मैले राम्ररी नै सिकेको छु। माथिकाहरूलाई खुसी पारेर बाटाघाटा, झोड़ाहरूका ठेकादारी गर्न पनि पाउँदैछु। जिन्दगीलाई सुखको बगानै बनाउन नसके पनि परिवारको सानो गमलामा बाँच्नलाई मसिना खुसीहरू फुलाइरहेकै छु।

आज यो झरीमा दुधवाल्नी कालेकी आमालाई सम्झँदै हाम्रोमा दुध लिएर आउने डल्ले भाइको पनि म बाटो हेरिरहेको छु। निकै समय बित्दा पनि ग्वाला आइपुगेन। मन अधीर भयो। मनले केके अनर्थ सोच्न पनि लाग्यो। कतै त्यो डल्लेलाई हुसेल खोलाले बगाएर त लगेन? फेरि सोच्छु- आज आधारातसम्म हुरी पनि चलेकै हो। हुरी थामिएपछि पर्न थालेको यो पानीले अहिलेसम्म बिसाउने नामै लिएको छैन। हुनसक्छ कालेका बाबु र आमाजस्तै यो हुरी र झरीको चपेटमा परेर रातभरि चुहेको छानो टाल्दा हत्तुहैरान भएर बिहानीपखतिर डल्ले परिवार नै भुसुक्क निदाइपठाए कि? फेरि अर्को मनले सोच्छु- कतै बिहान दूधको केन ढाडमा बोकेर हतारिँदै आउँदा खुट्टा जिप्टेर केनसितै त्यो काने भिरबाट त लडिझरेन ? फेरि आफैँलाई सम्झाउँछु, त्यसरी अशुभ सोच्नु हुँदैन। झरीमा कतै ओत लागेर बस्दा पो त्यसलाई ढिलो भएको हो कि? अथवा हुनसक्छ त्यो दुध बोकेर अहिले घरको छेवैमा पो आइपुगिसक्यो कि? डल्ले आउने बाटातिर आँखा तन्काएर हेरिपठाउँछु। अहँ, उसलाई कतै देख्दिनँ। हिजो बिहान दुध पुऱ्याउन आउँदा त्यसले भनिराखेका कुराहरू कानमा प्रतिध्वनित हुन्छन्, “सर दुध बोकेर संसार धान्नु गाह्रो काम रैछ। साउन लागिसक्यो। दुई महिनापछि दसैँले छोपिहाल्छ। यसपालि छोराछोरीलाई पनि दसैँको लुगा किनिदिनु छ। हामी बाबु आमा त जसोजसो पुरानै लुगाले काम चलाउँला। तर छोराछोरीको रहर पूरा गरिदिनु छ। नत्र दसैँका दिन छोराछोरी रुँदा तिनीहरूको आँसुको भेलमा हामी डुबेर मर्नेछौँ। छोरीले फिरेलवाला जामा लगाउँछु भनेर अपहत्ते गरेकी छ। अब लुगासित जुत्तामोजा पनि किनिदिनैपऱ्यो। अलिक खर्च त लाग्ने नै भएको छ। बारीमा अलिकति अदुवा लगाएको छु। अब बच्चा नै भए पनि चलाउनुपऱ्यो भन्दैछु। बच्चा अदुवाको भाउ पनि बच्चै हुन्छ। मनको कति पो देलान् र त्यो मनै नभएको मननाराण भन्ने महाजनले?”

मैले भनेँ,-“किन सुर्ता गर्छौ डल्ले भाइ ! ईश्वरले समस्या दिन्छन् र उनैले  सुल्झाउँछन् पनि। तिमीले किन त्यति बिघ्न चिन्तित हुनुपरेको? म नै दुधको एक महिनाको पैसा पेस्कीको रूपमा दिउँला, भएन? दसैँ तिहारपछिको महिना त्यसको सट्टा दुध नै ल्याइदिएर पुर्ताल गरिदिए भइहाल्छ नि!”

डल्लेले भन्यो- “त्यो त ठिकै छ नि सर ! तर तपाईंलाई एउटा कुरो थाहा छैन। मेरो खास समस्या छोराछोरीभन्दा पनि बेसी मेरी स्वास्नी हुन् !”

मैले भनेँ,- “हन के भन्छ यो दुधवाला भाइ? के भयो तिम्री जहानलाई ?”

“के भन्नु र सर ! उसैमाथि बेसी खर्च छ। अलिअलि कमाएको पैसा सबै उसैले तुर्छे।”

म सोच्न लाग्छु। पैसा फुर्मास गर्ने स्वास्नीले यो गरीब ग्वाला डल्ले भाइलाई धोती न टोपी बनाइदिइसकिछे ! त्यो फुर्मासकी देवी सहरबाट कसरी गाउँमा पनि पस्न पुगिछ हँ ? त्यो फुर्मासको मसानले डल्लेको घरको शान्ति-सुख-चैन सबै नष्ट गरिदिएछ ! मैले ग्वाला डल्लेमा भ्यानगगकै जीवन रङका छटाहरू देखेँ। आफ्नी प्रेयसीलाई खुसी पार्न ती नामी रङका ग्वालाले पनि आफ्नो कानै काटेर उपहार दिएका थिए ’रे। कतै यो दुधवालाकी श्रीमतीको शैतान प्रवृत्तिले त्यसरी नै उनलाई पनि कान काट्ने अवस्थासम्म त ल्याइपुऱ्याएकी छैनन् ?

मनभित्र हजार प्रश्नका छाल लहर लहर लागेर उठ्न थाले। “सर, मलाई हतार छ जानुपऱ्यो…” यति भनिराखेर डल्ले केन बजाउँदै बाटो लाग्यो। मलाई डर पनि लाग्यो कतै यो डल्लेले समस्या समाधानको बाटो नदेखेपछि बाटामा पर्ने ठुलो भिरमा फाल हानेर जिन्दगीलाई विराम चिह्न कोर्ने बाटो त रोजेन?

आज डल्ले साँच्चै आएन। दस बजेसम्म पनि त्यो आएन। त्यसलाई सम्पर्क गर्ने कुनै उपाय पनि थिएन। त्यसले मोबाइल बोकेको पनि कहिल्यै देखिनँ। त्यसको औकातको घोड़ामा चढ़ेर मोबाइल त्योसम्म आइपुगेकै छैन होला र त त्यसको हात खाली छ सधैँ ! त्यसका खाली हातहरूमा खालि दु:खका रेखाहरू मात्र होलान् ।

मधेशकाले भन्ने गरेजस्तो दिउँसो उल्टी बेलादेखि पानी थामियो र घाम बादलको सिरकबाट मुख बाहिर निकालेर अलिकति मुसुक्क हाँस्यो। रुँदा रुँदा थाकेको बालकको हातमा ललिपप हालिदिँदा रमाएजस्तै सूर्यको स्नेह पाएर दिनको अनुहार उज्यालो भयो। प्रकृतिको लीला कसले जान्नसक्ने र ? एकै छिनमा के हुन्छ अनि अर्को छिनमा के ! दिन उज्यालियो। मेरो मनमा भने डल्लेले हिजो भनेका कुराहरू भुँवरीको पानीजस्तो भएर घुमिरह्यो। बाहिरबाट खिड्कीमा पानी पर्दा भित्रपट्टिबाट जमेको बाफले बाहिरका दृश्यहरू सफा देख्न नसकिएझैँ एउटा धमिलो अन्योलको स्थिति मेरो मानसमा डल्लेले हालिदिएको थियो।

भोलिपल्ट त दिन राम्रै उघ्रियो। आज भने दुधवाला आउनेछ र त्यसले ल्याएको बाक्लो दुधमा अस्ति मकैबारी जाँदा लिएर आएको दामी रङको चिया बनाएर खाने सुर मेरो मनमा बर्खाको खोलाजस्तो उर्लियो। मकैबारीबाट लिएर आएको त्यो रङको वासना मगमग र स्वाद खुबै मिठो छ। त्यो रङ लिएर आउने पनि एउटा साइत जुरेको थियो। त्यतिबेला मकैबारी चिया कमानमा अचम्भको चिया किरा निस्केर सबैलाई चकित पारिरहेको खबर फैलियो। त्यो किरो हेर्न मानिसहरू ग्वारग्वार जानथाले। मकैबारी कति कति टाढा हो र सेन्टमेरिजबाट ? म पनि खबरको जिज्ञासा आफ्नै आँखाले हेरेर शान्त गर्न त्यहाँ पुगेँ। ठिकबिघाको मामिलामा त्यहाँका म्यानेजरसित चिनाजानी पनि थियो नै। म्यानेजर साहेबले नै हामीलाई त्यो अचम्भको किरोको दर्शन गराए। साँच्चै त्यो चियाको पातले नै शरीर र पखेटा अनि पातको भेट्नुजस्ता त्यसका खुट्टा र सिङहरू थिए। त्यो किरो हेर्दा झ्याउँकिरीजस्तो तर त्यो झ्याउँकिरी थिएन। म्यानेजर  साहेबलाई आफ्नो चियाबागानको अर्ग्यानिक खेतीका कारण यसरी ईश्वरीय चमत्कारले यस्तो जीव सृष्टि भएको भन्ने कुरा सुनेर हामी फर्कियौँ। फर्कँदा साहेबको कोठीछेउकै सानो सेल्स काउन्टरबाट राम्रो चियारङ किनेर फर्केको थिएँ। यो घटनासितै अनेकवलीका कुराहरू सुनिए। कसैले सत्ययुग फर्केर आएको हो भने। कसैले छेवैको अम्बटेका मन्दिरहरूको शक्तिको करामत भने। कतिले घोर कलियुगले यस्तो उदेकलाग्दो घटना  भएको हो भने। कसैले के भने कसैले के। रामे काका जो चियाबारी युनियका नेता पनि हुन्, उनले भनेका कुराले भने मेरो मन छोयो। यो चियाबारीमा चियाकै रूप धारण गरेर कुनै पखेटा भएको प्राणी निस्केको कुरोलाई त हामीले साङ्केतिक अर्थमा बुझ्नुपर्छ भनी उनले बताए। उनी भनिरहेका थिए, -“कुरा के भने, दुई सय वर्षसम्म अङ्ग्रेजहरूले हामीलाई शासन गरे। हाम्रो खुन पसिना चुसे। उनीहरूले हामीलाई दाससरह दल्नुसम्म दले। हाम्रा आँसु र पसिनाले चियागाछहरू सिञ्चन गरेर नाफा आफूले हत्याए। श्रमिकलाई कमाराजस्तो व्यवहार गरे। चिया व्यवसायबाट पैसा कमाएर ऐशआराम गरे। मजदुरहरूमाथि घोर अत्याचार गरे। धेरैलाई साना साना निहुँमा हट्टाबाहर गरे। यहीँका भूमिपुत्रहरू आफ्नै ठाउँबाट निर्वासित बने। हाम्रा चेलीबेटीहरूलाई छोकरी बनाएर राखे अनि पछि बिल्लिबाठ पारे। अङ्ग्रेजहरू गइसकेपछि फेरि देशी कम्पनीहरूले चियाबारी श्रमिकहरूलाई चुस्न त्यसरी नै बाटो बनाए। यत्रो समयमा पनि चियाबगाका मजदुर र श्रमिकहरूले सुविधाको जीवन उपभोग गर्न पाएनन्। बरू अझ खुम्चिएर र थिचिएर बस्नुपऱ्यो। यी चियाका गाछहरू जो श्रमिकका पसिना र आँसुले सिँचिएर संवेदनशील बनिसकेका छन्। उनीहरू हरेक मजदूरको समस्या र शोषणसित पनि अनभिज्ञ छैनन्। मलाई त लाग्छ यी चिया गाछहरू मजदुरहरूको दु:ख र दुर्दशाहरू हेरिरहन नसकी कतै टाढा उडिजान चाहेर यसरी चिया गाछहरूले चियापत्तीकै रूप रङ्ग लिएर यस्तो किराको स्वरूप धारण गरेका होलान्। अनि यसरी प्रकट भएका होलान्।“’

 राम काकाका कुराहरू लजिकल नहोलान् तर मनलाई छुने अवश्यै छन्। भटाभट चियाकमानहरू बन्द हुँदै जानु र श्रमिकहरू अझ कठिन समस्याहरूमा जाकिँदै जानुजस्ता समाचारहरूले चियाबारीहरूको दुर्दशा प्रमाणित गर्छ।

फेरि मेरो सोचाइ फेरि दुधवालातिर फर्कियो। अहँ, दिनभरि पर्खँदा पनि आज दुधवाला आएन ।

बेलुकी मैले श्रीमतीसित डल्लेको कुरा गरेँ, -“हेर न पम्फा, त्यो दुधवाला भाइ तीन दिन भयो दुध दिन आएको छैन। कुनै दुर्घटनामा त परेन? त्यसले तरेर आउने गाउँ छेउको खहरे खोला बर्खामा निकै ठुलो हुन्छ। त्यसैले सोहोरेर त लगेन त्यसलाई? त्यो खोलामाथि परार मैले नै कन्ट्रयाक्ट पाएर पुल बनाइदिएको थिएँ। त्यो पनि लगत्तै अर्को सालको भेलले बगाएर कता पुऱ्यायो कता ! त्यो पुल भताभुङ्ग भएपछि गाउँलेहरूले मिलेर बाँसको फड्के हालेका छन् भन्थ्यो। कतै फड्केसितै डल्ले पनि खोलाको आवेगमा त परेन?”

मेरो कुरा सुनेर अलिक धार्मिक प्रवृत्ति अनि करुण मनकी मेरी श्रीमती एक्कासी मसित रिसाइन्,-“हन के कुरा गर्नुहुन्छ? तपाईं कन्ट्रयाक्टरहरू दुई पैसाको लोभले ती गरिब र निर्धा गाउँलेहरूको जिन्दगीसित खेलवाड गर्नुहुन्छ। तपाईं दुधवालालाई माया गरेजस्तो गर्नुहुन्छ तर तपाईंको मनमा त्यो गरिबमाथि कति माया छ म जान्दिनँ र? त्यसलाई दसैँमा सहायता गरेको भान पारेर एक महिनाको पेस्की दिएजस्तो गर्ने अनि उसैलाई अर्को महिना पनि आफ्नो चाकरी गर्न बाध्य गराउनुहुने ! त्यो दु:खीलाई तपाईंले साँच्चै माया गरेर दिनुभएको सहयोग कहाँ हो र? त्यो त हात्तीको दाँत भन्नुहुन्छ कि गोहीको आँसु। तपाईंको सहायता पनि त्यस्तै हो। किन त्यो गरिबको त्यसरी खिल्ली उड़ाउनुहुन्छ ?”

श्रीमतीले ग्वाला र मेरो कुरा सुनेकी थिई। उसलाई मैले ढाँट्नु सकिनँ। श्रीमतीका कुरा मनको तोलङमा हालेर विचारको मदानी तानेँ। हो मैले खुट्टा हालेर गिजोलेको त्यो सहायताको पानी साँच्चै मैला थियो। त्यसलाई उठाएर पिउने जो कोही बिमार हुने निश्चित थियो।

मैले श्रीमतीसित आफूलाई बचाउँदै र हाम्रै रहनसहनलाई तारो बनाउँदै भनेँ,-“हेर पम्फा तिम्रो यो लगाइ, बसाइ, उठाइ , हिँड़ाइ, हाम्रो ठाँटबाँट, सबै पूरा गर्न मैले मेरो कामको दुधमा अलिकति पानी मिसाएँ त के भयो? आज हाम्रो छोरा गोथल्स पढ़्छ। टाईसुटमा जक्खिएर स्कुल जान्छ। छोरी सेन्ट हेलेन पढ्छे। त्यो ग्वालालाई दिएको महिनाको दुधको पैसा त हाम्री छोरीलाई प्याकेट खर्च पनि पुग्दैन। त्यति गर्नलाई मैले पुल बनाउँदा रड कमसल हालेँ त के भयो? तीन बोरा बालुवामा एक बोरा सिमेन्ट मिसाउनुपर्थ्यो भने मैले पाँच बोरा बालुवामा एक बोरा सिमेन्ट मिसाएँ त के भयो ? पैसा त्यसै आउँदैन पम्फा, त्यसै आउँदैन। तिमी पनि त हप्तामा दुईपल्ट सपिङका लागि मल जानुपर्छ। महिनामा दुईपल्ट ब्युटीपार्लर धाउनुपर्छ। तिम्रो सोसियल मिटहरूमा ठाँटबाँटसित हिँड्नुपर्छ। तिम्रो भ्यानिटी ब्यागमा भोकै सुतिरहेको सांसारिक इच्छाको अजिङ्गरे पेट त्यै पैसाको बिटो खुवाएर अघाउन दिनुपर्छ, ती सब गर्नुलाई मैले चौबिस क्यारेटकै कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने के छ? मलाई पनि त साथीरूसित पिकनिक जानुपर्छ। कहिलेकाहीँ साथीहरूसित क्लबमा गएर फ्लास खेल्छु त्यति त हो ! ती सबै पुऱ्याउनुलाई मैले पानी नफिटेको दुधको सेवा पुऱ्याएर कसरी सम्भव छ?”

मेरा कुरा श्रीमतीलाई अवश्यै राम्रो लागेन। उसले भनी,- “त्यति धाक नदिँदा पनि हुन्छ। मेरो माइतीले पनि तपाईंलाई समय समयमा सहायता नगरेको हो र? परार तपाईं बिमार हुँदा अस्पतालको खर्च नपुगेर मैले माइतबाट पनि पैसा लिएर आएँ। मलाई खर्च पुऱ्याउनु पो साह्रो परेको रै’छ तपाईंलाई!”

मैले भनेँ,-“हेर पम्फा त्यसरी नबोल। लोग्ने उँभो लाग्नु र नलाग्नुमा स्वास्नीको पनि ठूलो हात हुन्छ। तिमीले यसरी मेरो मर्यादालाई तल झारेर कुरा गरिरह्यौ भने मेरो इज्जत कसरी जोगाउनु मैले? च्यारिटी बिगिन्स एट् होम भन्ने कुरा तिमीले बुझ्नुपर्छ। स्वास्नीले गर्दा लोग्ने बदनाम भएका त्यस्ता अनेक घटनाहरू छन् समाजमा। त्यै ग्वालाले पनि भन्दैथियो त्यसको खास समस्याचैँ त्यसकी स्वास्नी नै हो भनेर ! लोग्ने दुध बोकेर सहर हिँडेपछि स्वास्नीचाहिँ मेकअप गरेर गाउँतिर डुल्न जाँदी हो ! अरूसित अनेक कुरा गर्दी हो! त्यसो भएपछि कुन लोग्ने उँभो लाग्छ है ! त्यसकी स्वास्नीको मति ठिक भएको भए त्यसले दुध बोकेर यसरी दस घरमा नमस्ते गर्दै हिँड्नुपर्ने थिएन होला। डल्लेले नै भनेको कुरा हो यो!”

पम्फा फेरि रिसाई,-“किन अर्काकी स्वास्नीलाई नराम्रो भन्ने तपाईं? म त तपाईंकी स्वास्नी भएकाले भन्नुभयो अरे, तर त्यो दुधवालाकी श्रीमतीलाई त्यसरी भन्नु लाज लाग्दैन तपाईंलाई? डल्लेकी स्वास्नीले सुनी भने तपाईंलाई सिलौटोमा राखेर डल्ले खोर्सानीजस्तो पिसेर अचार बनाइदिन्छे नि फेरि!”

मैले भनेँ, -“मैले भनेको कहाँ हो? त्यै डल्लेले भनेको कुरा हो नि यो!”

“हजुर कुन कुरा….?” आफ्नो नाम उच्चारण भएको सुनेर डल्ले ङिच्च हाँस्दै छेवैमा उभिएर प्रश्न गरिरहेको थियो। म र पम्फा अरकच्च पऱ्यौँ। पम्फाले सोधी, -“हन ग्वाला भाइ किन पाँच दिन आउनु भएन ? यहाँ सर छटपटाएको छटपटाकै हुनुहुन्छ।”

डल्लेले आँखाभरि आँसु पारेर भन्यो, “स्वास्नीले गर्दा नि गुरुमा!”

मैले मनमनै पम्फालाई भनेँ, -“सुन्यौ! उसकी स्वास्नीले गर्दा उ पाँच दिन नागा भएछ! दुध दिन पनि आउनु सकेनछ!”

मैले सोधेँ,- “हन के गरी तिम्री स्वास्नीले?”

डल्लेले भन्यो, “सर, उ त गई…।”

मैले सोधेँ,-“पक्का गएकी नै हो के ? गाउँघर आफन्तहरूकहाँ राम्ररी सोधीखोजी गऱ्यौ के त ?”

ग्वालाले टोपी मुखमा कोचेर हिक्क हिक्क हुँदै भन्यो,-“गाउँघर आफन्तहरूले मिलेर नै उनको अन्तिम संस्कार र काम पनि गरिदिए सर।”

मेरो मुख आँको आँ नै रह्यो।  मैले उसैका दुई शब्दलाई टिपेर प्रश्नसूचक चिह्नमात्र जोड़ेर दोहोऱ्याएँ,-“अन्तिम संस्कार र काम?”

डल्ले अहिले फुटेर रोयो अनि भन्यो,-“सर, मैले भनेकै थिएँ नि मेरो लागि समस्या स्वास्नी नै हुन् भनेर ! समस्या पनि किन नहोस् ! घाँस काट्न जाँदा परार भिरबाट लडेपछि फेरि उठ्नु नै सकिन। जम्मै थलोमा पुऱ्याइदिनु पर्ने ! मैले गरेको काम र दुधको पैसा उसकै दबाई पानी र हेर्चाहमा लाग्ने। अस्ति रातभरि आएको हुरी र ठुलो झरीकै रात उसले हामीलाई छोड़ेर गई। म अभागी रहेछु सर, अभागी ! सास मात्रै भए पनि घरमा उ थिई र मलाई घरमा लक्ष्मी भएको लाग्थ्यो। हाम्रो राई दस्तुर अनुसार बिजुवा बोलाएर तीन दिनमा चोखायौँ। हिजो एकदिन घरकै कामकुरो मिलाएर आजदेखि दुध पुऱ्याउनु आइपुगेको सर ! मेरी स्वास्नीको लागि प्रार्थना गरिदिनुहोस् सर र गुरुमा!”

हाम्रा शब्दहरू हराए, बिन्द्रावनमा दन्ते कथाको राजकुमारले बाटो हराएजस्तो। हामीले थाहा पायौँ, यो पाँच दिनमा डल्लेको संसार नै भताभुङ्ग भएछ। समस्याको त्यो हुरी र झरीमा डल्ले यति बिघ्न अव्यवस्थित बनेछ, त्यसको मन अड़ाउने कुनै ठाउँ नै रहेन रहेछ, जिन्दगीलाई फुको छाम्नसक्ने कुनै ओभानो ठाउँ नै बसेनछ। पम्फा र मैले उसलाई सम्झाउने शब्दहरू पाइरहेका थिएनौँ।    

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here